“समयको मागलाई ख्याल गरी योजनावद्ध रुपमा पठनपाठन गराउँनुपर्छ” : प्रअ भण्डारी
एक नारायण भण्डारी

हिजोको गुरुकुलीय अवस्थाबाट हाम्रो शैक्षिक क्षेत्र यहाँसम्म आइपुगेको छ । पठनपाठन प्रणालीलाई हेर्नेहो भने हिजो र आजको अवस्थामा खासै भिन्ता आउन सकेको छैन । प्रविधिले ठुलो फड्को मारिसक्यो तर राज्यले त्यो खालको योजनावद्ध रुपमा शिक्षा क्षेत्रलाई अगाडि बढाउन नसकेको महशुस भएको पञ्जमुनिदेव माधयमिक विद्यालयका प्रधानाध्यापक एक नारायण भण्डारी बताउँछन् ।

‘अहिले शिक्षित जनशक्ति खपत भइरहेको छैन भन्ने पनि म मान्दिन, किनभने काम गर्ने क्षेत्र नै छैन । हामीले जनशक्ति उत्पादन गरेका छौं तर, तिनिहरुलाई दक्षता र क्षमतानुसारको रोजगारी दिन सकिएको छैन’, उनले भने, ‘गत वर्ष १२ कक्षा पढेका केही विद्यार्थी अहिले अष्ट्रेलिया पुगे । त्यो देख्दा एउटा शिक्षक कति दुःखि भयो होला ? त्यो शिक्षकले मात्र महशुस गर्ने कुरा हो । हामी अभिभावकहरु, शिक्षकहरु हाम्रा कलिला बाबुनानीहरुलाई विदेश पढाउन एरपोर्टबाट बढा खुसी मानेर सामाजिक सञ्जालमा फोटो हाल्छौं तर वास्तावमा यो बडा दुःखको कुरा हो ।’
प्रधानाध्यापक भण्डारी भन्छन्, ‘अहिलेका बच्चाहरु प्रविधिमा यति चलाख भईसकेका छन् कि शिक्षक भन्दा विद्यार्थी प्रविधिमा चलाख भइसकेका छन् । पहिलेजस्तो गरेर अब विद्यार्थी मान्नेवला पनि छैनन् । त्यही कारण हाम्रा विद्यार्थी टिकिरहेका छैनन् भन्ने मेरो बुझाई हो । प्रविधिले हरेक कुरा दिएको छ । त्यो प्रविधिमा प्रवेश गरिसकेका विद्यार्थीको कक्षामा शिक्षक प्रवेश गर्दा नयाँ विषय पायो भने शिक्षकप्रति आकृष्ट हुन्छ, हेर्छ र सुन्छ । यदि शिक्षकले नयाँ विषय दिन सकेन भने विद्यार्थीले शिक्षक तर्फ ध्यान दिंदैन। यसैले अहिले शिक्षण प्रणाली जटिल मोडमा गएको छ ।’
‘विद्यालय, स्थानीय तह र राज्यले अहिले शिक्षा क्षेत्रमा गरिरहेको कृयाकलापहरु मिलिरहेका छैनन् । एकतिर ७० प्रतिशत पास गर्नुपर्छ भनेर केन्द्र सरकार बोलिरहेको छ यता नतिजा ४८ प्रतिशत पास भईरहेको छ । पास गराउने कसरी ?, ती विद्यार्थीको स्तर उकास्ने कसरी त ? योजना के छ ?’, उनले भने, ‘रेडियो सुन्ने र टिभी हेर्ने । त्यो रेडियो र टिभीमा कति बच्चाको पहुँच छ ? त्यो प्रविधिमा पुगिसकेको बच्चा कतिले हेर्दा सुन्छ भनेर हेरिदिने, लेखाजोखा गर्ने संयन्त्र नै हामीसंग छैन कि ? भनेर प्रश्न गर्न मलाई मन लाग्छ । किताव पढ्न खोजिरहेका छैनन् विद्यार्थी त्यो टिभीमा सरले पढाएको हेरर बस्छन् भन्ने मलाई लाग्दैन ।’
समय र परिवेश फेरिएको छ । प्रविधिले हामी सबैलाई आफ्नो नियन्त्रणमा राखिएको अवस्थामा अब शिक्षक तथा अभिभावकहरुले विद्यार्थीलाई पढाउने मात्र होइन उनीहरुबाट सिक्न पनि सक्नुपर्छ । अहिलेको नयाँपुस्ता प्रविधिमा धेरै दख्खल राख्ने भइसकेको उनको भनाई छ ।
शुक्लागण्डकी नगरपालिकाले बालबिकासदेखि कक्षा ८ सम्म पुर्ण निःशुल्क भनेर घोषण गरेको छ र शिक्षक र केही कर्मचारी पनि व्यवस्था गरेको छ । हिजो अभिभावकसंग सहयोग मागेर कक्षा सञ्चालन गर्नुपर्ने अवस्था थियो अहिले हामीले कुनैपनि अभिभावकसंग सहयोग नमागेको प्रधानाध्यापक भण्डारी बताउँछन् । पालिका भरिमा पञ्चमुनिदेवमा मात्रै प्रविधिक विषय अन्तर्गत पशु विज्ञानको कक्षा सञ्चालन भएको उनले बताए ।
उनका अनुसार विद्यालयमा ९–१२ विज्ञान, होटल म्यानेजमेन्ट, शिक्षा, व्यवस्थापन, ९–१२ पशु विज्ञान, कम्प्युटर शिक्षा सञ्चालन गरिएको छ । प्रधानाध्यापक भण्डारीले भने, ‘विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरुले विभिन्न क्षेत्रमा छात्राबृत्तिमा नाम निकाल्नुभएको छ । धेरै विद्यार्थीहरु अध्ययनका लागि विदेशिनुभएको छ भने, भेटेरिनरीका विद्यार्थीहरु यही क्षेत्रमा सेवा गर्दै आउनुभएको पनि छ । यति मात्रै भएर त पुग्दैन । सबैभन्दा ठुलो कुरा नीति नै हुनुपर्छ । शुक्लागण्डकी नगरपालिकामा अबको १० वर्षमा पशु विज्ञ कति आवश्यक पर्छ भनेर विज्ञ उत्पादन/पढाई गराउने योजना नै छैन । नगर क्षेत्रका विद्यार्थीले सम्भव भएसम्म यहीकै विद्यालयमा पढ्नुपर्छ भन्ने नीति नगरपालिकाले बनाउनुपर्ने अवस्था आइसकेको छ ।’
विद्यालयले पठनपाठनलाई प्रविधिमैत्री बनाउँदै लगेको छ। पशु विज्ञ शिक्षा प्रोजेक्टरबाटै पठनपाठन हुन्छ । विज्ञान विषयका लागि छुट्टै स्मार्ट वोर्ड बनाउने तयारी भएको छ । हामीसंग उपलब्ध स्रोत साधान र शिक्षक साथीहरुको सामर्थले भ्याएसम्म विद्यालय शिक्षालाई प्रविधिमैत्री, सीपयुक्त र व्यवहारिक बनाउन प्रयास गरेको उनले बताए । विद्यालयले कक्षा १ देखि १२ सम्मका प्रत्येक विद्यार्थीको पहुँचमा प्रविधिमैत्री शिक्षा पुर्याउने योजनाका साथ लागिपरेको छ भने विद्यालयले कम्प्युटर सम्बन्धी छुट्टै पठ्यक्रम बनाएको छ ।
(‘भञ्ज्याङ’ प्रकाशनको ४४औं वर्ष प्रवेशका अवसरमा २०८२ वैशाख ०१ गते प्रकाशित विशेषाङ्कमा प्रकाशित सामाग्रि)