असार १५ गते ‘धेरै भारी’सम्म वर्षा र हावाहुरीको पूर्वानुमान, सावधानी अपनाउन आग्रह

काठमाडौं । देशमा अब वर्षाको गतिविधि बढ्ने पूर्वानुमान छ । केही स्थानमा ‘धेरै भारी’सम्म पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार आज (शनिबार)भन्दा भोलि पानी पर्ने गतिविधिहरू बढ्न सक्ने र भोलिभन्दा पर्सि (सोमबार) झनै बढ्न सक्ने सम्भावना छ,” विभागले भनेको छ ।
राष्ट्रिय धान दिवस एवं दहीचिउरा खाने दिन अर्थात् असार १५ गते राति कोसी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा ‘भारी’देखि धेरै भारी वर्षाको सम्भावना छ । मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
अब बढ्दै छ वर्षा, कहिले हुन्छ मनसुन सक्रिय ?
“सोमबार (असार १५) राति कोसी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ,” विभागले भनेको छ, “मधेस प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।”
कोसी, वाग्मती गण्डकी र लुम्बिनीका तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
“तसर्थ, विभागको पछिल्लो सूचनामा अद्यावधिक रही सावधानी अपनाउनुहुन र आफ्नो कामहरू गर्नुहुन अनुरोध छ,” विभागले भनेको छ ।
हाल कोसी, मधेस र वाग्मतीका सम्पूर्ण, गण्डकीका केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानसम्म मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । “अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ,” विभागले भनेको छ, “साथै, गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा तीन–चार दिनमा मनसुन विस्तार हुने सम्भावना रहेको छ ।”
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने विभागले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने विभागले जनाएको छ ।










