तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पतालको भवन

दमौली : तनहुँको सदरमुकाम दमौलीमा निर्माण थालिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नमूना पशु अस्पताल भवनतीन पटक म्याद थप हुँदासमेत सम्पन्न हुन सकेको छैन ।

गण्डकी प्रदेश अन्तर्गत कास्की र तनहुँमा नमूना पशु अस्पताल भवन निर्माण एकसाथ सुरु गरिएको र कास्कीमा भवन निर्माण सम्पन्न भइसकेपनि तनहुँमा भने निर्माण सकिएको छैन ।

विसं २०७८ कात्तिक २० गते निर्माण सुरु गरी १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने म्याद रहेपनि हालसम्म तीन पटक म्याद थप भइसकेको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । हालसम्म भवनको काम ७० प्रतिशत सकिएको छ । पछिल्लो पटक थप भएको म्यादअनुसार आगामी पुससम्म काम सम्पन्न गर्ने अवधि छ ।

उहाँले भन्नुभयो, “कास्की र तनहुँमा एकैसाथ भवन निर्माण सुरु भएको थियो, कास्कीमा सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । तर तनहुँमा निर्माण व्यवसायीको ढिलासुस्तीले समयमै काम हुन सकेन ।”

गुणस्तरीय पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यसहित नमूना अस्पताल निर्माण सुरु गरिएको थियो । समयमै भवन नबन्दा एक्सरे सेवा सञ्चालन गर्न नसकिएको अधिकारीको भनाइ छ ।

भवन निर्माणका लागि रु चार करोड लागतमा चितवनस्थित इकोविल्डर्स प्रालिसँग सम्झौता गरिएको थियो । ६०५ वर्गमिटर क्षेत्रफलमा साढे दुई तल्लाको भवन निर्माण हुनेछ । त्यसमा दुई प्रयोगशाला र २३ कोठा रहनेछन् । “पशुपंक्षीको उपचार उच्च प्रविधिबाट गर्न प्रयोगशाला पनि सञ्चालन गरिनेछ,” अधिकारीले भन्नुभयो, “अस्पताल भवन निर्माण सम्पन्नसँगै तनहुँका अतिरिक्त छिमेकी पालिकाका कृषकले पनि सेवा पाउनेछन् ।”

अस्पताल भवनमा आकस्मिक, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोष्टमार्टम, फार्मेसी, प्रयोगशाला, रेडियोलोजिकल प्रयोगशालालगायतको सुविधा हुनेछ । जसका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker