गोदावरी मार्बल डाँडा : छोटो दुरी, फराकिलो यात्रा अनुभव

बिष्णु पौडेल निरिस

जावलाखेलको बिहान हल्का चिसो थियो, तर हाम्रो मन भने उत्साहको ऊर्जाले तातिरहेको। ठीक ०९:५० बजे घडीले संकेत दिँदा, पुर्व–नियोजित हाईकिङको सुरुवात भव्य रूपमा भयो। समयमै आएका सबै साथीहरू एउटै तालमा धड्किरहेका अनुभूत हुन्थ्यो- छोटो यात्रामा ठूलो स्मृति बटुल्ने साझा चाहना बोकेर।

बसमा चढ्नेबित्तिकै यात्राको घुम्ती खुलेर आयो। समूह सानो थिएन, उत्साह मात्रै ठूलो थिएन- उत्साह त असीम थियो। बसका सीटहरूले हाम्रो हाँसो, गीत र गजल समाउन नसकेर बारम्बार प्रतिध्वनि फर्काइरहेका थिए। कोही चुट्किला बुन्दै, कोही स्वर मिलाउँदै, कोही यात्राको कथा बनाउँदै- बस केवल बाटो काटिरहेको थिएन, हाम्रो मित्रता नयाँ उचाइतिर उक्लिरहेका थियो।

पत्तै नपाई गोदावरी बस स्टेसन आइपुग्यौं। बसबाट ओर्लिनासाथ दायाँ–बायाँका दृश्यले आँखा जिते र सुरु भयो वास्तविक हाईकिङ। नागबेली बाटो, चिसो हावा, हल्का घाम- यी सबैले प्रकृतिको एक मधुर संगीत सुनाइरहेका थिए। मार्बल डाँडातर्फ उक्लँदै जाँदा लाग्थ्यो–प्रकृतिले हामीलाई आफ्नो काखमा भित्र्याइरहेकी छ। कठोर चट्टानका मुहानबाट झुल्किएको उज्यालो रंगले मनभित्र एउटा सुन्दर सन्देश खसाल्यो- “कठोरता भित्र पनि उज्यालो सम्झना बनाउने ठाउँ हुन्छ ।”

डाँडाको नजिक पुग्दा थकानले होइन, उत्साहले नै केही बेर रोकायौं। कोही क्यामेरामा दृश्य क्याप्चर गर्दै थिए, कोही दृश्यमा आफैं हराइरहेका, कोही साथीको हाँसोमा घुलमिल। उकालीमा बगेका पसिनाले शरीर मात्र होइन, मनका चिन्ताहरू समेत पगालिदिएको थियो।

मार्बल डाँडाको टुप्पोमा पुगेर देखिएको हिमाल, पहाड र जंगलको संयोजन असाध्यै शान्तिमय थियो। त्यो शान्तिमा साथीहरूको नाच, रमाइलो, गफ–गफ मिसिँदा वातावरण सप्तरंगी भइसकेको थियो। कोही मिठाई बाँड्दै, कोही रमाइला प्रसङ्ग जोड्दै- हाम्रो सम्बन्ध त्यही डाँडामा झन् मीठो हुँदै थियो।

समय भनेको रोकिँदैन। त्यही भएर मिठासमय बसेको डाँडालाई बिस्तारै “फेरि अर्को दिन भेटौँला” भन्दै छोडेर गोदावरी बजारतर्फ उभियौं। बाटोभरि जङ्गलका जडीबुटी, बनस्पति, स्थानीय ठाउँका रोचक विवरण एक–आपसमा बाँड्दै हिंडियो। फुलचोकी भवानी मन्दिरमा पुगेपछि यात्रामा आध्यात्मिक शान्तिको थप स्पर्श जोडियो।

दिउँसो गोदावरीमा खाएको खाना केवल स्वादका लागि मात्र थिएन- यो हाम्रो सामूहिकता, सौहार्द र साथको परिकार थियो। पेट र मन दुबै भरिएपछि फर्कने यात्रामा हाँसो कहिल्यै थामिएन। कोही नयाँ गीत चुँड्याइदिने, कोही पुराना सम्झना खोलेर सुनाइदिने- गाडीका पाङ्ग्रा जति घुम्थे, हाम्रो खुशी पनि त्यत्तिकै बढ्थ्यो।

१५:५० बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको गेट देखिँदा लाग्यो- यो केवल यात्राको समापन थिएन, यो त अर्को नयाँ ऊर्जा शुरू हुने ढोकाझैं थियो। हामी एक–अर्कालाई मुस्कुराएर हेर्यौं- किनकि त्यो दिन हाम्रो जीवनको अमूल्य पाना बनेर बसेको थियो।

साथीहरूको जिस्क्याइ, प्रकृतिको सुमधुर संगीत, उकाली–ओरालीका संवेदनशील तरङ्ग, अनि स्मृतिको गन्ध- यी सबै मिलेर मार्बल डाँडाको छोटो यात्रा केवल हिँडाइ बनेन। यसले त अनुभूतिको पुस्तकालय, मित्रताको स्मारक, मनको मन्दिर र भावनाको बगैँचा निर्माण गरिदियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker