सम्पादकीय : गाउँको पुनर्जीवन र हाम्रो साझा जिम्मेवारी

असार र साउन महिना नेपाली समाजको मौसमी र सांस्कृतिक जीवनशैलीसँग गहिरो सम्बन्ध राख्छ । वर्षातसँगै खेतबारी, पाखापखेरामा हुने कृषिकर्म, आँगनमा सुली बनेर सुकाइएका मकै, गोठमा गाईभैसी, धानका भकारी– यी सबै हाम्रो गाउँजीवनका प्राणवान दृश्य हुन् । तर दुःखको विषय के छ भने, यस्ता दृश्यहरू अब केवल स्मृतिमा सीमित हुँदै गएका छन् । खेतीयोग्य जमिन बाँझिंदै गएको छ, उत्पादनशील जमिन झाडी र वनजंगलमा परिणत भइरहेको छ । यसको मुख्य कारण गाउँबाट युवाशक्ति पलायन हुनु हो। विदेश रोजगारी र शहरमुखीकरणले गाउँको सामाजिक संरचना मात्र होइन, संस्कृतिलाई समेत बिथोल्दै लगेको छ। शिक्षादेखि स्वास्थ्यसम्मका आधारभूत सेवाहरूको अभावले गाउँले शहर पस्न वा विदेशिन बाध्य भएका छन् । यो बाध्यता गाउँलाई वृद्धवृद्धा मात्र बसोवास गर्ने सुनसान र उजाड बस्ती बनाइरहेको छ ।
हिजोका गाउँघर चाडपर्वमा रमाइला, सामूहिकतामा जीवन्त हुन्थे। आज त्यो रौनक हराउँदै गएको छ। आयातित संस्कृति र देखावटी प्रचलनले हाम्रो मौलिक संस्कृति ओझेलमा परेको छ। चाडपर्व विलासी उपभोगमा सीमित हुँदा हाम्रो पहिचान नै संकटमा परेको छ। संस्कृतिको जगेर्ना असफल हुनुको एउटा ठुलो कारण आर्थिक असुरक्षा हो। गरिबी र रोजगारीको अभावमा संस्कृति संरक्षण पनि दुरावस्थामा पुगेको छ । राजनीतिक परिवर्तनका माध्यमबाट देशले अधिकार र स्वतन्त्रता त प्राप्त ग¥यो, तर ती अधिकारलाई स्थायी बनाउन आवश्यक आर्थिक क्रान्ति अझै सम्पन्न हुन सकेको छैन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको डेढ दशकपछि पनि मुलुक उत्पादनमुखी अर्थतन्त्रतर्फ डगमगाउन नसक्नु ठूलो विडम्बना हो । अझ पीडादायी कुरा– देशको मेरुदण्ड मानिने युवा शक्ति दैनिक हजारौंको संख्यामा वैधानिक बाटोमार्फतै विदेशिनु हो । यसरी निरन्तर युवाशक्ति गुमाइरहनु मुलुकका लागि घातक संकेत हो। राजनीतिक नेतृत्वले यस अवस्थालाई गम्भीरतापूर्वक नलिनु मुलुकको सबभन्दा ठूलो दुर्भाग्य हो ।
समाजको यथार्थ स्पष्ट छ– शिक्षा, स्वास्थ्य, रोजगारी, आवास जस्ता आधारभूत सुविधा गाउँमै सहज उपलब्ध नभएसम्म गाउँ बस्न सजिलो हुँदैन। शहर पस्न सजिलो र गाउँ बस्न असजिलो हुने अवस्था कायम रहँदा “गाउँ फर्काउने सपना” केवल भाषणमा सीमित हुन्छ । यथार्थमा कुनै युवा वा परिवार आफ्नो जीवनका आधारभूत आवश्यकता अपूरा राखेर गाउँ फर्कन सक्दैन । यस्तो अवस्थामा अबको आवश्यकता भनेको तीनै तहका सरकारबीच सशक्त समन्वय र जवाफदेहीपन हो। विशेष गरी स्थानीय सरकारलाई ‘घरदैलोको सरकार’ भनिएको छ। त्यसैले स्थानीय सरकार बढी जिम्मेवार बन्नु अनिवार्य छ। गाउँका आवश्यकता बुझ्ने, नीति–कार्यक्रम र बजेट बनाउने, अनि त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने जिम्मेवारी पनि स्थानीय सरकारकै हो ।
गाउँलाई पुनर्जीवन दिन सक्ने मुख्य क्षेत्रहरू पहिचान गर्न कठिन छैन । कृषि, पशुपालन, घरेलु उद्योग, पर्यटन, सीपमूलक रोजगारी, डिजिटल पहुँच, स्वास्थ्य र शिक्षा। यी क्षेत्रमा समान र न्यायपूर्ण विकासमार्फत मात्र गाउँ आकर्षक बन्न सक्छ। युवालाई गाउँमै आत्मनिर्भर बनाउने वातावरण सिर्जना गर्न सकियो भने पलायन रोकिन्छ । आत्मनिर्भर गाउँ मात्र समृद्ध नेपाल निर्माणको आधार हो । हामी प्राकृतिक स्रोत–साधनमा धनी छौं। तर मानव स्रोत पलायन भइरहेको छ। यो अवस्थालाई उल्ट्याउन सक्ने शक्ति हामी आफैंमा छ। आवश्यक कुरा भनेको इच्छाशक्ति र व्यवहारिक कार्यान्वयन हो। गाउँ उज्यालो हुँदा मात्र शहर र देश उज्यालो हुन्छ भन्ने चेतना सबै तहका नेतृत्व र नीतिनिर्मातामा जागृत हुनुपर्छ।
समृद्ध नेपाल बनाउने बाटो शहरको चमकधमकमात्र होइन, गाउँको जीवन्ततामा पनि निहित छ । गाउँमा आत्मसम्मानका साथ बस्न सक्ने आधार बनाइए मात्र युवा फर्किन्छन्, संस्कृतिको संरक्षण हुन्छ र हाम्रो मौलिक पहिचान सुरक्षित हुन्छ। अन्ततः आजको आवश्यकता हो– गाउँलाई फेरि गुल्जार बनाउने। तीजजस्ता पर्व गाउँमै रमाउने वातावरण बनाउनुपर्छ । युवाहरू स्वदेशमै आत्मनिर्भर बन्न सकून्, संस्कृति जोगाउन गर्व गर्न सकून– यही हो समृद्ध नेपालको मार्ग। हामी गरिब जन्मेका हौं, तर गरिबी हाम्रो नियति होइन । यसको अन्त्य हाम्रो साझा जिम्मेवारी हो ।










