जेन–जेड आन्दोलन : आशा र संकट

शिवदत्त चापागाई

नेपालको राजनीतिक इतिहास आन्दोलनकै छायामा गुज्रिएको छ । प्रजातन्त्रको सपना बहुदलीय व्यवस्थाको पुनःस्थापना वा गणतन्त्रको उद्घोष यी सबैमा सडकको भूमिकाले निर्णायक मोड दिएको छ। जेन–जेड आन्दोलन पुराना आन्दोलनभन्दा विल्कुलै फरक देखियो। यो कुनै दलको निर्देशनमा जन्मिएको थिएन न त कुनै नेताको भाषणले यसलाई सशक्त बनाएको थियो । सामाजिक सञ्जालमाथि अचानक लगाइएको प्रतिबन्धले युवाको आक्रोशलाई विस्फोट गरायो र हजारौं युवा स्वयंस्फूर्त रूपमा सडकमा ओर्लिए ।

सामाजिक सञ्जाल आजका युवाका लागि केवल मनोरञ्जनको माध्यम मात्र थिएन नयाँ पुस्ताका लागि रोजगारी, अध्ययन, सिर्जना र विश्वसँग जोडिने पुल थियो। जब त्यो पुल एकै झट्कामा भत्काइयो तिनीहरूको भविष्य अन्धकारमय भएको भान भयो। त्यसैले जेन–जेड आन्दोलन केवल एउटा प्रतिबन्धको विरोध थिएन यो त व्यापक भष्टचार, राजनीतिक अन्याय, बेरोजगारी, असमानता र निराशाविरुद्धको सामूहिक उद्घोष थियो। आन्दोलन नेताविहीन थियो तर उद्देश्य स्पष्ट थियो । “नेपो बेबीज” भनिने राजनीतिक परिवारवादप्रति आक्रोश, सत्तामा बारम्बार उस्तै अनुहार मात्र देखिने निराशा र भविष्य गुम्ने डरले युवाहरूलाई एकै ठाउँमा ल्यायो। उनीहरूले प्रश्न उठाए किन हाम्रो सपना बारम्बार भत्काइन्छ ? किन हामी विदेश पलायन हुन बाध्य हुन्छौं ? किन हामीलाई सुन्ने कोही छैन ? यी प्रश्नहरूको गर्जनले सिंहदरबारदेखि अन्तर्राष्ट्रिय समुदायसम्म असर फैलायो। तर आन्दोलनले ल्याएको परिणाम केवल राजनीतिक र सामाजिक परिर्वतनमात्र थिएन । यसको आर्थिक क्षेत्रमा गहिरो र दीर्घकालीन असर पार्दछ ।

गत आव २०८१/८२ मा नेपालको कुल ग्राहस्थ उत्पादन ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो र आर्थिक वृद्धिदर ४.६१ प्रतिशत अनुमान गरिएको थियो। आन्दोलनले निम्त्याएको विनाशका कारण यी दुवै सूचक कमजोर हुने निश्चित छ। राष्ट्रको सम्पत्तिमा खर्बौं रुपैयाँ बराबरको क्षति भइसकेको छ भने चलनचल्तिमा रहेका नोट नै जलेर नष्ट भएका छन । राजधानी मात्र होइन देशभर आन्दोलनले नै प्रभाव पारेकोछ । सिंहदरबार, संसद भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, निर्वाचन आयोग, मन्त्री निवासदेखि निजी निवाससम्म, सरकारी कार्यालयदेखि व्यापारिक प्रतिष्ठानसम्म कुनै पनि सुरक्षित रहेन। जलेका र ध्वस्त भएका यी संरचनाको पुनर्निर्माणमा लाग्ने भारी खर्च पूँजीगत बजेटबाटै काटिनुपर्ने देखिन्छ ।

चालु आव २०८२/८३ को बजेटमा ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ (२०.८ प्रतिशत) पुँजीगत खर्चका लागि विनियोजन गरिएको थियो । तर जब त्यो रकम पुनर्निर्माणमा खर्चिनुपर्ने हुन्छ विकासका लागि छुट्याइएको सपना शून्यमा परिणत हुन्छ । पाँच वर्षसम्म विकास कार्य नै ठप्प हुने संकेत यस घटनाले दिएको छ।

नेपालले विगतमा भूकम्प र बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिमा दातृ निकाय र विदेशी मित्र राष्ट्रबाट सहयोग पाएको थियो। तर यस आन्दोलनमा भएको तोडफोड, आगजनी र अराजकताप्रति अन्तर्राष्ट्रिय समुदायको दृष्टि भिन्न हुनेछ। यस पटक सहयोग आउने सम्भावना न्यून छ । जसको अर्थ क्षतिपूर्ति सार्वजनिक ऋणमार्फत मात्र सम्भव हुनेछ । यसले मुलुकलाई अझ ऋणको दलदलमा डुबाउने निश्चित छ ।

निजी क्षेत्र पनि यस आन्दोलनको प्रत्यक्ष मारमा प¥यो । होटल हिलटनदेखि सुपरमार्केट भाटभटेनीसम्म आक्रमण भयो। उद्योग, व्यापार र लगानीमाथि गरिएको यस्तो प्रहारले स्वदेशी र विदेशी लगानीकर्ताको आत्मविश्वास गुमायो। अब किन नेपालमा लगानी गर्ने ? भन्ने प्रश्न उब्जियो। यसको प्रत्यक्ष असर राजस्व संकलनमा देखिनेछ । त्यसमाथि निजी सम्पत्तिको क्षतिबाट मात्र बिमा कम्पनीमा ५० देखि ६० अर्ब बराबरको दाबी आउने अनुमान छ । यसले वित्तीय प्रणालीलाई ठूलो भार पर्नेछ । सबैभन्दा गम्भीर समस्या रोजगारीमा देखिनेछ । हजारौं जनालाई रोजगारी दिने निजी क्षेत्र ध्वस्त भएपछि रोजगार कटौती सुरु हुनेछ । बेरोजगारी बढ्नेछ युवा पलायन डरलाग्दो दरमा बढ्नेछ । चाडबाडको मुखमा उपभोग्य वस्तुको अभाव र मूल्यवृद्धिले सामान्य नागरिकको जीवन थप पीडादायी बन्नेछ ।

सबैभन्दा अपूरणीय क्षति भने मानवीय छ। दर्जनौं निर्दोष र अबोध बालबालिकाले आन्दोलनको हिंसात्मक छायामा प्राण गुमाए। उनीहरूसँगै हामीले केवल जीवन मात्र होइन भविष्य पनि गुमायौं । भौतिक संरचना फेरि निर्माण गर्न सकिन्छ तर गुमेको जीवन फर्काउन सकिँदैन । यसले यो आन्दोलनलाई केवल राजनीतिक र आर्थिक संकटको रूपमा मात्र होइन गहिरो मानवीय त्रासदीको रूपमा पनि स्मरण गर्न बाध्य बनाउँछ ।

अन्तर्राष्ट्रिय जगतले यस आन्दोलनलाई नजिकैबाट नियाल्यो। अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार, मानवअधिकार उल्लङ्घन र अराजकताप्रति चिन्ता व्यक्त गरियो। अन्तर्राष्ट्रिय जगतले देखेको अर्को चित्र अझ महत्त्वपूर्ण थियो नेपालको नयाँ पुस्ता केवल भोलिको श्रमिक मात्र होइन चेतनशील र आवाज उठाउने पुस्ता हो। उनीहरूले परिवर्तन चाहन्छन् समान अवसर खोज्छन् र आफ्नो देशमै भविष्य बनाउन चाहन्छन् । अब प्रश्न नेतृत्वमाथि छ के उनीहरूले यस आवाजलाई सुन्नेछन् ? के पारदर्शिता, जवाफदेहिता र समावेशी नीतिमा दृढ हुनेछन् ? वा पुरानै ढर्रामा चल्दै देशलाई थप निराशा र असफलतामा धकेल्नेछन् ?

२०२५ को जेन–जेड आन्दोलनलाई क्षणिक आक्रोश भनेर खारेज गर्न सकिँदैन। यसले पुरानो सत्ता संरचनालाई नङ्ग्यायो, अर्थतन्त्रका कमजोरीलाई उजागर ग¥यो र भविष्यका लागि चेतावनी सुनायो। यदि नेतृत्वले यसलाई अवसरको रूपमा लिएर युवाको ऊर्जालाई संस्थागत गर्न सके यो आन्दोलन नयाँ नेपालको आधार बन्न सक्छ । यदि बेवास्ता गरियो भने देश फेरि अर्को ठूलो संकटतिर धकेलिन सक्छ। अन्तत जेन–जेड आन्दोलनले एउटा कठोर सत्य प्रष्ट ग¥यो भवनहरू जलेर खरानी हुन सक्छन् अर्थतन्त्र कमजोर पर्न सक्छ तर युवाको स्वर दबाउन सकिँदैन । यही स्वरमा नेपालको भोलि लेखिएको छ आशा र संकटको दोहोरो कथा जहाँ पुनर्निर्माणको बाटो पनि छ र यदि बेवास्ता गरियो भने पतनको खाडल पनि ।

(लेखक जनज्योति क्याम्पस, भिमाद–६, तनहुँका सह–प्राध्यापक हुन् ।)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker