विमलनगर आमा समहूले एक रुपैयाँ बचतबाट बनायो आठ करोडको पूँजी

भञ्ज्याङन्यूज

सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले रु आठ करोडको पुँजी संकलन भएको छ । बन्दीपुर गाउँपालिका-४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल रु आठ करोड जम्मा भएको छ । करिब तीन वर्षसम्म समूहले रु एक, दुइ, दश, बीस, पचास र रु एक सयका दरले क्रमिक रूपमा बचत गर्दै आएको थियो । विसं २०५४ सालमा समूहले सहकारी सञ्चालन गर्ने निर्णय अनुरुप मर्स्याङ्दी आमा बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए ।

आमा समूहले बचत गर्दै आएको पैसाले सहकारी सञ्चालन गरेपछि अहिले संस्थाको पुँजी रु आठ करोडभन्दा बढी पुगेको हो। महिलाले सञ्चालनमा ल्याएको उक्त सहकारी गाउँपालिकामै नमुना र अनुकरणीय गर्न योग्य रहेको संस्थाकी लेखा संयोजक बबिता थापाले बताइन । अहिले सहकारी संस्थामा आठ सयभन्दा बढी शेयर सदस्य छन् । उनले भनिन्, ‘सुरुमा एक रुपैयाँ बचत गर्ने महिलाले अहिले मासिक रु एक हजार पाँच सयसम्म जम्मा गर्न थालेका छन् ।’

सहकारी संस्थामा कार्यरत सबै कर्मचारी महिला छन् भने लेखा समिति, शिक्षा उपसमिति, ऋण उपसमिति, धितो मूल्याङकन समिति लगायतमा महिलाले नै नेतृत्व गर्दै आएका छन् । धितो राखेर रु पन्ध्र लाखसम्म ऋण दिन सक्ने अवस्थामा सहकारी पुगेको संस्थाकी अध्यक्ष बास्ना कुमारी मगरले बताइन् । सहकारीले कृषि र उच्च शिक्षा पढ्नका लागि शिक्षा धितोमा १२ प्रतिशत र अन्य शीर्षकका कर्जामा १४ प्रतिशत ब्याज निर्धारण गरिएको छ ।

गाईपालन, तरकारी, धूप तालिम र घरबास सञ्चालन लगायतमा लगानी गर्ने गरिएको सो संस्थाले जनाएको छ । संस्थाको आफ्नै भवन रहेको छ। तत्कालीन समयमा रु एक लाख ४६ हजारमा जग्गा खरिद गरी केही नगद खर्च र श्रमदानबाट भवन निर्माण गरिएको लेखा संयोजक थापाले बताइन् ।

वडामा रहेका आमा समूहले सामाजिक क्रियाकलाप विवाह, व्रतबन्ध लगायतका कार्यमा सक्रिय हुँदै आएको छ भने वडाभित्र सीमित रहेको सहकारी संस्थालाई पालिका तहसम्म क्षेत्र विस्तार गरिएको छ । आगामी दिनमा सहकारीलाई गण्डकी प्रदेशस्तरमा लैजाने लगायतका योजना बनाइएको अध्यक्ष मगरले जानकारी दिइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker