सम्पादकीय : पर्यटन क्षेत्रमा बन्दीपुरले हाँसिल गरेको सफलता

विविध कार्यक्रम गरी अंग्रेजी नयाँ वर्ष सन् २०२६ लाई नेपालमा पनि स्वागत गरिएको छ । विशेष गरी पर्यटकीय गन्तव्यहरुमा सन् २०२५ को विदाइ र सन् २०२६ लाई स्वागतका लागि भन्दै विविध साँस्कृतिक कार्यक्रम अयोजना गरिए र आन्तरिक तथा वाह्य पर्यटकहरुको उपस्थिति पनि उल्लेख्य भएको छ । यही सन्दर्भमा तनहुँको बन्दीपुरमा एक कार्यक्रमको आयोजना गरी सन् २०२५ मा सम्पादन गरिएको कामको र त्यसबाट हाँसिल गरेको उपलब्धी सार्वजनिक गरिएको छ । बन्दीपुर पर्यटन विकास समिति र गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षको रुपमा मनाएको थियो । भ्रमण वर्ष कार्यक्रमले हासिल गरेको सफलता केवल एउटा स्थानीय उपलब्धि मात्र होइन, नेपालको समग्र पर्यटन विकासका लागि उदाहरणीय सन्देश बनेको छ ।
अपेक्षा गरिएभन्दा दोब्बर पर्यटक भित्र्याएर बन्दीपुरले देखाएको परिणामले प्रमाणित गर्छ– सही योजना, प्रभावकारी प्रचार र स्थानीय सहभागिता भए पर्यटन सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्न सकिन्छ । बन्दीपुर भ्रमण वर्ष २०२५ को घोषणा गर्दा दुई वर्षमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो । तर एक वर्षमै छ लाख ३४ हजार पर्यटक पुग्नु सामान्य उपलब्धि होइन । एक लाख विदेशी पर्यटकसहित चार लाख ५३ हजारले बन्दीपुरमै बास बस्नु, करिब दुई लाखले छोटो भ्रमण गर्नुले बन्दीपुर ‘पासिङ गन्तव्य’बाट ‘बस्नैपर्ने गन्तव्य’मा रूपान्तरण हुँदै गएको स्पष्ट संकेत दिन्छ। काठमाडौँ–पोखरा–चितवन यात्राका क्रममा बन्दीपुरमा एक रात बसौँ भन्ने मानसिकता विकास हुनु यसको ठूलो सफलता हो । यो सफलता संयोग मात्र होइन। आँबुखैरेनी–पोखरा सडक विस्तार, केबलकार सेवा सञ्चालन, भ्रमण वर्षको लक्षित प्रचार, होटल व्यवसायीको जिम्मेवार व्यवस्थापन र स्थानीय सरकारको सक्रियताले बन्दीपुरलाई सहज, सुरक्षित र आकर्षक गन्तव्य बनाएको छ । स्थानीय रैथाने खाना, अतिथि सत्कार, मौलिक संस्कृति र प्राकृतिक सौन्दर्यको संयोजनले पर्यटकलाई पुनः फर्किन प्रेरित गरेको छ। यही कारण बन्दीपुर सामान्य बजेटका पर्यटकदेखि उच्च खर्च गर्नसक्ने वर्गसम्मका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ । बन्दीपुरको यो अनुभवले नेपालका अन्य पर्यटकीय क्षेत्रका लागि महत्वपूर्ण पाठ सिकाउँछ ।
नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण देश हो। सगरमाथा, लुम्बिनी, पोखरा र काठमाडौंजस्ता विश्वचर्चित गन्तव्यसँगै थुप्रै गाउँ, पहाड र सांस्कृतिक केन्द्रहरू पर्यटनका दृष्टिले सम्भावनायुक्त छन्। १४२ जातजाति, १३१ मातृभाषा र १० धर्मको विविधताले नेपाललाई सांस्कृतिक पर्यटनको दुर्लभ गन्तव्य बनाएको छ। तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि पर्यटन विकास अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । मुख्य समस्या पूर्वाधार, व्यवस्थापन र दिगोपनमा छ। धेरै आकर्षक गन्तव्यहरू अझै दुर्गम छन्। सडक, यातायात, आवास, स्वास्थ्य र सुरक्षा सुविधा कमजोर हुँदा पर्यटकीय अनुभव प्रभावित हुन्छ । काठमाडौंदेखि लुम्बिनीजस्तो अन्तर्राष्ट्रिय धार्मिक केन्द्रसम्मको यात्रा आज पनि सहज बन्न नसक्नु विडम्बना हो। पर्यटन विकास केवल सुन्दर स्थल हुनुमा सीमित हुँदैन; त्यहाँ पुग्ने बाटो, बस्ने सुविधा र सेवा गुणस्तर उत्तिकै महत्त्वपूर्ण हुन्छ । यस सन्दर्भमा बन्दीपुरले देखाएको स्थानीय–निजी–सरकारी सहकार्यको मोडल अनुकरणीय छ। स्थानीय सरकारको सहजीकरण, होटल व्यवसायीको प्रतिबद्धता र समुदायको सक्रियताले पर्यटनबाट प्रत्यक्ष लाभ लिन सकिन्छ भन्ने प्रमाण बन्दीपुर बनेको छ। पर्यटनको आर्थिक फाइदा स्थानीयस्तरमै पुग्दा मात्र यसको दीर्घकालीन स्थायित्व सुनिश्चित हुन्छ । नत्र पर्यटन केही सीमित व्यवसाय वा क्षेत्रमै सीमित हुने खतरा रहन्छ ।
तर पर्यटन विकाससँगै अर्को संवेदनशील पक्ष पर्यावरण हो। बन्दीपुरजस्तै पहाडी र सांस्कृतिक क्षेत्रहरू अनियन्त्रित विकासको चपेटामा परे पर्यटन आफैं संकटमा पर्न सक्छ । होटल विस्तार, सडक निर्माण र फोहोर व्यवस्थापनमा ध्यान नदिँदा प्राकृतिक सौन्दर्य र सांस्कृतिक मौलिकता नष्ट हुने जोखिम रहन्छ। दिगो पर्यटनको अर्थ नै वातावरणीय संरक्षण, सांस्कृतिक जगेर्ना र आर्थिक लाभबीच सन्तुलन कायम गर्नु हो । आजको विश्व पर्यटन बजार प्रतिस्पर्धी छ। पर्यटकले केवल दृश्य हेर्न मात्र होइन, सुरक्षित, सफा, व्यवस्थित र मौलिक अनुभव खोज्छन् । डिजिटल प्रचार, गन्तव्यको स्पष्ट ब्रान्डिङ, गुणस्तरीय सेवा र प्रशिक्षित जनशक्ति बिना अब पर्यटन टिक्दैन ।
बन्दीपुर भ्रमण वर्षले लक्षित प्रचार र अनुभवमूलक पर्यटन कति प्रभावकारी हुन्छ भन्ने देखाएको छ । पर्यटनलाई हामीले केवल वैदेशिक मुद्रा आर्जनको साधनका रूपमा मात्र हेर्नु हुँदैन । यो ग्रामीण विकास, रोजगार सिर्जना, सांस्कृतिक संरक्षण र सामाजिक सद्भावको बलियो माध्यम हो। बन्दीपुरमा होटल, होमस्टे, कृषि, हस्तकला र स्थानीय उत्पादनले पर्यटनसँग जोडिएर आम्दानी बढाएको छ । यही मोडल नेपालका अन्य गाउँ र सहरमा विस्तार गर्न सकियो भने पर्यटनले समग्र अर्थतन्त्रमा गुणात्मक योगदान दिन सक्छ । बन्दीपुरको सफलताले एउटा स्पष्ट सन्देश दिएको छ–योजना, प्रचार, पूर्वाधार र स्थानीय स्वामित्व मिले पर्यटन सम्भावना कल्पनाभन्दा ठूलो परिणाममा बदलिन सक्छ । अब आवश्यकता छ, यस्ता सफल अभ्यासलाई राष्ट्रिय नीतिमा रूपान्तरण गर्ने । सरकारले नीति, पूर्वाधार र सुरक्षा सुनिश्चित गर्नुपर्छ, निजी क्षेत्रले गुणस्तर र लगानी बढाउनुपर्छ र स्थानीय समुदायले आफ्नो पहिचान जोगाउँदै पर्यटनलाई आत्मसात् गर्नुपर्छ । यही साझा प्रयासबाट मात्र नेपाललाई विश्वस्तरीय, दिगो र समावेशी पर्यटकीय गन्तव्य बनाउने सपना साकार हुन सक्छ ।










