दिवा खाजामा भानुका ४८ विद्यालयलाई १७ लाख बढी रकम भुक्तानी
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको भानु नगरपालिकाले दिवा खाजा कार्यक्रममा विद्यार्थीको हाजिरी भन्दा बढि रकम निकासा गरेको छ । शिक्षा विकास तथा मानवश्रोत विकास केन्द्रको कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७/०७८ मा समुदायिक विद्यालयका बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिव खाजाको व्यवस्था गरेको छ ।
सोही व्यवस्था अनुसार नगरपालिकाले ५७ विद्यालयका ३ हजार ६६२ विद्यार्थीका लागि माघदेखि वैशाखसम्मको ९९ दिनको रु. १५ को दरले रु. ५४ लाख ३८ हजार दिवा खाजा रकम निकासा दिएको महालेखापरीक्षाको उनन्साठीऔं वार्षिक प्रतिवेदन, २०७९ मा उल्लेख गरेको छ ।
महालेखा परीक्षकको कार्यालयले विद्यालयको प्रमाणित हाजिरी रुजू गर्दा ४८ विद्यालयमा विद्यार्थीको हाजिरीभन्दा रु. १७ लाख ३४ हजार बढी भुक्तानी भएकोले उक्त रकम फिर्ता गरी सञ्चित कोष दाखिला गर्नुपर्ने भनेको छ ।
नियम विपरित ३४ लाख राजश्व छुट
यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिकाले नियम विपरित रु ३४ लाख ८३ हजार राजश्व छुट दिएको महालेखा परिक्षकको कार्यालयले औलाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाले कबोल गरेको आय ठेक्कामा रु ३४ लाख ८३ हजार छुट दिएको हो ।
महालेखा परीक्षकको कार्यालयले उक्त कार्यलाई औचित्पूर्ण नदेखिएको उल्लेख गरेको छ । आय ठेक्काको रकममध्येको ५० प्रतिशत प्राप्त गरेको र बाँकी र एक करोड ६० लाख ८७ हजारमध्येबाट रु ३४ लाख ८३ हजार छुट दिएको भेटिएको छ ।
सार्वजनिक खरिद नियमावली, २०७६ को नियम १४२ (६) र सम्झौताको दफा ५ मा खरिद सम्झौता तोडेको अवस्थामा राजश्व परामर्श समितिको परामर्शमा बाहेक अन्य परिस्थितिमा मिनाहा एवं छुट दिन नसक्ने उल्लेख छ ।
व्यासले ६० लाख असुल गरेन
यस्तै, तनहुँको व्यास नगरपालिकाले दहत्तर बहत्तर ठेक्कामा रु ६० लाख १० हजार मूल्य अभिवृद्धि कर असुल नगरेको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाले लगाएको ठेक्कामा रु ६० लाख १० हजार मूल्य अभिवृद्धि कर असुल नगरेको पाइएको हो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार नगरपालिकाले उक्त रकम असुल गरी सञ्चित कोष दाखिला गर्नुपर्ने जनाइएको छ । मूल्य अभिवृद्धि कर नियमावली, २०५३ मा मूल्य अभिवृद्धि कर लाग्ने वस्तु ठेक्का मार्फत् बिक्री गर्दा वा सेवा शुल्क संकलन गर्दा ठेक्का रकममा लाग्ने मूल्य अभिवृद्धि कर समेत दाखिला गर्नुपर्ने उल्लेख छ ।










