भिमादको मिर्छुलुङका घर-घरमा धारा
भञ्ज्याङ समाचारदाता (भिमाद)
तनहुँको भिमाद नगरपालिका-५ मिर्छुलुङका घर-घरमा धारा जडान भएपछि स्थानीयवासी खुशी भएका छन् । खानेपानीको सास्ती खेप्दै आएका यहाँका स्थानीयवासी घरमै धारा जडान भएपछि खुशी भएका हुन् । धरादीको मूलबाट सोलार प्रविधिमार्फत मिछुर्लुङका ७२ घरमा धारा जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष बाबुराम रानाले जानकारी दिनुभयो । “गाउँमा पानी नहुँदा कुँवा, पँधेरोको पानी जोहो गर्नुपर्ने बाध्यता थियो, अहिले त घरमै पानी आएपछि स्थानीयवासी खुशी भएका छन्”, उहाँले भन्नुभयो ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा उक्त गाउँमा खानेपानी सुविधा पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले रु ६८ लाख ४६ हजार २४३ को लागतमा उक्त गाउँमा खानेपानी सुविधा विस्तार गरेको हो । खानेपानी विस्तारका लागि गण्डकी प्रदेश सरकारले रु ५७ लाख ८४ हजार ९०३ लगानी गरेको छ भने स्थानीयवासीले रु दश लाख ६१ हजार ३४० बराबरको श्रमदान गरेको कार्यालयका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।
विसं २०७५ माघ २९ गते सम्झौता भई विसं २०७६ पुस १५ गते सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिडको प्रभावका कारण काममा ढिलाइ भएको कार्यालयले जनाएको छ । उक्त खानेपानी योजनाको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अब गण्डकी प्रदेशका कुनै गाउँमा खानेपानीको समस्या नरहने बताउनुभयो । “हामीले खानेपानी पाएनौँ भनेर भन्नुपर्ने अवस्था रहेको छैन, प्रविधिको विकासको कारणले गर्दा गाउँगाउँमा खानेपानी पुर्याउन सकिएको छ”, उहाँले भन्नुभयो ।
प्रदेश सरकारले प्रदेशका कुनै पनि गाउँबस्तीमा आधारभूत खानेपानीको समस्या हुने छैन भनेर घोषणा गरेको उहाँले उल्लेख गर्नुभयो । “एक घण्टा बढी समय दिएर पानी ल्याउनुपर्ने बस्ती छन् भने त्यहाँ आधारभूत खानेपानीको योजना सञ्चालन गरेर खानेपानी पुर्याउने योजना अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो । भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले स्थानीय सरकारले पनि खानेपानीमा देखिने गरी काम गरेको बताउनुभयो ।










