सन्दर्भ २११औं भानु जयन्ती : भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए
के.बि. मसाल

नेपाली भाषा साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घाको शिखर कटेरीमा भएको थियो । भानुभक्त ५४ वर्षको उमेरमा वि.सं. १९२५ मा निधन भयो। भानुभक्त जन्मदा उनका बाबु धनञ्जय पण्डित पाल्पामा खरिदार पदमा कार्यरत थिए । भानुभक्त बाजे श्रीकृष्ण पण्डितको रेखदेखमा हुर्केका थिए । बनारसमा ज्ञान आर्जन गरेपछि भानुभक्त कविताको साधनमा केन्द्रित भए । उनमा संस्कृतको राम्रो दखल थियो। भानुभक्त सानैदेखि विलक्षण प्रतिभाका धनी थिए । उनी नेपाली भाषाका कवि हुन, जसलाई नेपाली भाषाका आदिकवि भनेर पनि चिनिन्छ ।
भानुभक्तका रचनाहरु नेपाली भाषामा अग्रणी रुपमा रहेका छन् । उनले आफ्नो प्रतिभाका कारणले नै रामायण लेखे । अध्यात्म रामायण अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रुपमा प्रस्तुत गरे। भानुभक्त अघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रुपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायणलाई नै नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो । भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो। तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए। उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक काशीका एक जना विद्वानले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ यसरी दिएका थिए ।
पहाडको अति बेस देश तनहुँमा श्रीकृष्ण ब्राह्रमण थिया
खुप उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।

भानुभक्तले जति कविता लेखे ती सबैजसो कालजयी भए । उनको कविता लोकले बुझ्यो, ग्रहण ग¥यो अनि गाउँघरमा पाखा पखेरामा मानिसहरुले गाउँदै हिडे । नपढे पनि भानुभक्तका कविता लयमा गाउन सक्ने पुस्ता अझै छन् । त्यो बेला गाउँघरमा मनोरञ्जनको साधन भएका थिए भानुभक्तका कविता । उनका धेरै कविता उनी जिवित हुँदै लोकप्रिय भएका थिए । त्यो समयमा भानुभक्तले नेपाली भाषामार्फत एकीकरणको सन्देश दिए । नेपालमा वि.सं. २०११ सालबाट मात्रै भानु जयन्ती मनाउन थालिएको हो । २०२५ सालमा भानुभक्तलाई सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । भानुभक्तलाई आदिकविको उपाधि मोतीराम भट्टले दिएका हुन्। मोतीरामले भानुभक्त जत्तिको कवि कोही जन्मदैनन् भनेर भनेका थिए ।
पृथ्वीराजमार्गको पोखरा–काठमाण्डौ सडकमा पर्ने तनहुँको डुम्रे बजारबाट १३ किलोमिटर उत्तरतर्फ भानुभक्तको जन्मस्थल चुँदीरम्घा पर्दछ। डुम्रे बजारदेखि चुँदी रम्घासम्म पक्की सडक छ । भानुभक्त जन्मस्थल भानु स्मारकको कार्यालयबाट भानु जन्मिएको घर चुँदी रम्घाको शिखर कटेरी हाल धर्मशाला चुँदी बेंसीबाट उत्तर–पूर्व अग्लो डाडोमा रहेको छ। शिखर कटेरीमा जान अहिले मोटर मार्ग समेत बनेको छ । तर मोटर मार्ग पिच भने भएको छैन । शिखर कटेरी जादा बाटोमा दम्सिलो पहाडी श्रृंखला जंगलमा रहर लाग्दा साल र अन्य बनस्पतीका रुखहरुले भरिएका छन् । चुँदीबाट पैदल यात्रामा रमाउनेहरुका लागि शिखर कटेरी पुग्न पैदल ४० मिनेट जती उकालो बाटो यात्रा गर्नु पर्दछ ।

आदिकवि भानुभक्त आचार्यलाई बर्सेनि असार २९ मा विशेष रुपले सम्झना गर्ने गरिन्छ । अहिले भानु शिखर कटेरी वृहत गुरुयोजनाले समेत भानुभक्तको जन्मस्थलको संरक्षणका कामहरु क्रमिक रुपमा सुरुगर्न थालिएको छ । पुरातात्विक महत्वको भानुभक्तको शिखर कटेरीको भग्नावशेष घरको स्वरुप हराउन नदिन ट्रष्ट बनाएर संरक्षण गर्न थालिएको छ। भानुभक्त आचार्यको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका एक मात्र सन्तानका रुपमा भएको थियो । भानुभक्त आचार्य पण्डित श्रीकृष्ण आचार्यका नाति थिए। श्रीकृष्ण आचार्यका छ भाइ छोरामध्ये धनञ्जय जेठा थिए । यी पनि विद्वान थिए । धनञ्जय पाल्पा तहसिलका हाकिम खरदार थिए। धनञ्जयको धेरै वर्षसम्म सन्तान नभएकाले सन्तान प्राप्तिका लागि उनले १० वर्ष सूर्यको उपासना गरे। १० वर्षको उपासनापछि ४० वर्षको उमेरमा धनञ्जयलाई पुत्र प्राप्त भएको थियो ।
भानुभक्त जन्मिएको पं. श्रीकृष्ण आचार्यले बनाएको घर अहिले भग्नावशेष रहेको छ । शिखर कटेरीको जन्मस्थलको घरलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास हुन थालेको छ । ऐतिहासिक नेपाली कथानक चलचित्र आदिकवि भानुभक्त छायाङ्कन गर्न २०५४ सालमा भानुको जन्मस्थल शिखर कटेरीमा दुई तले घर निर्माण भएको थियो। तर संरक्षणको अभावमा त्यो घर जंगलमा लागेको डढेलोमा प¥यो । आगलागिबाट बचेका सामग्री अहिले चुदीबेसीकै स्मारक स्थलमा ल्याई राखिएको छ । त्यसको नजिकै भानु प्रा.वि. परिसरमा आदिकविको अर्धकदको सालिक पनि राखिएको छ । संग्राहलयमा आगलागीबाट बचेका भानुभक्त संग जोडिएका केही सामान छन । आदिकवि सुत्ने बस्ने चापको खाट एकजना मात्र सुत्न मिल्ने रहेछ । भानु पशुपन्छीप्रेमी पनि हुनुहुदो रहेछ भन्ने तथ्य खाटको सिरानी अडयाउने फलेकमा कुदिएका पशुपन्छीका चित्रले पुष्टि गर्दछ । खाटको सिरानी देब्रे दाहिनेतिर चरा र बीचमा दुई वटा हात्तीको चित्र बनाएको खोपी कलात्मक ढंगले बनाईएको छ । खाटकै उत्तरतर्फ सजाएर राखेको आदिकविको मदुस सन्दुक रहेको छ । त्यो पनि कलाकृतिमय छ । त्यसमा लगाउने तालाहरु र दराजमा राखिएको ताला भोटे ताला छ ।

संग्राहलयको दराजमा आदिकवि भानुले प्रयोग गरेका सामाग्री पूजा–पाठदेखि भात खाने थाल, बटुका पनि राखिएका छन् । त्यहाँ राखिएका सामाग्रीले आदिकवि भानुभक्त सौखिन हुनुहुन्थ्यो भन्ने भान हुन्छ । महगो हुक्का पनि त्यहाँ सजाएर राखिएको छ । कविले लेख्न प्रयोग गरेको मसीदानी, कलम पनि त्यहाँ राखिएको छ । आदिकवि भानुभक्तले लेख्नु भएका प्राय सबै कृतिको उहाँले लेखेकै अक्षरमा पढन पाइन्छ । आदिकविले मुद्दा खेप्नु परेका कागत तमसुकहरु सबै जतनका साथ राखिएको छ । दुई पट्टि काठको फल्याकजस्तो चिल्लो काठको खबटाले च्यापिएको भानुभक्तीय पाण्डूलिपि खाटमा बसेर हेर्न सकिन्छ ।

संग्राहलयमा हारमोनियम पनि छ । आदिकवि भानुभक्त चलचित्र बनाउँदा प्रयोग भएको यो बाजा यादव खरेलले त्यही छोडनु भएको रहेछ । भानुसम्बन्धी प्रयोग गरेका सामग्रीहरु लोहोटा, धुपौरो, मकल, मसुरा सन्दुक, खाना खान बस्ने पिरका पिरा, साना–ठूला, ताई, पाथी, ओदान, ढिब्री तेलराख्ने भाँडो, ढुंङ्गाको आरी, ढुंङ्गाको कचौरा, गाग्री, पेटारो चोयाको बिर्को भएको ढाकी विशेष रुपमा बेहुला बेहुलीको लुगा राख्ने, आदिकविले लगाएका खराउ, आचमनि, पञ्चपात्र, चन्दनखोरी, सिमाङ काठको ठेकी जस्तो झुण्डयाउने भएको हतर, प्याङ, ताउलो खडकुलो, घण्टा, दियो, कोपरा, आदिकविले लेखेका सम्पूर्ण कृतिको हस्तलिखित पुस्तक, मुद्दा पर्दाका तमसुक कागतहरु आदि राखिएका छन् ।

एकनासका अक्षर, कतै केरमेट नगरिएका, सम्पूर्ण कृति हेर्दा आदिकविको लेखन कला उत्कृष्ट रहेछ भन्ने थाहा पाइन्छ। भानुभक्तमा सानैदेखि विलक्षण प्रतिभा थियो भनिन्छ । छ महिनामा अन्नप्रासन गर्दा बालक भानुभक्तका अगाडि वस्त्र, शस्त्र, पुस्तक, कलम, मसी, सुन राखिएकोमा भानुले सर्वप्रथम कलम र मसीदानी समातेका थिए। जागिरे बाबु धेरैजसो घरबाहिर हुँदा भानुभक्तको बाल्यकाल बाजेसँगै बितेको थियो । भानुभक्तको शिक्षा आरम्भ घरमा नै हजूरबुबा श्रीकृष्णबाट सुरु भएको थियो । भानुभक्तले ज्योतिषको अध्ययन कास्की गुरुकुलमा गर्नुभएको थियो। हजुरबुवा श्रीकृष्ण वि.सं. १८८६ मा काशीबासमा जाँदा भानुभक्तलाईसंगै लिएर गएका थिए । भानुभक्तले बिहान–बेलुका हजुरबुवासँग अध्ययन गर्नु भयो। दिउँसो पाठशालामा । काशीमा भानुभक्तले कोश, व्याकरण, साहित्य अध्ययनका साथै ज्योतिषको अध्ययन र अभ्यास पनि गर्नु भएको थियो । अध्यनको क्रममा काशीमा हुने विद्वत समारोहमा पनि भाग लिनु भएको थियो। भानुभक्तको व्रतवन्ध वि.सं. १८७८ मा भएको थियो । हजुरबुवा श्रीकृष्ण आचार्यले नाति भानुभक्तलाई गायत्रीमन्त्र दिनुभएको थियो। गायत्री मन्त्र प्राप्त गरे लगत्तै हजुरबुवासंग भानुभक्तले कौमदी, रुद्री, वेद पढन थाल्नु भएको थियो ।

भानुभक्तको विवाह परशुराम खनालकी छोरी चन्द्रकान्तासंग पहिलो विवाह भएको थियो। विवाह भएको १८ महिनापछि चन्द्रकान्ताको मृत्यु भयो । त्यसपछि दोश्रो विवाह तनहुँ जिल्लाको मानुङ गाउँबाट विद्याधर खनालकी छोरी चन्द्रकलादेवीसंग भएको थियो । भानुभक्त आचार्यको वि.सं. १८९१ मा बुर्लङ बेंसी बुल्दी खोला किनारमा घाँसी चामुनारायण पन्तसंग भेट भएको थियो । घाँसीसगको भेट नै भानुभक्तको जीवनमा आमूल परिवर्तन आउँन सुरु भई घाँसीले झैं आफूले पनि कीर्ति राख्ने भावना जागृत भएको थियो । आदिकवि भानुभक्तको साहित्यिक योगदान घासीसगको भेटपछि जन्मिएको स्वतस्फूर्त कविता भरजन्मबाटै भानुभक्त अगाडि बढ्दै गएका हुन । यही कविताको भावभूमिबाट भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि बन्न पुग्नुभयो।

वि.सं. १८९८ मा रामायण बालकाण्ड लेखन वि.सं. १९०१ मा मामा जयलालका भदा–सालो पर्ने कलाधरलाई गायत्रीमन्त्र सुनाउन मामाघर जाँदा भोर्लेटारमा गजाधर सोतीको घरमा बास नपाउँदा गजाधर सोतीकी घर बुढिया कविता लेख्नु भयो। भानुको साहित्यिक, व्यक्तिगत जीवन चरित्रलाई कतै राम्रो कतै नराम्रोसंग चर्चा गरेका छन। वि.सं. १९११ मा भानुभक्त कुमारीचोकमा ५ महिना थुनिएर रहदा त्यो समयमा अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, रामायण लेखन गरेको पाइन्छ । त्यसै समयमा अत्यन्त चर्चित, निर्भिक, बिन्तिपत्र–रोज रोज दर्शन–लेखि राणा सरकारलाई बुझाएको पाइन्छ । शिखर कटेरीमा जन्मनु भएका भानुभक्तले नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको छ । लोकलयको मिठास भरेर रामायण लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउने तथा बहुभाषा र संस्कृतिलाई जोडने सम्पर्क नेपाली भाषा भानुकै कारण समृद्ध भएको हो। भानुकै कारण नेपालीहरुमा भाषिक एकता कायम रहेको पनि मानिन्छ । भानुले जुन ठाउँमा जन्मे हुर्के अनि नेपाली भाषा र साहित्यमा योगदान दिए त्यो ठाउँको संरक्षण अभियानमा पश्चिमाञ्चल विकास मञ्च हुँदै अहिले भानु नगरपालिकामा सरेको छ ।

साहित्यिक तथा सांस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास गराउने उद्देश्यले भानुको जन्मस्थल शिखर कटेरीमा भानुभक्तकालीन घर निर्माण भएको छ । भानुभक्तको भग्नावशेष घर र अन्य भानुभक्तकालिन घरहरु बनाएर यस क्षेत्रलाई साहित्यिक धाम र साहित्यक पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य रहेको छ । भानुभक्तले नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको छ । लोकलयको मिठास भरेर रामायण लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउने तथा बहुभाषा र संस्कृतिलाई जोडने सम्पर्क नेपाली भाषा भानुकै कारण समृद्ध भएको हो । भानुकै कारण नेपालीहरुमा भाषिक एकता कायम रहेको पनि मानिन्छ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली साँस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । अयोध्याका राजा रामको जीवनीलाई सरल नेपाली भाषामा लेखिएको रामायण मार्फत प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । वंशपरम्परा अनुसार हजुरबुवा श्रीकृष्ण र बुवा धनञ्जयको निधन काशीको मणिकर्णिका घाटमा भएको थियो । तर आदिकवि भानुभक्तले लामो समय ज्वरोले थलिंदा पनि किन काशी मणिकर्णिका घाट रोज्नु भएन ? आदिकविले आफ्नो निधन जन्मभूमीलाई नै रोज्नु भयो ।

नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन, जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिव्यक्त गरेको हुन । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ । उति बेला कविताहरु र औपचारिक साहित्यहरु संस्कृत भाषामा हुने गर्दथे, जुन कारणले संस्कृत भाषा बुझ्न र बुझाउन सक्ने ब्राह्मणहरुको आवश्यकता र महत्व धेरै थियो । सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा आफै साहित्य र कलात्मक अभिव्यक्ति बुझ्न गाह्रो थियो । भानुभक्तको जीवनमा एक जना घाँसीबाट उनलाई प्रेरणा भएको थियो । घाँसी दरिद्र भएतापनि घाँस काटेर पाएको पैसाले समाजकालागि पानी खाने कुवा खन्दछ । भानुभक्तलाई आफू घाँसीभन्दा धनी भएतापनि समाजकालागि केही गरौँ भन्ने भाव नभएको महसुस भएर भानुभक्तलाई ग्लानि लाग्दछ । तर भानुभक्तका शब्द र अभिव्यक्तिले कथेका काव्यहरु अझै पनि नेपालीहरुले सुरक्षित रुपमा राखेका छन । रामायणभित्र रहेका बाल काण्ड, अरन्यकाण्ड, सुन्दर काण्ड, युद्ध काण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ। भानुभक्तले रामायणका अतिरिक्त अन्य थुप्रै कृति सृजना गरे पनि उनी रामायणमा बाँचेका छन । रुचि भएका पाठकहरुले रामायणका श्लोकहरु याद गर्नु अहिले पनि नेपाली समाजमा छ भने रोचक प्रसङ्ग त सामान्य नेपाली भाषामा छन्द र श्लोकहरु पाएपछि बिहे, व्रतबन्ध आदिमा दोहोरी या सिलोक खेल्ने चलन पनि छ ।

भानुभक्तको जन्मजयन्ती नेपालमा मात्र होइन भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मा लगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ । जीवनको अन्तिम क्षणसम्म पनि नेपाली साहित्य उत्थानका लागि निरन्तर लेखनमा लागि परेका आदिकवि भानुभक्त आचार्यको सम्मान गर्न सक्यौं भने राष्ट्रको र नेपाली जनताको पनि सम्मान हुने छ। साहित्यका स्रष्टाहरुले कथा, कविता, निबन्ध, उपन्यास, नाटक तथा कलाका क्षेत्रमा धेरै कलम चलाउँदै आउनु भएको छ । आदीकवि भानुभक्तको बारेमा कलम चलाउने स्रष्टाहरुको संख्या हजारौ पुगिसकेका होलान । कतिपय स्रष्टाहरु आदिकविकै बारेमा कलम चलाउँदा सम्मान र पुरस्कृत पनि हुनु भएको होला ! तर धेरै स्रष्टाहरु भानुभक्तको जन्मस्थल चुँदी रम्घाको शिखर कटेरीमा पुग्नु भएको छैन होला ? अनुकुल मिलाएर पुग्दा राम्रो हुनेछ ।










