व्यास नगरपालिका : “शून्य पोलिथिन” अभियान
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँको व्यास नगरपालिकामा ‘शून्य पोलोथिन’ अभियान चलाइने भएको छ । वातावरण संरक्षणको क्षेत्रमा कार्यरत संस्था सिम नेपालले व्यास नगरपालिका र ग्रिन हाउस क्रेटरसँग सहकार्य गरी अभियान चलाउने भएको हो । ‘जुटौं सारा गाउँ र शहर, शून्य पोलिथिन व्यास नगर’ भन्ने नाराका साथ माटोको संरक्षणका लागि अभियान थालिएको सिम नेपालका अध्यक्ष निपेश ढाकाले जानकारी गराए ।
अभियानका क्रममा समुदायको तल्लो तहसम्म पुगी नगरका सबै टोल तथा विद्यालय, वन उपभोक्ता समिति, खानेपानी तथा सिंचाइ उपभोक्ता समितिमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी पोलिथिनजन्य फोहोर संकलन र दीगो व्यवस्थापन गरिने ढाकाले बताए ।
कृषि भूमि, खोला, खेत बाटो, गल्ली, वनजंगल, खोल्सा, सडक तथा राजमार्ग, नदीनाला, नीजि तथा सरकारी कार्यालय, पार्टी पौवा, घाट, देवस्थल लगायतका ठाउँमा सम्पूर्ण प्लाष्टिकजन्य पदार्थलाई संकलन गरेर दिगो व्यवस्थापन गर्ने उद्देश्यले यो अभियान चलाइएको अभियन्ता ढाकाले बताए ।
नगरपालिकामा मंगलबार पत्रकार अन्तिरक्रिया कार्यक्रम गरी अभियानको बारेमा जानकारी गराइएको थियो । नगरपालिकाको १४ वटै वडाका २४२ टोल विकास संस्था, १२४ विद्यालय, वन उपभोक्ता समूह, खानेपानी तथा सिंचाइ सम्बन्धी संघसंस्था, सुरक्षा निकाय, आमा समूह, युवा क्लब, वित्तीय संस्था लगायतका संघसंस्थासंग सहकार्य गर्ने तयारी गरिएको जनाइएको छ ।
अभियान अन्तर्गत जनचेतनाको माध्यमबाट मानिसलाई पर्यावरणीय गतिविधि र चिन्तनको बारेमा शिक्षा दिने, भावि पुस्ताका लागि धर्ती संरक्षण गर्न प्रेरित गर्ने र जथाभावि फालिएका नकुहिने फोहोरलाई संकलन गरी उचित व्यवस्थापन गरिने भएको छ । व्यास नगरक्षेत्रमा पोलीथिनजन्य पदार्थको दीगो व्यवस्थापन नहुँदासम्म अभियान निरन्तर रहने बताइएको छ ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले यस अभियानले वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । प्लाष्टिक वर्तमान जीवन पद्धतिको अति आवश्यक वस्तु जस्तै भइसकेकाले यसको प्रयोगपछि उचित व्यवस्थापनको विषय थप चुनौतीपुर्ण भएको बताए । वातावरण संरक्षण गरी भावि पुस्तालाई हस्तान्तरण गर्ने जिम्मा यो पुस्ताको भएकाले यस तर्फ सबैले ध्यान दिन उनले आग्रह गरे ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेले वातावरण संरक्षणका लागि चेतनामुलक कार्यक्रम गरी पोलिथिनको दीगो व्यवस्थानमा सिम नेपालसँग सहकार्यको योजना बनाएको बताए । पोलीथिनको सही व्यवस्थापन हुन नसक्दा वातावरणीय प्रदुषण बढेको र स्वास्थ्यमा समेत गम्भिर समस्या उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गरी अभियानमा सबैले साथ दिन आग्रह गरे ।
सिम नेपालले यस अघि रुपदेन्हीको तिलोत्तमा नगरपालिकामा शुन्य पोलिथिन अभियान सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । खुल्ला रुपमा फालिएका खाद्य वा अखाद्य वस्तुका खोल, तार तथा विद्युतीय सामग्री, टायर, खेलौना, प्लाष्टिकका भाँडा, जुत्ताचप्पल, कपडा, बोरा तथा अस्पातलबाट निस्केका फोहोर लगायतलाई पोलिथिन मानिने र त्यसको सोही अनुसार व्यवस्थापन गरिने भएको छ ।










