भविष्य निर्माणको पहिलो पाइला : आत्मविश्वास र अवसरको नयाँ यात्रा
लक्ष्मी श्रेष्ठ

हालै सार्वजनिक भएको एस.इ.इ परीक्षाको नतिजाले देशभरका हजारौँ विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई नयाँ उत्साह, जिज्ञासा र जिम्मेवारीको अनुभूति गराएको छ । माध्यमिक तहको अध्ययन पूरा गरेपछि विद्यार्थी जीवनको एउटा महत्वपूर्ण मोडमा आइपुग्छन्, जहाँबाट उनीहरूले आफ्नो भविष्यको मार्ग निर्धारण गर्नुपर्ने हुन्छ । यही चरणमा गरिने विषय छनोटले विद्यार्थीको उच्च शिक्षा, पेशागत जीवन, सामाजिक भूमिका तथा व्यक्तिगत सफलतासम्म गहिरो प्रभाव पार्ने भएकाले यसलाई अत्यन्त संवेदनशील र दूरदर्शी निर्णयका रूपमा लिनुपर्छ । त्यसैले उत्तम गन्तव्यको खोजी केवल राम्रो विद्यालय वा कलेजको खोजी मात्र होइन, आफ्नो रुचि, क्षमता, सम्भावना र भविष्यको लक्ष्यअनुसार सही विषय तथा सही मार्ग चयन गर्नु पनि हो ।
आजको युग तीव्र प्रतिस्पर्धा, विज्ञान–प्रविधिको विकास तथा विश्वव्यापी परिवर्तनको युग हो । हिजोका दिनमा सीमित पेशा र अवसरहरू मात्र उपलब्ध थिए भने आज शिक्षा र रोजगारीका क्षेत्रहरू अत्यन्त फराकिला र विविध बनेका छन् । सूचना प्रविधि, स्वास्थ्य सेवा, कृषि विज्ञान, पर्यटन, उद्यमशीलता, सञ्चार, बैंकिङ, अनुसन्धान, डिजिटल सेवा तथा प्राविधिक क्षेत्रहरूमा नयाँ–नयाँ सम्भावना विकसित भइरहेका छन् । यस्तो अवस्थामा विद्यार्थीले केवल समाजले प्रतिष्ठित मानेको विषय रोज्ने होइन्, आफ्नो रुचि र क्षमताअनुसार भविष्यमा अवसर सिर्जना गर्न सक्ने विषय छनोट गर्न आवश्यक छ ।
एस.इ.इ परीक्षाको नतिजापछि धेरै विद्यार्थीहरू अन्योलमा पर्ने गर्दछन् । कसैले राम्रो अंक ल्याएर पनि कुन विषय रोज्ने भन्ने निर्णय गर्न सक्दैनन् भने कसैले अपेक्षाभन्दा कम नतिजा आएपछि निराश अनुभव गर्छन् । वास्तवमा एस.इ.इको नतिजा जीवनको अन्तिम निर्णय होइन, बरु नयाँ यात्राको सुरुवात मात्र हो । अंकले विद्यार्थीको एउटा शैक्षिक अवस्थालाई मात्र देखाउँछ । जीवनमा सफलता प्राप्त गर्न लगनशीलता, आत्मविश्वास, सीप, सकारात्मक सोच र निरन्तर मेहनत अझ महत्वपूर्ण हुन्छन् । संसारमा धेरै सफल व्यक्तिहरू प्रारम्भिक शैक्षिक यात्रामा सामान्य अवस्थामा भए पनि आफ्नो मेहनत र दृढ इच्छाशक्तिका कारण उच्च सफलतामा पुगेका उदाहरण प्रशस्त छन् ।
विषय छनोट गर्दा सबैभन्दा पहिले विद्यार्थीले आफ्नो रुचि पहिचान गर्नुपर्छ। कुनै पनि विषयमा रुचि भएन भने दीर्घकालीन अध्ययन कठिन बन्न सक्छ । रुचि भएको विषय पढ्दा विद्यार्थीले सहज रूपमा सिक्न सक्छ, नयाँ कुरा खोज्न उत्साहित हुन्छ र भविष्यमा पनि सोही क्षेत्रमा प्रगति गर्न प्रेरित हुन्छ । त्यसैले साथीले रोजेको, समाजले प्रशंसा गरेको वा अरूले दवाव दिएको आधारमा मात्र विषय छनोट गर्नु उपयुक्त हुँदैन ।
अहिले पनि समाजमा विज्ञान संकायलाई अत्यधिक प्रतिष्ठित रूपमा हेर्ने प्रवृत्ति पाइन्छ। धेरै अभिभावकहरू आफ्ना सन्तानलाई विज्ञान पढाउन चाहन्छन्, चाहे विद्यार्थीको रुचि वा क्षमता जुनसुकै क्षेत्रमा किन नहोस् । विज्ञान विषय वास्तवमै महत्वपूर्ण र सम्भावनायुक्त क्षेत्र हो । यसबाट चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि, अनुसन्धान, कृषि विज्ञान तथा वैज्ञानिक आविष्कारका क्षेत्रमा भविष्य निर्माण गर्न सकिन्छ। तर विज्ञान अध्ययनका लागि निरन्तर मेहनत, धैर्यता र वैज्ञानिक सोच आवश्यक हुन्छ । यदि विद्यार्थीलाई गणित, प्रयोगात्मक अध्ययन तथा अनुसन्धानमा रुचि छैन भने केवल सामाजिक प्रतिष्ठाका लागि विज्ञान पढ्नु उपयुक्त हुँदैन ।
त्यस्तै व्यवस्थापन संकाय पनि आजको समयमा अत्यन्त लोकप्रिय र अवसरयुक्त क्षेत्रका रूपमा विकसित भइरहेको छ । बैंकिङ, व्यापार, उद्योग, उद्यमशीलता, होटल व्यवस्थापन, लेखा, वित्त तथा प्रशासनिक क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीका लागि व्यवस्थापन शिक्षा प्रभावकारी विकल्प बन्न सक्छ । आज धेरै युवाहरू आफ्नै व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्ने प्रयास गरिरहेका छन् । यस्तो अवस्थामा व्यवस्थापन शिक्षाले नेतृत्व क्षमता, आर्थिक सोच तथा व्यावसायिक सीप विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
मानविकी तथा शिक्षा संकायलाई कतिपयले कम महत्व दिने गरेका छन् तर वास्तवमा समाज निर्माणमा यसको योगदान अत्यन्त महत्वपूर्ण छ । साहित्य, पत्रकारिता, समाजशास्त्र, राजनीति, मनोविज्ञान, इतिहास तथा शिक्षाशास्त्र जस्ता विषयहरूले समाज बुझ्ने क्षमता विकास गर्छन् । शिक्षक, लेखक, पत्रकार, समाजसेवी, अनुसन्धानकर्ता तथा नेतृत्वदायी व्यक्तित्व उत्पादन गर्न मानविकी र शिक्षा क्षेत्रको ठूलो भूमिका रहेको छ । कुनै पनि देशको सामाजिक चेतना, सांस्कृतिक विकास तथा नैतिक मूल्यको संरक्षणमा यी विषयहरूको महत्व विशेष हुन्छ ।
आजको समयमा प्राविधिक तथा व्यावसायिक शिक्षाको महत्व झन् बढ्दै गएको छ । सबै विद्यार्थीले लामो शैक्षिक यात्रा पूरा गरेर मात्र सफलता प्राप्त गर्नुपर्छ भन्ने आवश्यक छैन । कतिपय विद्यार्थीहरू छोटो समयमा सीप सिकेर रोजगार वा स्वरोजगार बन्न चाहन्छन् । इलेक्ट्रिकल, सिभिल, कम्प्युटर, होटल व्यवस्थापन, कृषि, पशुपालन, अटोमोबाइल, फेशन डिजाइन, ग्राफिक्स डिजाइन तथा अन्य प्राविधिक तालिमहरूले विद्यार्थीलाई व्यावहारिक सीप प्रदान गर्छन् । यस्ता शिक्षाले युवालाई आत्मनिर्भर बनाउनुका साथै देशको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउँछन् ।
विषय छनोट गर्दा विद्यार्थीले आफ्नो क्षमता पनि मूल्यांकन गर्न आवश्यक हुन्छ । केवल रुचि भएर मात्र पुग्दैन, त्यस विषय अध्ययन गर्न आवश्यक आधारभूत क्षमता पनि हुनुपर्छ । विज्ञान पढ्न चाहने विद्यार्थीमा गणित र वैज्ञानिक विश्लेषण गर्ने क्षमता हुनुपरे जस्तै व्यवस्थापनमा रुचि राख्ने विद्यार्थीमा नेतृत्व, सञ्चार तथा आर्थिक सोचको विकास आवश्यक हुन्छ । त्यसैले विद्यार्थीले आफ्नो सवल र दुबर्ल पक्षलाई बुझेर मात्र निर्णय गर्नुपर्छ ।
यस प्रक्रियामा अभिभावकको भूमिका अत्यन्त संवेदनशील हुन्छ । धेरैजसो अवस्थामा अभिभावकले आफ्ना इच्छा वा समाजको प्रभावका कारण बालबालिकालाई दवाव दिने गर्दछन् । यसले विद्यार्थीमा मानसिक तनाव सिर्जना गर्न सक्छ। अभिभावकले आफ्ना सन्तानको रुचि, सपना र क्षमतालाई सम्मान गर्दै सकारात्मक मार्गदर्शन दिनुपर्छ। उनीहरूलाई डर होइन, प्रेरणा र आत्मविश्वास दिन आवश्यक हुन्छ । सही निर्णय गर्न सहयोग गर्ने अभिभावक नै सन्तानको सफलताको आधार बन्न सक्छन् ।
त्यस्तै शिक्षकहरूको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ । शिक्षक केवल पाठ पढाउने व्यक्ति मात्र होइनन्, उनीहरू विद्यार्थीका मार्गदर्शक पनि हुन्। विद्यार्थीलाई भविष्यका अवसर, विभिन्न विषयका सम्भावना तथा वास्तविक चुनौतीबारे जानकारी गराउनु शिक्षकको दायित्व हो । उचित परामर्श र प्रेरणाले विद्यार्थीलाई सही निर्णय लिन सहज बनाउँछ ।
आजको विश्वमा सूचना प्रविधिको प्रभाव अत्यधिक बढेको छ । कृत्रिम बुद्धिमत्ता, डिजिटल मार्केटिङ, साइबर सुरक्षा, डेटा विश्लेषण, एप विकास तथा अनलाइन व्यवसायजस्ता क्षेत्रहरू तीव्र रूपमा विस्तार भइरहेका छन्। भविष्यमा धेरै नयाँ पेशाहरू सिर्जना हुन सक्छन् भने केही पुराना पेशाहरू परिवर्तन हुन पनि सक्छन्। त्यसैले विद्यार्थीले विषय छनोट गर्दा वर्तमान मात्र होइन, भविष्यको आवश्यकता र विश्वव्यापी परिवर्तनलाई पनि ध्यान दिनुपर्छ। समयअनुसार सीप विकास गर्न सक्ने विद्यार्थी नै भविष्यमा सफल बन्न सक्छ ।
विद्यार्थीले आफूलाई अरूसँग तुलना गर्नु पनि उचित होइन । प्रत्येक व्यक्तिको क्षमता, सोच र जीवनको लक्ष्य फरक हुन्छ । कसैले विज्ञान पढेर सफलता पाउँछ भने कसैले कला, साहित्य, व्यापार वा प्राविधिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्न सक्छ। सफलता केवल एउटा विषयसँग सीमित हुँदैन, मेहनत, लगनशीलता र सही दिशामा गरिएको प्रयास नै सफलताको वास्तविक आधार हो ।
एस.इ.इ पछिको समय विद्यार्थी जीवनको अत्यन्त महत्वपूर्ण चरण हो । यही समयमा लिइएको सही निर्णयले उज्ज्वल भविष्य निर्माण गर्न सक्छ भने हतारमा गरिएको निर्णयले पछुतोको अवस्था सिर्जना गर्न सक्छ । त्यसैले विषय छनोट गर्दा हतार गर्नु हुँदैन । अभिभावक, शिक्षक, अनुभवी व्यक्तिहरू तथा करियर परामर्शदातासँग सल्लाह गरेर सोच–विचारपूर्वक निर्णय लिनुपर्छ ।
उत्तम गन्तव्य भनेको अरूले देखाएको बाटो होइन, आफूलाई उपयुक्त हुने सही मार्ग हो । जीवनमा सफल बन्नका लागि आफ्नो रुचि, क्षमता, परिश्रम र सकारात्मक सोचलाई सही दिशामा प्रयोग गर्न आवश्यक हुन्छ । एस.इ.इको नतिजा एउटा नयाँ अवसर हो, जसले विद्यार्थीलाई आफ्नो सपना पूरा गर्ने मार्गतर्फ अघि बढ्न प्रेरणा दिन्छ । सही विषय छनोट, दृढ संकल्प, अनुशासन र निरन्तर मेहनतका साथ अघि बढ्ने विद्यार्थीले नै आफ्नो उज्ज्वल भविष्य निर्माण गर्न सक्छ । त्यसैले आजको आवश्यकता भनेको केवल उच्च अंक प्राप्त गर्नु होइन, सही निर्णय गरेर जीवनलाई सार्थक र सफल बनाउने दिशामा अघि बढ्नु पनि हो ।
(लेखक जनज्योति क्याम्पस, भिमादका उपप्राध्यापक हुन्)










