कम्युनिष्ट कमजोर हुनुका कारण

सुरेशकुमार पाण्डे

विश्व कम्युनिष्ट आन्दोलन अहिले पनि रक्षात्मक अवस्थामा रहेको देखिन्छ। यो अवस्था विश्व राजनीतिमा मात्र सीमित छैन, नेपाल पनि त्यसबाट अलग रहन सकेको छैन । नेपालमा कम्युनिष्ट आन्दोलन किन कमजोर बन्दै गयो भन्ने प्रश्न उठ्दा मेरो बुझाइमा यसको मुख्य कारण विचार र व्यवहारबीचको अन्तर हो । विभिन्न व्यक्तिका आफ्ना विश्लेषण र दृष्टिकोण हुन सक्छन्, अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव पनि हुन सक्छ, तर नेपालको सन्दर्भमा हेर्दा कम्युनिष्ट आन्दोलन कमजोर हुनुको मूल कारण भनेको विचारलाई व्यवहारमा रूपान्तरण गर्न नसक्नु र निम्न पुँजीवादी चिन्तनको प्रभाव बढ्नु नै हो भन्ने लाग्छ ।
यो आवश्यक छैन कि कुनै एक विचारले सम्पूर्ण समाजको प्रतिनिधित्व गरोस् । मानिसका विचार, अनुभव र मूल्याङ्कन फरक–फरक हुन्छन् । तर कम्युनिष्ट सिद्धान्तको आधारमा आफूलाई मूल्याङ्कन गर्नेहरूले त्यही धरातलमा उभिएर समाज र राजनीतिलाई हेर्नुपर्छ। कम्युनिष्टको कखरा बुझेको व्यक्तिले पनि सिद्धान्त र व्यवहारको सम्बन्धलाई गम्भीर रूपमा लिन आवश्यक हुन्छ । फरक विचारलाई अस्वीकार गर्नु हुँदैन, बरु त्यसबाट सिक्ने संस्कार विकास गर्नुपर्छ ।
नेपालका धेरै कम्युनिष्ट समूह वा व्यक्तिहरू कम्युनिष्ट आन्दोलन कमजोर हुनुको दोष साम्राज्यवाद वा पुँजीवादी व्यवस्थालाई दिन्छन् । तर आफ्नै संगठन र व्यवहारभित्र रहेका कमजोरीलाई सच्याउने प्रयास कम देखिन्छ । घण्टौँ सर्वहाराको भाषण गर्नेहरू नै व्यवहारमा विभिन्न गैरसरकारी संस्था, सहकारी र आर्थिक स्वार्थसँग गाँसिएका भेटिन्छन् । विचारमा समाजवादको कुरा गर्ने तर व्यवहारमा पुँजीवादी प्रवृत्तिलाई अँगाल्ने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाएको छ ।
आज देशभर गैरसरकारी संस्था, आइएनजीओ र सहकारी क्षेत्रमा कम्युनिष्ट कार्यकर्ताको संलग्नता बढेको छ । आर्थिक स्रोत जुटाउने नाममा सिद्धान्तभन्दा व्यवहारमा सम्झौता गरिँदा आन्दोलनको नैतिक धरातल कमजोर बनेको छ । यसले जनतामा कम्युनिष्ट आन्दोलनप्रति अविश्वास बढाएको छ । वास्तवमा विचार र व्यवहारबीच एकरूपता नहुनु नै अहिलेको संकटको प्रमुख कारण हो ।
कम्युनिष्ट आन्दोलन कमजोर हुनुका अन्य सहायक कारण पनि छन् । कतिपय निर्णयहरू वस्तुगत आवश्यकताभन्दा निर्देशनमुखी हुन्छन् । यस्ता निर्णय व्यवहारमा लागू गर्न कठिन हुन्छ । हाम्रो सामाजिक संरचना परम्परा, रूढिवाद र अलौकिक विश्वासमा आधारित छ। धेरै मानिस कम्युनिष्ट बन्न चाहन्छन्, तर परम्परागत संस्कार र पुँजीवादी जीवनशैली त्याग्न तयार हुँदैनन् । उनीहरूको सपना समाजवादी देखिए पनि व्यवहार र योजना पुँजीवादी ढाँचाकै हुन्छन् ।
कम्युनिष्ट विचारधारालाई व्यवहारमा उतार्न नसक्नुको अर्को कारण नेपाली समाजले रूढिवाद, कुसंस्कार र निम्न पुँजीवादी सोचलाई त्याग्न नसक्नु हो । कम्युनिष्ट बन्नका लागि भौतिकवादी विचारधारामा आफूलाई ढाल्नुपर्छ। यसको अर्थ सर्वप्रथम आफूभित्रको कमजोरीसँग संघर्ष गर्नु हो । रूढीवादी सोच, अन्धविश्वास र स्वार्थी प्रवृत्तिबाट मुक्त भएर मात्र व्यक्ति वास्तविक अर्थमा भौतिकवादी बन्न सक्छ ।
नेपाल जस्तो आर्थिक रूपमा कमजोर र भूराजनीतिक रूपमा संवेदनशील देशका लागि सही विचारधारा आवश्यक छ । हाम्रो देश दुई ठूला शक्तिशाली राष्ट्र चीन र भारतको बीचमा अवस्थित छ । भूपरिवेष्ठित अवस्थाका कारण यी दुई देशसँग सन्तुलित सम्बन्ध कायम गर्नु नेपालको अनिवार्य आवश्यकता हो । त्यसैले नेपालको परराष्ट्र नीति असंलग्न र सन्तुलित हुनुपर्छ । अरू देशले के गरे भन्नेभन्दा पनि उनीहरूले नेपाललाई कसरी हेर्छन् भन्नेबारे सजग रहनुपर्छ ।
छिमेकी देशहरूको राजनीतिक र सामाजिक प्रभाव नेपालमा प्रत्यक्ष देखिन्छ । विशेषतः भारतीय राजनीति र संस्कृतिको प्रभाव नेपाली समाजमा गहिरो छ । यस्तो अवस्थामा राष्ट्रियताको सवाललाई गम्भीरतापूर्वक उठाउनु आवश्यक हुन्छ । कम्युनिष्ट शक्तिहरूले राष्ट्रिय स्वाधीनताको प्रश्नलाई केन्द्रमा राखेर जनतालाई स्पष्ट दिशा दिनुपर्छ ।
धर्म र परम्पराबीचको भिन्नता बुझ्न नसक्नु पनि हाम्रो समाजको अर्को समस्या हो । नेपालमा कुलपूजा, देवाली वा परम्परागत संस्कारलाई धर्मसँग जोडेर हेर्ने गरिन्छ । वास्तवमा यी सांस्कृतिक परम्परा हुन् । धर्म भनेको मानवताको सेवा, पीडितलाई सहयोग, बिरामीको उपचार, शिक्षाको विस्तार र समाजको कल्याणसँग सम्बन्धित विषय हो । कुनै पनि हिंसा वा पशुबलिलाई धर्मको नाम दिनु गलत हो ।
समाजलाई सही बाटो देखाउने शक्तिलाई सहयोग गर्नु आजको आवश्यकता हो । समाजभित्रका कुसंस्कार हटाउनु र जनताको समस्या समाधान गर्नु नै राजनीतिक शक्तिको मुख्य दायित्व हुनुपर्छ। अहिले देशमा कम्युनिष्ट एकताको चर्चा भइरहेका बेला जनताले पनि प्रश्न उठाउनुपर्छ– कम्युनिष्टको वास्तविक मापदण्ड के हो? कम्युनिष्ट भन्नका लागि कम्तीमा अनुशासन, वर्गसंघर्षको सिद्धान्त र भौतिकवादी दृष्टिकोण आवश्यक हुन्छ।
देशभक्त हुनका लागि विदेशी शक्तिको दलाली नगर्ने, देशको स्वाधीनताको रक्षा गर्न तयार रहने र जनताको हितमा आवाज उठाउने साहस हुनुपर्छ । आज विदेशी हस्तक्षेप बढिरहेको अवस्थामा राष्ट्रिय शक्तिहरूबीच एकता अपरिहार्य बनेको छ। कम्युनिष्ट आन्दोलनको रक्षा र विकास संख्याले मात्र हुँदैन, गुणस्तरले हुन्छ । धेरैभन्दा थोरै भए पनि सिद्धान्तनिष्ठ र इमानदार कार्यकर्ता हुनु महत्वपूर्ण हुन्छ ।
नेपाल र नेपाली जनताको हितका लागि सही अर्थमा सिद्धान्तनिष्ठ, व्यवहारिक र जनमुखी कम्युनिष्ट आन्दोलनको आवश्यकता अझै समाप्त भएको छैन । तर त्यो आन्दोलन विचार र व्यवहारबीचको दूरी घटाएर मात्र सम्भव हुनेछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker