बन्दीपुरमा अन्तरविद्यालयस्तरीय हस्तलेखन तथा निबन्ध लेखन प्रतियोगिता

बन्दीपुर : तनहुँको बन्दीपुरमा अन्तरविद्यालय स्तरीय हस्तलेखन तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने तथा लेखन सीप र बौद्धिक क्षमताको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिताअन्तर्गत हस्तलेखन र निबन्ध लेखन विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ । दुवै विधातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमशः पाँच हजार, चार हजार, तीन हजार र एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
हस्तलेखन प्रतियोगितामा भानु माध्यमिक विद्यालयकी रितिका गुरुङ प्रथम, पवित्र माध्यमिक विद्यालयकी प्रियंशा गुरुङ द्वितीय, विष्णु माध्यमिक विद्यालयका विहान भण्डारी तृतीय तथा पद्मा आधारभूत विद्यालयकी प्रमिशा घर्ती सान्त्वना हुन सफल भएका छन् ।
त्यसैगरी, निबन्ध लेखन प्रतियोगितामा सेती गङ्गा आधारभूत विद्यालयकी सोफिया गुरुङ प्रथम, पवित्र माध्यमिक विद्यालयकी दृष्टि थापा द्वितीय, कालिका माध्यमिक विद्यालयका समीर थापा मगर तृतीय तथा जगदीश्वर आधारभूत विद्यालयकी खुशी भुजेल सान्त्वना घोषित भएका छन् ।
पुरस्कार वितरण तथा समापन समारोहमा स्थानीय शिक्षा शाखा प्रमुख, बन्दीपुर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने अतिथिहरूले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सृजनशीलता, अभिव्यक्ति क्षमता र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।









