पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार : दमौलीका घरधनीले मुआब्जा बुझेपनि संरचना हटाउन आनाकानी

दमौलीका ७४ वटा घरटहरा मध्ये ४९ वटा घरटहराका धनीले मुआब्जा बुझे, घरटहरा हटाउन नगरपालिकाको अनुरोध

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-पोखरा खण्डलाई विस्तार गर्ने कार्य भइरहेको छ। राजमार्गको आँवुखैरेनी-जामुने खण्डालाई पूर्वी र जामुने-पोखरालाई पश्चिम खण्ड गरी दुइ भागमा विभाजन गरी अहिले सडक विस्तार कार्यलाई तीब्रता दिइएको छ । राजमार्ग अन्तर्गत पर्ने बजार क्षेत्रमा चार लेनको सडक र दुइ लेनको सर्भिसलेन गरी छ लेनमा विस्तार गरिने र अन्यत्र चार लेनको सडक निर्माण गर्ने गरी डिजाइन गरी काम भइरहेको छ ।

राजमार्गको पूर्वी खण्डमा कामको प्रगति देखिएपनि पशिच्म खण्डले भने अपेक्षित प्रगति देखाउन सकेको छैन । पूर्वी खण्डमा सोमबारसम्म करिब ५६ प्रतिशत भौतिक प्रगति भएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)का प्रमुख श्याम कुमार यादवले जानकारी गराए। ‘यस खण्डमा सडक चौडा गर्ने, नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्भर्ट तथा साना ठूला पुल निर्माण कार्य पनि भइरहेका छन्’, प्रमुख यादवले भने, ‘यस खण्डमा हालसम्म १९ किलोमिटर सडक चार लेननै कालोपत्र गरिएको छ भने ८ किलोमिटर २ लेन कालोपत्र भइसकेको छ । यो कार्य दैनिक भइरहेको छ । समग्रमा भन्नुपर्दा हालसम्म करिव ४७ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।’

यस खण्डमा १४ वटा साना पुल निर्माण भइसकेका छन भने, ३ वटा ठूला पुल निर्माण कार्य भइरहेको छ भने मादी नदीको पुल निर्माण कार्यले पनि तीब्रता पाएको पूर्वी खण्डका योजना प्रमुख यादवले बताए ।

 यस्तै, सडक योजनाले सडक सीमा भित्र रहेका संरचनाहरुको मुआब्ज वितरण गरी सडक विस्तार कार्यलाई पनि तीब्रता दिंदै आएको छ । बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारमा केही बाहेक अधिकांश घर टहरा हटाएर दुबै तर्फनाला निर्माण तथा अन्य काम भइरहेको योजना प्रमुख यादवले बताए ।

उनले भने, ‘जिल्लाको सदरमुकाम दमौली बजारमा भने घर टहरा हटाउने कार्यमा ढिलाई हुँदा कामले गतिलिन सकेको छैन । व्यास नगरपालिकाको २ र ४ नम्बर वडाका ७४ घर टहरा हटाउनुपर्नेमा हालसम्म ४९ वटा घरधनीले मुआब्जा बुझेपनि केहीले बाहेक अन्यले घरटहरा हटाउन विलम्ब गर्दै आएका छन् भने २५ घरधनी भने मुआब्जा बुझ्ने प्रक्रियामै आएका छैनन् ।’

यस्तै, दमौली बजार क्षेत्रका घरटहरा हटाउन सम्बन्धित पक्षले आनाकानी गर्दा मुग्लिन-पोखरा सडक विस्तारमा समस्या भएपछि व्यास नगरपालिकाले घरटहरा हटाउन नगरपालिकाले पटक पटक अनुरोध गर्दै आएको छ । मुआब्जा बुझेकाले समेत घरटहरा हटाउन आनाकानी गर्दा धुलोले दमौली बजार क्षेत्रमा हिँडडुल गर्न समस्या भएको छ भने सडक विस्तारमा समेत विलम्ब हुँदै गएको छ ।

आँबुखैरेनीदेखि जामुने (पूर्वी खण्ड)सम्मको विस्तारमा व्यास नगरपालिका अन्तर्गत वडा नं २, ३ र ४ को पूर्वमा बुल्दीखोला र पश्चिममा मादी पुलसम्मको खण्डमा निर्माणले गति लिनसकेको छैन । वडा नं. ४ का २१ र वडा नं. २ का १९ घरधनीले मुआब्जा लिएर संरचना नहटाएका व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताएका छन् ।

‘वडा नम्बर ४ का २१ र वडा नम्बर २ का १९ घरधनीले सडक अधिकार क्षेत्र २५ मिटर दायाँबायाँ भत्किने घरको मुआब्जा बुझने तर भत्काउने कार्य नगर्नाले बजार क्षेत्र प्रदूषित बनेको छ’, नगरप्रमुख न्यौपानले भने, ‘कतिपयले मुआब्जाका लागि निवेदन प्रक्रियामा सहभागी हुन नआउने भनी जानकारी प्राप्त भएको छ । तत्काल घर भत्काउने कार्य गरी सहयोग नपुर्‍याउँदा विभिन्न समस्याहरु देखिएको छ ।’

घर भत्काउन ढिलाइले बजार क्षेत्रको बाटो विस्तार अवरुद्ध भएको, बाटो अवरुद्ध हुँदा सडक धुलाम्य र जीवनमा सास्ती भोग्नुपरेको न्यौपानेको भनाइ छ । सडक निर्माण कार्यको म्याद समाप्त भइसकेकाले थप भएको म्यादभित्र सडक निर्माण हुन नसकेमा आयोजनाको अवधि समाप्त भएपछि हाल प्राप्त क्षतिपूर्ति प्राप्त हुने अवस्थाको समय अन्त्य हुने जोखिम रहेको न्यौपानेले बताए।

सडक क्षेत्रका घरहरु नभत्काइ अलमल गरिरहनु दमौली बजार र घरधनी स्वयं आफ्नै हितमा समेत नहुने हुँदा तत्काल सात दिनभित्र घर भत्काइ सहयोग गर्न नगरवासीमा आग्रह गरिएको न्यौपानेले बताए । उनले भने, ‘घर भत्काउनेहरुले समेत नगरपालिकाबाट नक्सा स्वीकृत नगरी आफूखुसी सडक क्षेत्र २५ मिटरभित्र पुनः घर विस्तार गर्दा समेत क्षतिपूर्ति प्राप्त गर्ने अवस्थामा कटौती हुनेतर्फ सचेत रहन सबैमा अनुरोध गरेका छौ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker