एमाले गण्डकीको प्रतिबद्धता : सुरुङ मार्गदेखि पाँच हजार गरिबलाई प्राविधिक शिक्षा निःशुल्क (पूर्णपाठ)
भञ्ज्याङ न्यूज
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीले निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ‘सुशासन, समृद्धि र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ नारासहित एमाले गण्डकीले आइतबार आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
प्रतिवद्धता पत्रमा नेकपा एमाले गण्डकीले प्रदेशका मुख्य राजमार्ग र स्थानीय सडकको दूरी घटाउन सकिने खण्डमा छोटा दूरीका सुरुङ मार्ग निर्माण गरिने जनाएको छ । यस्तै कोराला र त्रिवेणी नाकालाई व्यवस्थित बनाउन ती नाकामा सहरीकरण गर्न एमाले सरकार बनेमा जोड दिइने प्रतिवद्धता उल्लेख छ ।
स्वास्थ्यतर्फ प्रदेशमा ५ सय शैय्याको गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल र मुटु, मृगौला, क्यान्सर उपचारका लागि ५०-५० शैय्याको विशिष्टिकृत अस्पताल बनाउने एमालेको घोषणा छ । नेपाल प्रहरीको प्रादेशिक अस्पताललाई ५० शैय्याको सुविधा सम्पन्न अस्पताल बनाइने पनि प्रतिवद्धता एमाले गण्डकीले लिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र तथा प्रादेशिक अस्पतालहरुमा एक-एक हजार डाक्टर, नर्स र जनस्वास्थ्य अधिकृत खटाएर नागरिकलाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिइने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
शिक्षातर्फगण्डकी विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान मार्फ सार्वजनिक विद्यालयमा कक्षा ९ बाट सीप विकास तालिम र करियर काउन्सिलिङ व्यवस्था गरिने पनि एमालेको दाबी छ ।
यस्तै प्रदेशका ५ हजार गरिब तथा असहाय, अल्पसंख्यक र पिछडिएका वर्गका विद्यार्थीलाई प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम दिएर रोजगारीमा जोड्ने एमाले गण्डकीको योजना छ । प्रादेशिक पुस्तकालयको रुपमा गण्डकी प्रदेश पुस्तकालय स्थापना गर्ने घोषणापत्रमा लेखिएको छ ।