असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार साँझ जारी मनसुन विशेष मौसम बुलेटिनअनुसार मौसममा आउने यस बदलाबले जनजीवन प्रभावित हुन सक्नेछ।

यस्तो छ मौसमी प्रणाली

उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भागमा पुगेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ (बलियो न्यूनचापीय क्षेत्र) मा परिणत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले यसको प्रभावस्वरूप बुधबारदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ।

महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यसैगरी, मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

विपद् प्राधिकरणको विशेष अनुरोध: राति यात्रा नगर्नुहोला

मौसम विभागको विशेष बुलेटिनलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सोमबार नै एक सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन सबै सरोकारवाला र आम नागरिकलाई अनुरोध गरेको छ।

भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले प्राधिकरणले केही पूर्वतयारी गर्न आग्रह गरेको छ ।

प्राधिकरणले उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलगायतले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ । जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न भनेको छ ।

प्राधिकरणले जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायले पूर्वसूचनाअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति र परिवारलाई विपद् आउनुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न भनेको छ ।

आकस्मिक बाढी आउन सक्ने खोला, खहरेका नजिकका बस्ती तथा पहिरोको जोखिमयुक्त स्थानका बासिन्दाहरू बढी चनाखो रहन पनि प्राधिकरणले सचेत गराएको छ ।

वर्षा र बाढीबारे जानकारी लिन ११४९, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीलाई १०० र सशस्त्र प्रहरी बललाई १११४ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

कृषि र पर्यटन क्षेत्रमा पनि प्रभाव पर्ने

सम्भावित वर्षाका कारण ठूला तथा साना नदीनालामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ।

हाल केही स्थानमा धानबाली भित्र्याउने मौसम रहेकोले सम्बन्धित कृषि विज्ञको सल्लाहमा मात्र कार्य गर्न अनुरोध गरिएको छ। साथै, उक्त मौसमी प्रणालीको प्रभावले देशको हिमाली भू–भागमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker