सात वर्षदेखि अलपत्र कालिमाटी–कुन्छा सडक : निर्माण अघि बढाउन स्थानीयको दबाब
नगर प्रमुखलाई भेटेर तत्काल काम सुरु गर्न माग, ठेक्का तोड्ने प्रक्रिया अघि बढेको दाबी

भानु : भानु नगरपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएको कालिमाटी–कुन्छा सडकखण्डको धुमाउने चौतारादेखि सिमलचौरसम्मको स्तरोन्नति कार्य सात वर्षदेखि अलपत्र परेपछि स्थानीयवासीले तत्काल निर्माण अघि बढाउन दबाब दिएका छन्। निर्माणमा भएको अस्वाभाविक ढिलाइका कारण स्थानीयले वर्षौंदेखि हिलो, धुलो, खाल्डाखुल्डी र जोखिमपूर्ण सडकबाट आवतजावत गर्न बाध्य भएको भन्दै उनीहरूले नगरपालिकासमक्ष निर्माण प्रक्रिया छिटो अघि बढाउन माग गरेका हुन्।
सडक निर्माणको विषयलाई लिएर भानु नगरपालिका–१० का वडाध्यक्ष हरिहर उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भानु नगर सभापति विष्णु पोख्रेल, स्थानीय अमर राना मगरलगायतको टोलीले नगर प्रमुख आनन्दराज त्रिपाठीलाई भेटेर तत्काल निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरेको हो। टोलीले सात वर्षदेखि सडक अलपत्र पर्दा स्थानीयवासी, विद्यार्थी, किसान, बिरामी तथा दैनिक यात्रु सबैभन्दा बढी प्रभावित भएको जनाएको छ।
स्थानीय समाजसेवी अमर राना मगरका अनुसार वर्षायाममा सडक हिलाम्मे र जोखिमपूर्ण बन्दा विद्यालय जाने विद्यार्थी, बिरामी बोकेका एम्बुलेन्स तथा कृषि उपज ढुवानी गर्ने सवारीसाधन सञ्चालन गर्नसमेत कठिन हुने गरेको छ। पटक–पटक निर्माण कार्य अघि बढाउने आश्वासन दिइए पनि व्यवहारमा कुनै उल्लेखनीय प्रगति नदेखिएको उहाँले बताउनुभयो।
“स्थानीयले वर्षौंदेखि सास्ती भोगिरहेका छन्। आश्वासन धेरै सुनियो, तर सडकको अवस्था झन् बिग्रँदै गएको छ,” उहाँले भन्नुभयो।

भेटका क्रममा नगर प्रमुख त्रिपाठीले निर्माण कम्पनी कश्यप निर्माण सेवाले सम्झौताअनुसार काम सम्पन्न नगरेको र पटक–पटक ढिलासुस्ती गरेको जानकारी दिँदै ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो। उहाँले कालिमाटी–कुन्छा सडकलाई नगरपालिकाको प्राथमिकताप्राप्त आयोजना भएको उल्लेख गर्दै कानुनी प्रक्रिया पूरा गरी निर्माण कार्य पुनः सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“यो सडक भानु नगरपालिकाको महत्वपूर्ण पूर्वाधार हो। निर्माणमा देखिएको समस्या समाधान गरी कामलाई छिट्टै अघि बढाउने तयारीमा छौँ,” नगर प्रमुख त्रिपाठीले भन्नुभयो।
स्थानीयले भने ठेकेदार कम्पनीले सम्झौताअनुसार काम गर्न नसकेको अवस्थामा कानुनबमोजिम कारबाही गरी ठेक्का तत्काल रद्द गर्नुपर्ने, निर्माण ढिलाइको वास्तविक कारण सार्वजनिक गर्नुपर्ने तथा जिम्मेवार निकायको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। साथै, निर्माण सम्पन्न हुने स्पष्ट कार्यतालिका सार्वजनिक गरी नियमित रूपमा प्रगति विवरण सार्वजनिक गर्न पनि उनीहरूले आग्रह गरेका छन्।
स्थानीयका अनुसार कालिमाटी–कुन्छा सडक भानु नगरपालिकाको महत्वपूर्ण ग्रामीण सडक हो। यस सडकले स्थानीय बस्तीलाई शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापारिक केन्द्रसँग जोड्ने भएकाले यसको स्तरोन्नति सम्पन्न भए स्थानीयको जनजीवनमा प्रत्यक्ष सुधार आउने अपेक्षा गरिएको छ। तर सात वर्षसम्म निर्माण अलपत्र पर्दा सडक प्रयोगकर्ताले दैनिक सास्ती भोग्नुका साथै विकास आयोजनाप्रति नागरिकको विश्वाससमेत कमजोर बन्दै गएको उनीहरूको भनाइ छ।
स्थानीयवासीले अब थप आश्वासनभन्दा पनि परिणाम देखिने गरी निर्माण कार्य अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले कानुनी प्रक्रिया छिटो टुङ्ग्याई निर्माण कम्पनीको टुंगो लगाएर सडक स्तरोन्नतिको काम तत्काल सुरु गर्न नगरपालिकासँग माग गरेका छन्।










