पोखरामा सम्पन्न मुख्यमन्त्री कप विजेतालाई जिल्लामा सम्मान

- भञ्ज्याङ समाचारदाता (दमौली)
पोखरामा सम्पन्न मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय भएको तनहुँको टोलीलाई गृह जिल्लामा आइतबार स्वागतसहित बजार परिक्रमा गराइएको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न खेलमा पुरुषतर्फप्रथम र महिलातर्फतृतीय भएको टोलीलाई जिल्ला भलिबल संघ तनहुँले दमौलीमा स्वागत एवं सम्मान गर्दै बजार परिक्रमा गराएको हो । पञ्चेबाजासहित दमौलीस्थित अनसनचोक, सफासडक, गणेशमानचोक, मालपोत लाइनमा खेलाडीलाई परिक्रमा गराइएको थियो ।
खेलाडीलाई सम्मान व्यक्त गर्दै जिल्ला खेलकूद विकास समिति तनहुँका निवर्तमान अध्यक्ष ऋषिराम भुसालले मुख्यमन्त्री कप भलिबल प्रतियोगिता जितेर खेलाडीले तनहुँको मान र सम्मान बढाएको बताए । जहिले पनि कास्की र स्याङ्जाको दबदबा रहने भलिबलको इतिहास यसपटक तनहुँले तोडेको बताउँदै भुसालले यो इतिहास रच्ने सफलता सदैव मिलोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।
जिल्ला भलिबल संघका अध्यक्ष पदम सुनार र सचिव अशोक गिरीले खेलाडीको उत्कृष्ट प्रदर्शनले सफलता हासिल भएको भन्दै खेलाडीलाई बधाई ज्ञापन गरे । पुरुषतर्फप्रतिस्पर्धात्मक खेलमा तनहुँ जिल्लाले स्याङ्जालाई ३-२ को सेटमा हराउँदै उपाधिसहित रु दुइ लाख पुरस्कार प्राप्त गरेको थियो ।
महिलातर्फ तनहुँले कास्कीलाई ३-१ को सेटमा हराउँदै तृतीय भएको थियो । तृतीय हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गरेको छ । पुरुषतर्फ तनहुँका मिलनचन्द ठकुरीले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरेका थिए । महिलातर्फ उत्कृष्ट स्पाइकर तनहुँका उषा भण्डारी, पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा तनहुँका अशोक श्रेष्ठ, सेटरमा तनहुँका विवस आले र प्रशिक्षकमा तनहुँका पदम सुनार घोषित भई जनही रु पाँच हजारका दरले पुरस्कार प्राप्त गरेका थिए ।










