आगलागि र चोरी पीडित व्यवसायीलाई आर्थिक सहयोग

- भञ्ज्याङ समाचारदाता (दमौली)
क्षेत्रीय होटल संघ तनहुँले आगलागि पीडित र चोरी भएका आफ्ना होटल ब्यबसायीलाई आर्थिक सहयोग गरेको छ । संघले भिमाद नगरपालिका-५ स्थित वानटाङ खोला नजिकै रामबहादुर लम्सालले सञ्चालन गरेको लम्साल खाजा घरमा केही दिन अगाडि आगलागि भइ कटेज, टेवल, कुर्सी लगायतका सामाग्रि जलि क्षति भएको थियो । संघले ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
आफ्नो ब्यबसायीलाई समस्या पर्दा संघले सहयोग गर्ने उद्देश्य अनुसार सहयोग गरेको संघका अध्यक्ष राम जोशिले बताए । ब्यबसाय सञ्चालनको क्रममा कसैलाई केही अप्ठ्यारो पर्न गएमा संघले सहयोग गर्दै आएको संघका बरिष्ठ उपाध्यक्ष विकास खनालले बताए ।
संघले भिमादका होटल सञ्चालक लम्साललाई नगद ३५ हजार रुपैयाँ र म्याग्दे-१ गुणादी स्थित चोरी भएको हाइवे रेष्ट पोइन्टका कृष्ण खनाललाई ५ हजार रुपैयाँ सहयोग गरेको संघका महासचिव चन्द्रकुमार कायस्थले बताए । खनालको होटलमा केही दिन अगाडि रातको समयमा ढोका फोरि विभिन्न सामानहरू चोरी भएको बताइएको छ । सहयोग कार्यक्रममा भिमाद बजार इकाइका सभापती अनिल श्रेष्ठ, क्षेत्रीय होटल संघका सचिव चिजकुमार श्रेष्ठ, जिल्ला सदस्य बसन्त गैह्रे, भिमाद बजार इकाईका सचिव गणेश थापा, दमौली इकाईका सदस्य गणेश खत्री लगायतले पीडितलाई सानो सहयोगले पनि राहत पुग्ने बताएका थिए ।
संघले आफ्नो समस्यालाई बुझि सहयोग गर्न होटलमै आएकोमा पीडित लम्साल र खनालले खुसि ब्यक्त गरे । संघले यस अगाडि पनि ब्यबसायीहरूलाई समस्या पर्दा विभिन्न किसिमका सहयोग र साथ दिँदै आएको र भोलीका दिनमा पनि गर्दै जाने संघका अध्यक्ष राम जोशिले बताए।










