१०३ वर्षीय वृद्धले लगाए कोभिड-१९ विरुद्धको खोप

भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

तनहुँको शुक्लागण्डकी नगरपालिका-७, शेराटारका १०३ बर्षका खम्बासिं गुरुङ खोप लगाउन स्वास्थ्य चौकी आए । अझै पनि राम्ररी कान सुन्ने, फुर्ति साथ बोल्ने गुरुङ खोप लगाउन निकै उत्साहित थिए । उनलाई आउन र जान वडाले गाडीको व्यवस्था गरेको थियो । खोप लगाएपछि गुरुङले खुसी व्यक्त गरे । उनले भने, ‘सरकारले यति छिट्टै खोप दियो, हामी खुसी छौं, पहिला खबटे, भिरिङ्गी र हैजा जस्तो महामारी आउँथ्यो, अहिले त संसारभरी कोइराला कि, कोरोला भाइरस भन्ने विमार आको छ भन्छ, त्यहि भएर खोप लगाउन आको ।’

उनले खोप लगाउँदाको दुखाइ कमिलाले टोके जस्तो भएको सुनाउँदै खोप लगाएपछि कोरोना नलाग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘दिन आए लैजान्छ, दिन आछैन भने कसैले केही गर्दैन, ज्योतिषले १०५ बर्षमा मलाई ठुलो खट्को छ भनेको छ, अहिलेलाई खोप लगाएँ, अब कोरोना विमार नलाग्ला, अब बचियो भनम न ।’

खोप लगाएर आराम गरिरहेकी घान्द्रुक घर भई हाल शुक्लागण्डकी-७ बस्दै आएकी ७२ बर्षीया तारादेवी गुरुङले खोप लगाएपछि ढुक्क भएको बताइन् । उनले भनिन्, ‘अरुलाई भन्दा बुढाबुढीलाई कोरोना सजिलै लाग्छ रे भनेर रेडियो र टिभीमा भन्थ्यो, कोरोना पनि लाग्यो होला, आफ्नो रोगहरु थियो होला, कोरोनाले मर्‍यो भनेर छुनै नदिने रे, आफ्नो मान्छेलाई अस्पतालभित्र छिर्नै नदिने रे, कोरोनाले मर्‍यो रे, बोरामा हालेर फालेछ रे, भन्दा डर लागेको थियो नि, अहिले खोप लगाएपछि ढुक्क छु । खोपले काम गर्छ भन्ने विश्वास गरेरै आको हो ।’

वडाको शान्ति नगरस्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट ५३ बर्षअघि जर्मनीबाट नेपाल आएकी युटा वेयपले पनि खोप लगाइन् । उनले भनिन्, ‘कोरोना फैलिएपछि आइसोलेटेड भएर घरमै बसेको सुनाइन् । हामी कतै बाहिर निस्केनौँ, आइसोलेटेड भएर घरमै बस्यौँ, अरु कन्ट्रीमा जस्तो नेपालमा धेरै एफेक्ट परेन, अब त खोप लगायौ, झनै ढुक्क भयौँ।’

खोप लगाउन आउने ज्येष्ठ नागरिकहरुको उपस्थिति उत्साहजनक नै रहेको वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले बताए । उनले भने, ‘आउन नसक्ने, समस्या भएकाहरुलाई निःशुल्क रुपमा गाडीको व्यवस्था गरेर ल्याउने र पुर्‍याउने गरिएको सुनाए । कसैले बुढेसकालमा पनि के खोप लगाउने भनेर परिवारबाटै भ्रममा पारेको पनि देखियो, नत्र घरमै पुगेर होस् वा फोनबाट, सम्झाउने बुझाउने गरियो, धेरैले खोप पनि लगाउनुभएको छ । अहिलेसम्म गाह्रो भयो भनेर कहिकतैबाट खबर आएको छैन ।’ दोस्रो चरणको खोप अभियानको अन्तिमदिन सोमबार वडा नं. ७ मा ५० जना ज्येष्ठ नागरिकले खोप लगाएको वडाध्यक्ष थापाले जानकारी दिए ।

सरकारले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप अभियान संचालन गरिरहेको छ । पहिलो चरणमा प|mण्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नीजामती कर्मचारी, जनप्रतिनिधि, पत्रकारहरुलाई खोप दिइयो । दोश्रो चरणमा कोरोना संक्रमणको उच्च जोखिममा रहेका ६५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुका लागि संचालन गरिएको खोप अभियान सोमबारदेखि सकिएको छ ।

दोस्रो चरणको खोप अभियान अन्तर्गत चारदिनको अवधिमा शुक्लागण्डकी नगरपालिकामा २ हजार ७३२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । करिब ४ हजार जनाले खोप लगाउने अनुमान गरिएपनि १ हजार ४६१ महिला र १ हजार २३२ पुरुषले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।

यस्तै, जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तनहुँमा १७ हजार १३ जनालाई कोरोना विरुद्धको कोभिडसिल्ड खोपको पहिलो मात्र लगाइएको छ । कार्यालयले पहिलो चरण अन्तरगत फागुन २३ देखि २७ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा ९ हजार २६७ जनालाई खोप लगाएको थियो भने फागुन २८ देखि चैत्र २ गतेसम्म सञ्चालन गरेको दोश्रो चरणको खोप अभियानमा ७ हजार ७४६ जनालाई खोप लगाइएको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker