देवघाट ‘पूर्ण खोप सुनिश्चित गाउँपालिका’ घोषणा

देवघाट : तनहुँको देवघाट गाउँपालिकालाई पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि ‘पूर्ण खोप सुनिश्चित गाउँपालिका’ घोषणा गरिएको छ। गाउँपालिकाको आयोजनामा सम्पन्न पूर्ण खोप दिगोपना सुनिश्चितता कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले औपचारिक रूपमा घोषणा गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थापाले पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा हुनु गौरवको विषय भए पनि यसको निरन्तरता अझ महत्वपूर्ण रहेको बताए । ‘पूर्ण खोप घोषणा गर्नु गर्वको विषय हो, तर यसलाई निरन्तरता दिनु अझ ठूलो चुनौती हो’, उनले भने, ‘अब देवघाटका कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण बनाउन सबैको साझा प्रयास आवश्यक छ ।’
उनले खोप अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिकाको प्रशंसा गर्दै स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्वास्थ्य शाखाका प्रतिनिधि, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सो अवसरमा खोप सेवाबाट छुटेका बालबालिकाको खोजी, खोपसम्बन्धी तथ्याङ्क अद्यावधिक, नियमित अनुगमन तथा दिगोपनाका लागि गरिएका प्रयासबारे प्रस्तुतीकरण गरिएको थियो ।
स्वास्थ्य शाखाका अनुसार पूर्ण खोप सुनिश्चितताको घोषणापछि पनि नियमित अनुगमन, अभिलेख व्यवस्थापन तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ। गर्भवती महिलाको समयमै दर्ता, नियमित खोप सेवा प्रवाह तथा खोप छुट भएका बालबालिकाको पहिचानलाई विशेष प्राथमिकतामा राखिने जनाइएको छ ।
पूर्ण खोप सुनिश्चितताले बालमृत्युदर न्यूनीकरण, बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न तथा स्वस्थ र समृद्ध समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।










