स्थलमार्गबाट नेपाल आउने पर्यटकका लागि सरकारले जारी गर्यो आचारसंहिता

पोखरा । पोखरा लगायतका क्षेत्रमा भारतीय पर्यटकको अत्यधिक आवागमनसँगै गुनासो समेत बढेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि आइतबार नयाँ आचारसंहिता सार्वजनिक गरेको छ । निजी गाडीबाट नेपाल प्रवेश गरेका भारतीय पर्यटकमध्ये केहीले सरफाइमा ख्याल नगरेको, खुला ठाउँमा आफै खाना बनाउँदा वरपरको वातावरणलाई ख्याल नगरेको लगायत गुनासो बढेको थियो ।
सरकारले धार्मिक र सांस्कृतिक मर्यादामा पनि विशेष ध्यान दिन आग्रह गरेको छ । पशुपतिनाथ, लुम्बिनी, जानकीधाम र मुक्तिनाथ जस्ता तीर्थस्थललाई सफा राख्न पर्यटकलाई आग्रह गरिएको छ । निर्देशिकाका अनुसार पुराना कपडा र फोहोर जथाभाबी फाल्नेलाई कारबाही गरिनेछ । मन्दिरमा प्रवेश गर्दा जुत्ताचप्पल खोल्नुपर्ने र भड्किलो लुगा लगाउन नपाइने नियम लगाइएको छ । शिष्ट भाषाको प्रयोग गर्न र स्थानीय संस्कृतिको सम्मान गर्न भनिएको छ । नेपालमा गाँजा अवैध भएकाले यसको प्रयोग नगर्न र मदिरा सेवनमा पनि संयमता अपनाउन निर्देशन दिइएको छ । आफैँले खाना पकाउने पर्यटकले होटल वा सम्बन्धित अधिकारीसँग अनुमति लिनुपर्नेछ ।
मन्त्री खडकराज पौडेलले समेत उक्त सूचना सामाजिक सञ्जालमार्फत् उक्त जानकारी सेयर गरेका छन् । पर्यटकको यात्रालाई सुरक्षित, मर्यादित र स्मरणीय बनाउन यस्तो निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ । पर्यटकले नेपाल प्रवेश गर्दा भन्सार विभागबाट अनलाइन वा भौतिक रुपमा प्रवेश अनुमति पत्र लिनुपर्नेछ । सुरक्षा जाँचका क्रममा गाडी र झोलाको विस्तृत परीक्षण गराइनेछ । भारतीय नागरिकको हकमा भिसा नचाहिए पनि राहदानी वा मतदाता परिचयपत्र अनिवार्य उपलब्ध गराउनुपर्ने नियम छ ।
गाडी र चालकको हकमा पनि सरकारले विशेष कडाइ गरेको छ । नेपालका पहाडी बाटोहरु घुमाउरो र साँघुरो हुने भएकाले गाडी पूर्ण रुपमा दुरुस्त हुनुपर्नेछ । भारतीय गाडीका चालकले नेपालको भौगोलिक अवस्था र मौसमबारे राम्रो जानकारी राखेको हुनुपर्नेछ । गाडीमा रहेका यात्रुको नाम, उमेर, लिङ्ग, नेपाल बस्ने अवधि र भ्रमण गर्ने ठाउँको विवरण भन्सार अधिकारीलाई बुझाउनुपर्नेछ । पर्यटकले आफूसँग भएका सुन, चाँदी र बहुमूल्य गहनाको घोषणा गर्नुपर्नेछ । यसो नगरे पछि झमेला हुन सक्ने चेतावनी दिइएको छ ।
आर्थिक कारोबारका विषयमा भारतीय पर्यटकले ५ हजार अमेरिकी डलर बराबरको भारतीय रुपैयाँ मात्र नगद बोक्न पाउनेछन् । यद्यपि डेबिट वा क्रेडिट कार्डको प्रयोगमा भने कुनै सीमा तोकिएको छैन । पर्यटकीय क्षेत्रमा कार्डबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । स्वास्थ्यको दृष्टिकोणले सहरमा अस्पताल भए पनि दुर्गममा प्राथमिक उपचारको बाकस र नियमित औषधि साथमै राख्न सुझाइएको छ । ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ जस्ता ठाउँमा लेक लाग्ने जोखिम हुने भएकाले अक्सिजनको व्यवस्था गर्न समेत भनिएको छ ।
पदयात्रा र पर्वतारोहणका लागि दर्ता भएका गाइड अनिवार्य गरिएको छ । यसका लागि आवश्यक प्रक्रिया र अनुमति पत्र पनि साथमै हुनुपर्नेछ । उच्च हिमाली क्षेत्रमा गर्मी मौसममा पनि जाडो हुने भएकाले बाक्लो लुगा बोक्न भनिएको छ । असुरक्षित महसुस भएमा वा आपतकालीन अवस्थामा पर्यटक प्रहरीको हटलाइन नम्बर ११४४ मा सम्पर्क गर्न सकिनेछ । यस्तै नेपाल पर्यटन बोर्डको पोखरा कार्यालयको नम्बर ०६१–४५५२९२ मा पनि फोन गर्न सकिनेछ । सुरक्षा अधिकारी वा टुर अपरेटरसँग समन्वय गरेर मात्र अघि बढ्न सरकारले सबै सरोकारवालालाई आग्रह गरेको छ ।










