पितृघाट (पत्थरघाट) : धार्मिक, ऐतिहासिक र भाषिक महत्व
देव वस्न्यात

तनहुँ जिल्लाको व्यास नगरपालिका–६ अन्तर्गत पर्ने पितृघाट, हाल प्रचलित नाम æपत्थरघाटÆ, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण तीर्थस्थल मानिन्छ । लमादी खोला र मादी नदीको संगमस्थलमा अवस्थित यस घाटमा विशेषगरी पुरुषोत्तम महिना, सोमवारे औँसी, कुशे औँसी तथा पितृसम्बन्धी पर्वहरूमा स्नान, तर्पण र श्राद्ध गर्ने परम्परा रहिआएको छ ।
धार्मिक मान्यताअनुसार पुरुषोत्तम महिनाको अन्तिम दिन तथा सोमवारे औँसीका अवसरमा यहाँ स्नान गरी पितृहरूको नाममा तर्पण र तीर्थश्राद्ध गरेमा व्यक्तिका पाप नाश हुने र सात पुस्तासम्मका पितृहरूले मोक्ष प्राप्त गरी शिवधाम पुग्ने विश्वास रहेको छ । यही आस्थाका कारण यहाँ वर्षेनी विभिन्न स्थानबाट श्रद्धालुहरू आउने गर्दछन्।
पत्थरघाटको वारीपारी श्याम्घाली र पात्थ्रा निवासी न्यौपानेहरुको कुल देवता मन्दिर रहेको छ । यहाँ बोटेहरुको बाजे बजै पूजास्थल, कुलायन पूजास्थल र गङ्गा दशहरामा मादी नदीको पूजाआजा गर्दछन् ।
संगमस्थलको विशेषता
पितृघाट व्यास–६ सपनकोट क्षेत्रबाट बग्ने लमादी खोला र अन्नपूर्ण हिमश्रृंखलाअन्तर्गत पर्ने पेरी -पितृ) हिमालबाट उद्गम भएको मादी नदीको संगमस्थलमा अवस्थित छ। मादी नदी शिशाघाट उपत्यका हुँदै दमौली पुगेर अन्ततः सेती नदीमा मिसिने गर्दछ। शिशाघाट उपत्यकाभित्र पितृघाट र शेषघाट जस्ता धार्मिक महत्वका घाटहरू रहेका छन् ।
स्थानीय जनविश्वास अनुसार महाभारतमा वर्णित द्वैतवनको अवशेष पनि यस क्षेत्रको वरिपरि रहेको मान्यता पाइन्छ, जसले यस क्षेत्रको पौराणिक महत्वलाई थप बल प्रदान गरेको छ ।

नामको उत्पत्ति
स्थानीय इतिहास र भाषिक अध्ययनका आधारमा हालको ‘पत्थरघाट’ नाम मूलतः ‘पितृघाट’ बाट अपभ्रंश भएको हुन सक्ने विश्वास गरिन्छ । समयक्रममा पितृघाट शब्द पित्तरघाट, पत्तरघाट हुँदै पत्थरघाटमा रूपान्तरित भएको हुन सक्ने स्थानीय बौद्धिक वर्गको तर्क छ ।
नेपाली तथा किराँत भाषाहरूमा उच्चारणका क्रममा वर्णहरूको परिवर्तन हुने भाषिक विशेषता पाइन्छ। यही प्रक्रियाले पितृघाट शब्दको स्वरूप परिवर्तन हुँदै आजको पत्थरघाट बनेको हुन सक्ने अनुमान गरिन्छ ।
अर्कोतर्फ, व्यास–६ स्थित लमादी खोला र मादी नदीको दोभानमा रहेको ठूलो ढुङ्गासँग पनि यस नामलाई जोडेर हेर्ने गरिन्छ। स्थानीय दरै र बोटे समुदायको मातृभाषामा ढुङ्गालाई ‘पाथर’ भन्ने गरिन्छ । यही ‘पाथर’ शब्दबाट ‘पाथरघाट’ र पछि ‘पत्थरघाट’ नाम विकसित भएको हुन सक्ने अर्को मत पनि प्रचलित छ ।
संरक्षणको आवश्यकता
धार्मिक आस्था, पौराणिक महत्व र स्थानीय इतिहास बोकेको पितृघाट क्षेत्र उचित संरक्षण र प्रवद्र्धनको अभावमा ओझेलमा पर्दै गएको छ। धार्मिक पर्यटनको सम्भावना बोकेको यस स्थलको ऐतिहासिक अध्ययन, पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न सके तनहुँको महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित हुन सक्ने देखिन्छ ।
पितृहरूको उद्धार हुने पावन भूमि र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस संगमस्थलले तनहुँको धार्मिक तथा सांस्कृतिक पहिचानलाई अझ समृद्ध बनाएको छ ।










