पितृघाट (पत्थरघाट) : धार्मिक, ऐतिहासिक र भाषिक महत्व

देव वस्न्यात

तनहुँ जिल्लाको व्यास नगरपालिका–६ अन्तर्गत पर्ने पितृघाट, हाल प्रचलित नाम æपत्थरघाटÆ, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण तीर्थस्थल मानिन्छ । लमादी खोला र मादी नदीको संगमस्थलमा अवस्थित यस घाटमा विशेषगरी पुरुषोत्तम महिना, सोमवारे औँसी, कुशे औँसी तथा पितृसम्बन्धी पर्वहरूमा स्नान, तर्पण र श्राद्ध गर्ने परम्परा रहिआएको छ ।
धार्मिक मान्यताअनुसार पुरुषोत्तम महिनाको अन्तिम दिन तथा सोमवारे औँसीका अवसरमा यहाँ स्नान गरी पितृहरूको नाममा तर्पण र तीर्थश्राद्ध गरेमा व्यक्तिका पाप नाश हुने र सात पुस्तासम्मका पितृहरूले मोक्ष प्राप्त गरी शिवधाम पुग्ने विश्वास रहेको छ । यही आस्थाका कारण यहाँ वर्षेनी विभिन्न स्थानबाट श्रद्धालुहरू आउने गर्दछन्।
पत्थरघाटको वारीपारी श्याम्घाली र पात्थ्रा निवासी न्यौपानेहरुको कुल देवता मन्दिर रहेको छ । यहाँ बोटेहरुको बाजे बजै पूजास्थल, कुलायन पूजास्थल र गङ्गा दशहरामा मादी नदीको पूजाआजा गर्दछन् ।

संगमस्थलको विशेषता

पितृघाट व्यास–६ सपनकोट क्षेत्रबाट बग्ने लमादी खोला र अन्नपूर्ण हिमश्रृंखलाअन्तर्गत पर्ने पेरी -पितृ) हिमालबाट उद्गम भएको मादी नदीको संगमस्थलमा अवस्थित छ। मादी नदी शिशाघाट उपत्यका हुँदै दमौली पुगेर अन्ततः सेती नदीमा मिसिने गर्दछ। शिशाघाट उपत्यकाभित्र पितृघाट र शेषघाट जस्ता धार्मिक महत्वका घाटहरू रहेका छन् ।
स्थानीय जनविश्वास अनुसार महाभारतमा वर्णित द्वैतवनको अवशेष पनि यस क्षेत्रको वरिपरि रहेको मान्यता पाइन्छ, जसले यस क्षेत्रको पौराणिक महत्वलाई थप बल प्रदान गरेको छ ।

नामको उत्पत्ति

स्थानीय इतिहास र भाषिक अध्ययनका आधारमा हालको ‘पत्थरघाट’ नाम मूलतः ‘पितृघाट’ बाट अपभ्रंश भएको हुन सक्ने विश्वास गरिन्छ । समयक्रममा पितृघाट शब्द पित्तरघाट, पत्तरघाट हुँदै पत्थरघाटमा रूपान्तरित भएको हुन सक्ने स्थानीय बौद्धिक वर्गको तर्क छ ।
नेपाली तथा किराँत भाषाहरूमा उच्चारणका क्रममा वर्णहरूको परिवर्तन हुने भाषिक विशेषता पाइन्छ। यही प्रक्रियाले पितृघाट शब्दको स्वरूप परिवर्तन हुँदै आजको पत्थरघाट बनेको हुन सक्ने अनुमान गरिन्छ ।
अर्कोतर्फ, व्यास–६ स्थित लमादी खोला र मादी नदीको दोभानमा रहेको ठूलो ढुङ्गासँग पनि यस नामलाई जोडेर हेर्ने गरिन्छ। स्थानीय दरै र बोटे समुदायको मातृभाषामा ढुङ्गालाई ‘पाथर’ भन्ने गरिन्छ । यही ‘पाथर’ शब्दबाट ‘पाथरघाट’ र पछि ‘पत्थरघाट’ नाम विकसित भएको हुन सक्ने अर्को मत पनि प्रचलित छ ।

संरक्षणको आवश्यकता

धार्मिक आस्था, पौराणिक महत्व र स्थानीय इतिहास बोकेको पितृघाट क्षेत्र उचित संरक्षण र प्रवद्र्धनको अभावमा ओझेलमा पर्दै गएको छ। धार्मिक पर्यटनको सम्भावना बोकेको यस स्थलको ऐतिहासिक अध्ययन, पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न सके तनहुँको महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित हुन सक्ने देखिन्छ ।
पितृहरूको उद्धार हुने पावन भूमि र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस संगमस्थलले तनहुँको धार्मिक तथा सांस्कृतिक पहिचानलाई अझ समृद्ध बनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker