तनहुँको व्यास नगरपालिकाले योजनाको म्याद थप गर्ने
भञ्ज्याङ समाचारदाता (दमौली)

व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न योजनाको म्याद थप गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्र सम्झौता भई सञ्चालन भइरहेका योजनाको अन्तिम पटकका लागि म्याद थप गर्ने निर्णय भएको हो । त्यस्ता योजनाको म्याद आगामी जेठ १५ गतेसम्म थप गर्ने निर्णय गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
मंगलबार बसेको कार्यपालिकाको बैठकले विभिन्न नियमावली पारित एवं संशोधन गर्ने निर्णय पनि गरेको छ । नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७८, व्यास नगरपालिका आय ठेक्का बन्दोबस्त गर्नेसम्बन्धी नियमावली २०७८, व्यास नगरपालिका स्लेट उत्खनन् तथा कटिङ उद्योग सञ्चालन कार्यविधि २०७७, व्यास नगरपालिका निर्माण व्यवसायी इजाजत पत्र नियमित गर्ने कार्यविधि २०७७ पारित गरिएको छ ।
व्यास नगरपालिका कार्यालय संगठन, संरचना एवं व्यवस्थापन २०७६ लाई संशोधन प्रस्ताव पेश गर्न प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । त्यस्तै आगामी ३५ औं नगरसभा २०७८ असार १० गते बस्ने गरी नगरसभाको आहृवान गरी वडा र नगरस्तरीय योजना छनोटको कार्यतालिका पारित गरिएको छ ।
बैठकले विद्यमान कोभिड-१९ को प्रभाव र असरलाई अध्ययन गर्दा पुनः एक पटक सम्पूर्ण नगरवासीहरुमा सतर्कता अपनाउन अनुरोध गरेको छ । स्थानीय वाणिज्य संघ, विद्यालयका प्रधानाध्यापक, सुरक्षा एवं स्वास्थ्य संस्था, सञ्चारकर्मी, उपभोक्ता लगायत विभिन्न संघसंस्थाको परामर्शमा आवश्यक निर्णय लिने निर्णय बैठकले गरेको छ ।
नगर विकास समितिमा नियुक्त
तनहुँ उद्योग वाणिज्य सङ्घका निवर्तमान प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र व्यास नगर विकास समितिको सदस्यमा नियुक्त गरिएको छ । नगरपालिकाले नगर विकास समितिको रिक्त रहेको सदस्य पदमा मिश्रलाई मनोनीत गरेको हो । नगर विकास समितिको अध्यक्ष व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने रहने व्यवस्था छ ।