आँवुखैरेनी बजारको फुटपाथ खाली गराउँदै गाउँपालिका
भञ्ज्याङ न्यूज

तनहुँको आँवुखैरेनी बजार क्षेत्रको मुख्य सडकको दायाँबायाँ रहेका फुटपाथ खाली गराइने भएको छ । आँबुखैरेनी गाउँपालिकाले बजार व्यवस्थित गर्न बजारको मुख्य सडक दायाँबायाँको फुटपाथ खाली गराउनका लागि रेखाङ्कन गर्ने कार्य सुरु गरेको छ ।
गाउँपालिकाले सोमबारदेखि सडकको (दायाँ-बायाँ) नाला बाहेक तीन मिटर भित्र पैदल मार्ग निर्माण गर्ने गरी फुटपाथ खाली गराउनका लागि रेखाङ्कन गर्ने कार्य सुरु गरेको गाउँपालिकाले जनाएको छ।
पैदल मार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी चोकदेखि पालिकाको कार्यालयसम्म र आँबुखैरेनी चोकदेखि तल्लो बजारसम्म सडकको नाला बाहेक ३ मिटर भित्र पर्ने संरचना हटाउन, निर्माण कार्य बन्द गर्न, ठेला गाडा हटाउन लगायत अन्य संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । ३५ दिने सूचना सकिए लगतै सो क्षेत्रमा पर्ने सडकमा पैदल मार्ग निर्माण गरी बजार व्यवस्थित गर्न रेखाङ्कन गरिएको छ ।
बजार क्षेत्रलाई व्यवस्थित गर्न, सडक दुर्घटना न्यूनिकरण गर्न, बजार क्षेत्रलाई सफा तथा सडक बत्ती र सिसि क्यामेरा जडान गरी सुरक्षित गराउन, सडकको दायाँ बायाँ फुल सहितको गमला राखी सुन्दर र आकषिर्त बनाउन पैंदल मार्ग निर्माणको तयारी सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
पालिका अध्यक्ष चुमानले सडकको तीन मिटर क्षेत्रमा पर्ने विभिन्न स्थायी तथा अस्थायी संरचनालाई यथाशीघ्र हटाइ पैदल मार्ग निर्माण कार्यमा सहयोग गर्न स्थानीय व्यापारीहरुलाई आग्रह गरेका छन् ।










