तनहुँका शैक्षिक संस्थामा भौतिक रुपमा उपस्थित भई गरिने पठनपाठन बन्द
भञ्ज्याङ समाचारदाता/दमौली

कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिम बढ्दै गएपछि तनहुँका १० वटै स्थानीय तहले सबै शैक्षिक संस्थाहरुको भौतिक कक्षा बन्द गर्ने तयारी गरेका छन् । जिल्लाका सबै पालिकाहरुले विद्यालयमा विद्यार्थीहरु उपस्थित गराइ पठनपाठन नगर्न र बैकल्पिक वा भर्चुवल माध्यमबाट सिकाईलाई निरन्तरता दिने गतिविधलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । जिल्लाको व्यास नगरपालिकाले बुधबारबाट नगर क्षेत्रका शैक्षिक संस्थामा भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले देशैभर संक्रमण बढेको भन्दै भौतिक कक्षा रोक्ने निर्णय गरेको हो ।
बैठकले भर्चुअल तथा अन्य वैकल्पिक कक्षा चलाउन नगरपालिकाले भनेको छ । यसै आधारमा नगरका विद्यालयमा पत्राचार गरिएको नगर शिक्षा प्रमुख नगेन्द्र रेग्मीले जानकारी दिए । यस्तै, विद्यालयको अन्तिम परीक्षाका हकमा भने स्वास्थ्य मापदण्ड पालना गरी वैशाख २१ गतेबाट सञ्चालन गर्न नगरपालिकाले निर्देशन जारी गरेको रेग्मीले बताए ।
त्यस्तै, भानु नगरपालिको मंगलबार बसेको कार्यपालिका बैठकले कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर राख्दै वैशाख २१ गतेसम्म एक नगर भित्रका सबै विद्यालय तथा शिक्षण संस्थाहरूमा भौतिक उपस्थितिका साथ हुने पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले यस अबधिमा सम्भव भएसम्म विद्यालयहरूले भर्चुअल वा अन्य बैकल्पिक माध्यमबाट पठनपाठन गराउने, वार्षिक परीक्षाको तयारी गर्ने र सबै अभिभावकहरूलाई पनि आ-आफ्ना बाबुनानीहरूलाई घरमै सुरक्षित रूपमा राखी परीक्षाको तयारीमा सहजीकरण गर्न अनुरोध गरेको छ । बैशाख २१ गते पश्चात् वातावरण अनुकुल भएमा नगरपालिका स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को वार्षीक परीक्षा वैशाख २३ गतेबाट सञ्चालन गर्ने तयारी गरेको छ ।
यता आँवुखैरेनी गाउँपालिकाले पनि भौतिक उपस्थितिका सबै पठनपाठन बन्द गरी भर्चुवल र वैकल्पिक माध्यमबाट हुने पठनपाठनलाई यथावत राख्न आग्रह गरेको छ । गाउँपालिकाले स्वास्थ्य मापदण्ड पुरा गरी शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षाको आन्तरिक तयारी गर्न र विद्यालयमा भौतिक रुपमा उपस्थित भई संचालन हुने परीक्षा लगायत अन्य शैक्षिक गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी गराए ।
यस्तै, भिमाद नगरपालिकाले पनि भौतिक रुपमा विद्यार्थी सहभागि गराइ गरिन पठनपाठनलाई बन्द गर्ने तयारी गरेको छ । कोभिड-१९ संक्रमण जोखिम बढ्दै गएको र यस शैक्षिक सत्रको पढाइ पनि अन्तिम अवस्थामा पुगेको हुँदा अब अन्तिम परीक्षाको तयारी जुट्न विद्यालयलाई निर्देशन दिन तयारी भएको प्रमुख प्रशाकीय अधिकृत थमनसिंह थापाले बताए ।
त्यस्तै, जिल्लाका अन्य पालिकाहरुले पनि विद्यालयमा भौतिक उपस्थितिमा गरिने शैक्षिक क्रियाकलापलाई बन्द गरी भर्चुवल र अन्य वैकल्पिक माध्यमबाट सिकाई निरन्तरता दिन आग्रह गरेका छन् । भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सम्भव भएसम्म जेठको दोश्रो हप्तासम्म यस शैक्षिक सत्रको विद्यालय स्तरीय अन्तिम परीक्षा सम्पन्न गर्ने तयारीमा तनहुँका पालिकाहरु लागि परेका छन् ।










