स्थानीयवासीको प्रयासमा चम्किएको शुक्लागण्डकीको च्यवनधाम

कृष्ण न्यौपाने

पृथ्वी राजमार्ग नजिकै छ सेती नदीको किनार । जताततै ढुङ्गैढुङ्गा। दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने अवस्था । नदीको तिरसम्म पुग्न साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने । उराठलाग्दो देखिने गाछेपानीस्थित सेती नदी ढुङ्गाले भरिएका किनारको स्वरुप एक दशकमा फेरिएको छ । दिउँसै डरलाग्दो त्यो नदी छेउको थुम्को अहिले पवित्र धाम बनेको छ । अहिले झकिझकाउ मन्दिर छ । त्यही स्थान अहिले धार्मिक पर्यटकको गतिलो गन्तव्य बनेको छ । पहिले एक्लै हिँड्न पनि डरलाग्ने कुरुप साँघुरो ठाउँ फेरिएर यति सुन्दर र फराकिलो पर्यटकीय गन्तव्य बनेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीका स्थानीयको पहलले यो ठाउँ तनहुँकै चर्चित धार्मिकस्थल बन्दैछ । नदी छेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम -मिनी मुक्तिनाथ) नामले चिनिन थालिसकेको छ । यस ठाउँ भगवान शिवजी प्रति आस्थावान् भक्तजनको आकर्षाको केन्द्र बनेको छ । हिन्दू धर्मको मात्र होइन च्यवनधाम बौद्ध धर्मलम्वीहरूको पनि आस्थाको थलो हो ।

विसं २०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले हडप्न नखोजेको भए यो परिवर्तन सम्भव थिएन । “यहाँको २३ रोपनी जग्गा हडप्न खोजिएको थियो । गण्डकीको तिरसम्म पुग्ने बाटो पनि नहुने भएपछि संरक्षणमा हामी लाग्यौँ,” मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामका सचिव दुर्गादत्त सापकोटा भन्नुहुन्छ, “जग्गा संरक्षण गर्न भुलभुले बाराही एकता समाजले वृक्षारोपण गर्‍यो । यहीँको पुन मगर समाजले तारबार लगाए ।” पुन मगर समाजले तारबारमा साथ दिनुको कारण उनीहरूको अन्तिम घर अर्थात चिहान त्यही आडैमा थियो ।

जग्गा संरक्षणको दुइ वर्षपछि विसं २०६७ सालमा काठमाडौं बस्दै आउनुभएका ऋषिगुरु श्रीराम पौडेलसँग स्थानीयको सर्म्पर्क भयो । पौडेलले सेतीको तिर तपोभूमि भएको सुनाउनुभयो । त्यसो त शुक्लागण्डकी क्षेत्र च्यवन ऋषिको तपोभूमिको रूपमा पनि परिचित थियो । “गुरुले मुक्तिनाथमा गएर ध्यान बस्दा यहाँको वस्तुस्थिति देखेको सुनाउनुभयो । उहाँले नै तपोभूमि बन्छ भनेपछि हामीले मन्दिरको अवधारणा बनायौ,” सापकोटा विगत सम्झदै भन्नुहुन्छ ।

त्यही वर्षको कात्तिकमा मन्दिर सहितका पर्ूवाधार निर्माणका लागि लालप्रसाद गर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको थियो। माघमा यो क्षेत्रलाई श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम नामकरण गरियो। समिति मन्दिर बनाउन कस्सिएपनि आर्थिक अभाव आइलाग्यो। देशभर आर्थिक संकलनका लागि महायज्ञ गर्ने परम्परा चलेको बेला त्यसैलाई अनुसरण गर्ने उपाय निकाल्यो उक्त समितिले । पर्ूवाधार निर्माणमा आर्थिक सङ्कलन गर्ने उद्देश्यले सोही वर्षो चैत १० गतेदेखि १७ गतेसम्म सञ्चालन भएको महायज्ञमा रु एक करोड ५० लाख सङ्कलन भएपछि मन्दिरमा पर्ूवाधार निर्माणको काम शुरु भएको हो ।

महायज्ञमा उठेको रकमले समितिलाई हौसला थपेको सापकोटाले सुनाउनुभयो । महायज्ञ लगाएको छ महिनापछि विसं २०६८ कत्तिकमा मन्दिर शिलान्यास भयो र पूर्वाधार निर्माण शुरुभयो। च्यवनधाम परिसरमा अहिले आकर्ष शुक्लेश्वर महादेव मन्दिर छ । मन्दिरको छानो तामाको छ । शुक्लेश्वरको आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशको मन्दिर छ ।

यहाँ मुक्तिनाथकै झल्को दिने एक सय आठ धारा, एक सय आठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायतका संरचना छन् । च्यवनधाम परिसरमा बौद्ध गुम्बा छ। गुम्बाले एक अर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने सापकोटाको भनाइ छ । मन्दिर क्षेत्रमा एक दशकको अवधिमा रु तीन करोडभन्दा बढी पूर्वाधार निर्माणमा लगानी गरिएको छ । उक्त रकम दान संकलनसँगै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि उपलब्ध गराएका छन् । “च्यवनधाममा पूर्वाधार थप्दैै गएपछि आन्तरिक पर्यटकको उत्कृष्ट केन्द्र बन्नेछ,” सापकोटाले भन्नुभयो ।

मन्दिरमा अझै पनि पूर्वाधार थप गर्ने योजना छ । त्यसका लागि तीन तहका सरकारसँग सहयोग मागिनेछ। सरकारी निकायबाट सहयोग आइरहेपनि जति सहयोग आउँछ त्यो भन्दा दोब्बर तेब्बर खच समितिले गरेको उहाँले सुनाउनुभयो । मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अर्जुन लम्सालले धाम परिसारमा योजनाअनुसार निर्माण गरिने बताउनुभयो । “गुम्बाको तलपट्टी मिनी चिडियाखाना बनाउनेे योजना बनाइएको छ । गण्डकीको तिरको ढिस्कोको माथिपट्टी हनुमानको मूर्ति र त्यसको तलपट्टी शनि देवताको मूर्ति बनाउने योजना छ ।

च्यवनधाममा नयाँ वर्ष, साउने सोमबार, कृष्ण अष्टमी, बाला चतुर्दशी र शिवरात्रीमा भक्तजनको बढी घुइँचो लाग्छ । प्रत्येक वर्षको साउन महिनामा शिवपुराण लगाउने गरिएको छ। उहाँका अनुसार साउनमा प्रत्येक सोमबार र शिवरात्री पर्वको बेला यहाँ दैनिक पाँच हजार बढी भक्तजन भेला हुन्छन् । च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पूजाअर्चना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । यो वर्षगण्डकी प्रदेश सरकारको लगानीमा रु २५ लाख खर्च गरी यहाँ रहेको एक सय आठ धाराको माथिपट्टी कृत्रिम हिमाल निर्माण गरिएको छ । कृत्रिम हिमाल बनाएपछि मन्दिरमा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको मन्दिर व्यवस्थापन समितिका सहसचिव अस्मिता खनाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कृत्रिम हिमालले आन्तरिक पर्यटकमा वृद्वि हुने लक्षण देखाइसकेको छ ।”

यही बाटो भएर तनहुँकै प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर पुगिन्छ। ढोरवाराही जाने धार्मिक पर्यटक पनि च्यवनधाममा आउने गरेको उहाँको भनाई छ । ढोरबाराही र च्यवनधामलाई जोडेर प्रचार गर्न सके दैनिक हजारौं धार्मिक पर्यटक भित्र्याउन सकिनेमा खनाल विश्वस्त हुनुहुन्छ । मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मिलेनियम ट्रेकको शुरुआती विन्दु हो। सन् २००० देखि शुरु भएको तनहुँ र स्याङ्जालाई जोड्ने ७२ किलोमिटर दूरीको मिलेनियम ट्रेक यहीँबाट शुरु हुने भएकाले पनि पर्यटनमा यथेष्ट सम्भावना छ । च्यवनधामको नजिकै सेती नदीमा बग्ने पानीको वहावले कुँदेर बनाएको प्राकृतिक ढुङ्गे बगैँचाले जोकोहीलाई लोभ्याउन सक्छ । च्यवनधाम र ढुङ्गे बगैचामा म्युजिक भिडियो छायाङ्कन गर्ने लहर पनि बढेको छ ।

च्यवनधामलाई तनुहँकै उत्कृष्ट गन्तव्य बनाउन स्थानीयवासीसँग स्थानीय सरकारले हातेमालो गरिरहेको वडाध्यक्ष जगतबहादुर गुरुङले बताउनुभयो । मिनी मुक्तिनाथको अवधारणा भएको हुँदा पूर्वाधार निर्माणमा नगरले वर्षोनि बजेटको व्यवस्था गरेको उहाँले सुनाउनुभयो । “पूर्वाधार बनेपछि प्रचारप्रसारमा जोड दिन्छौँै”, उहाँले भन्नुभयो, “वरपरका गन्तव्यसँगै मुक्तिनाथ पुग्ने पर्यटकलाई च्यवनधाममा आउने वातावरण बनाउँछौँ ।” रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker