सम्पादकीय : तनहुँसुरको उज्यालो इतिहास र पुनर्जागरणको बाटो

तनहुँसुर केवल एउटा भौगोलिक नाम होइन, यो नेपालकै इतिहास, सभ्यता र सांस्कृतिक चेतनाको मौन साक्षी हो। लिच्छवीकालदेखि सेनवंशी राज्यसम्मको शासन–संरचना बोकेको यो क्षेत्र नेपालको एकीकरणअघि नै संगठित राज्यव्यवस्थाको प्रतीकका रूपमा परिचित रहँदै आएको छ। तर आजको दिनमा यही तनहुँसुर उजाडिँदै गएको छ, पुरातात्विक सम्पदा समयको धुलोमा हराउँदै गइरहेका छन्, र यसको ऐतिहासिक गौरव विस्मृतिको गर्तमा डुब्ने अवस्थामा पुगेको छ । यद्यपि पछिल्लो समय व्यास नगरपालिका, पुरातत्व विभाग र स्थानीय समुदायको सक्रियतासँगै यो क्षेत्र पुनः जीवन्त बन्ने आशा पलाएको छ ।

तनहुँसुरको ऐतिहासिक पृष्ठभूमि निकै समृद्ध छ । लिच्छवीकालमा यो क्षेत्र राज्य सीमाभित्र परेको उल्लेख पाइन्छ भने इसाको १६औँ शताब्दीदेखि सेनवंशी राजाहरुले यहाँ शासन गरेका ऐतिहासिक प्रमाणहरू उपलब्ध छन्। मणि मुकुन्दसेनले विसं १५७५ देखि १६१० सम्म तनहुँसुरलाई राजधानी बनाएर शासन गरेका थिए। यिनै सेनवंशी राजाहरुले तनहुँसुरमा दरबार, मन्दिर, र विभिन्न प्रशासनिक तथा सांस्कृतिक संरचनाको निर्माण गराएका थिए । यही कालखण्डमा बन्दीपुरलाई व्यापारिक केन्द्रका रूपमा विकास गरिनु, तनहुँसुरको आर्थिक–सांस्कृतिक समृद्धिको प्रमाण हो। तर आज ती संरचनाहरु भग्नावशेषमा परिणत छन्– ढलेका इँटाका गारो, नष्ट हुँदै गएका मन्दिर र उपेक्षित सम्पदाले विगतको वैभवको केवल सम्झना बाँकी राखेका छन् ।

यही सन्दर्भमा पुरातत्व विभागले पछिल्ला केही वर्षदेखि गरेको उत्खनन उल्लेखनीय प्रयास हो। उत्खननबाट इँटा बिछ्याइएको आँगन, पानी निकासका लागि बनाइएको कुलेसो, रानीको नुहाउने स्थान, इनार र गढीका संरचनाहरू फेला परेका छन्। साथै पौराणिक युगका कलश, झिङ्गटी, सिलौटा, टुटेको चुरा र त्रिभुवन पालाकालीन पाँच पैसाका सिक्का जस्ता सामग्रीहरू पनि प्राप्त भएका छन्। यी वस्तु केवल भौतिक अवशेष होइनन्, यी इतिहासका मौन साक्षी हुन् जसले सेनवंशी सभ्यताको जीवनशैली र प्रशासनिक कौशलको झलक दिन्छन्। त्यसैले, यी सम्पदाको संरक्षण र व्यवस्थित प्रदर्शन गर्न सके तनहुँसुरले ऐतिहासिक अध्ययनका लागि एउटा ‘लिभिङ म्युजियम’को स्वरूप लिन सक्छ ।

सांस्कृतिक एवं पुरातात्विक महत्वका अलावा तनहुँसुर जैविक विविधता, कृषि र प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ । हिमश्रृंखला, वनपाखा, रमणीय गाउँ र कृषिप्रधान जीवनशैली यहाँको विशेषता हो। यही प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरलाई एकीकृत गरी व्यास नगरपालिकाले तनहुँसुरलाई ‘ऐतिहासिक एग्रो टुरिजम’को रूपमा प्रवर्द्धन गर्ने योजना अघि सारेको छ । यस योजनाअन्तर्गत सम्पदा नेपालको सहकार्यमा सामुदायिक घरवास कार्यक्रम शुरु गरिएको छ। स्थानीयले घरवास सञ्चालनका साथै वृक्षरोपण, सिँढी बाटो निर्माण, कृषि तथा पशुपंक्षी समूह गठन र तालिम सञ्चालन गरी पर्यटन पूर्वाधार सुदृढीकरणमा अग्रसर छन्। यसबाट केवल आर्थिक उपार्जन मात्र होइन, स्थानीय जीवनस्तर र आत्मगौरव दुवै बढ्ने सम्भावना देखिन्छ ।

नगरपालिकाले ‘इको ट्रेक’को विकाससँगै चमेरे गुफा, मुलपानी–भगवतीपानी मन्दिर र देवस्थल सामुदायिक घरवाससम्मको नक्सांकनसहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने तयारी गरिरहेको छ। संघीय सरकारको सहयोगमा सडक कालोपत्र, इन्टरनेट, सडकबत्ती, शिक्षा र स्वास्थ्य पूर्वाधार, सामुदायिक भवन तथा मन्दिर पुनर्निर्माणजस्ता कार्य पनि अघि बढाइएका छन् । यी संरचनात्मक कामले तनहुँसुरमा जीवन्तता भर्नेछन् । त्यसमाथि, पर्यटन तथा वातावरण मेला आयोजना गरी सम्पदा संरक्षण, खाना महोत्सव, घरवासमार्ट, वक्तृत्वकला प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने तयारीले क्षेत्रको प्रचार–प्रसारमा थप गति दिनेछ ।

तर, भौतिक पूर्वाधार विकास मात्रै पर्याप्त छैन। स्थानीयवासीमा इतिहासप्रतिको माया र संरक्षणभाव जागृत हुन जरुरी छ । किनकि सम्पदाको दीगो संरक्षणका लागि जनस्तरको प्रतिबद्धता नै वास्तविक आधार हो। नगरपालिका, पुरातत्व विभाग, संघ–संस्था र स्थानीय समुदायबीच सहकार्यको स्थायी ढाँचा बन्न सके तनहुँसुरको पुनर्जागरण सम्भव छ । अहिले पनि तनहुँसुरको दरबार, महादेव र विष्णु मन्दिर, खड्ग देवताको थान जस्ता सम्पदाहरूको उचित संरक्षण र व्यवस्थापन नहुँदा ती खण्डहरमा परिणत भइरहेका छन् । यस अवस्थामा स्थानीय स्तरबाटै संरक्षण अभियान थाल्नु समयको माग हो ।

नेपालको इतिहासको अध्यायमा तनहुँसुरले विशेष स्थान ओगटेको छ । यो केवल सेनवंशी शासनको राजधानी मात्र होइन, नेपालको प्राचीन शासन–संरचनाको एउटा जरो हो । आजको पुस्ताले यसलाई केवल गुमेको गौरवको रूपमा होइन, सम्भावनाको केन्द्रका रूपमा हेर्न आवश्यक छ। कृषि, संस्कृति र पर्यटनलाई एकसाथ जोडेर तनहुँसुरलाई पुनर्जीवित गर्न सकियो भने यो केवल तनहुँको मात्र होइन, सम्पूर्ण देशको ऐतिहासिक सम्पदा पुनर्जागरणको उत्कृष्ट उदाहरण बन्नेछ। साँच्चै, तनहुँसुरको पुनरुत्थान नेपालकै इतिहासको पुनर्लेखन हुनेछ– जहाँ ढलेका इँटा पुनः उभिनेछन्, जहाँ उजाड दरबार फेरि जीवित हुनेछ, र जहाँ इतिहास फेरि बोल्नेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker