तनहुँका स्थानीय बस व्यवसायी नियम विपरित यात्रुसंग भाडा असुल्दै, नियमक निकाय मौन

राजकुमार आले/दुलेगौंडा

तनहुँको खैरेनीटारकी इन्दिरा विसी पोखरा जानका लागि दमौलीबाट पोखरातर्फ आउँदै गरेको ग१ख ४१३० नम्बरको स्थानीय मिनीबसमा चढिन् । बसको सीटमा बस्ने बित्तिकै भाडा मागेका सहचालकले पहिले भन्दा बढाएर मागे । उनले पनि भाडा बढेकै होला भनेर जति भने त्यति नै दिइन् । उनले खैरेनीटारबाट पोखरा गएको एक सय रुपैयाँ तिरेको बताउँछिन् । ‘भाडा बढेछ है, तेलको भाउ पनि महंगिएको छ भन्दै पैसा बढाएर माग्यो । हामी जस्तो सिधासाधा मान्छेलाई पनि होला झैँ लाग्यो । जति भन्यो त्यति नै तिर्‍यौ’, उनले भनिन्, ‘केहिदिन अघि पोखरा जाँदा एउटी महिलाले पुरानै दरको भाडा दिंदा सहचालकले पुरा भाडा नदिएको भन्दै गाडीबाटै ओरालेको थियो ।’

त्यस्तै, खैरेनीटारबाट सोही बसको यात्रु बनेकी जामुनेकी कृष्णा थापा अर्कै बसमा पोखरा जाने भनेर चढेकी थिइन् । बस चढ्दा सिधै पोखरा लैजाने र बीचमा ओराल्ने र अर्को बसमा नचढाउने र्सतमा बस चढेकी थिइन् । तर, खैरेनीटार आइपुगेपछि बसले सबै यात्रुलाई त्यहि झारदियो र अर्को बसमा जान भन्यो । उनले भनिन्, ‘भाडा पनि एक सय बिस रुपैयाँ लियो । अरु बेला सय रुपैयाँमा पोखरा गइन्थ्यो ।’

त्यस्तै विहीबार खैरेनीटारबाट भिमाद जाँदै गरेको ग१ख ५२४७ नम्बरको स्थानीय बसमा टनाटन यात्रु थिए । सहचालकले सबै यात्रुहरुसंग पुरानो भाडादरमा १० देखि २० रुपैयाँ थपेर भाडा लिइरहेका थिए । दोभानबाट भिमाद गएकी पार्वती सुनारले २० रुपैयाँको सट्टा तीस रुपैयाँ तिर्न बाध्य भइन् । त्यस्तै भिमादकै बयोवृद्ध ध्रुब श्रेष्ठले भिमादबाट खैरेनीटार आउँदा ५० रुपैयाँ तिरेको बताए । सहचालकसंग भाडा कहिलेबाट बढ्यो भनेर सोद्धा लकडाउनपछि बढेको हो भनेर जवाफ दिने र झपाझप पैसा लिएको श्रेष्ठले सुनाए । स्थानीय बसहरुले यसरी भाडा बढाएर लिएपछि स्थानीय सञ्चारकर्मीहरुले यात्रु ठगिएकोबारे प्रहरीलाई जानकारी गराएपछि सबै यात्रुहरुको भाडा फिर्ता भयो ।

यसरी बसका चालक तथा सहचालकले नियमविपरीत भाडा उठाउन शुरु गरेकोबारे स्थानीय श्रृङ्गा यातायात व्यवसायी संघका अध्यक्ष केदार पौडेल बेखर छन् । उनले टेलिफोन कुराकानीमा भने ‘त्यसरी भाडा लिएको छैन होला, हामीले कसैलाई पनि लिखित रुपमा भाडा बढेको भनेर भनेका छैनौ । तपाईहरुलाई थाहा नै छ, यस क्षेत्रमा आउने कर्मचारीहरु कुन संस्कारबाट आएका छन्, त्यसैको प्रभाव हो । हामीले त धैर्य गर, अहिले बढाएर भाडा नलेऊ नै भनेका छौँ ।’ अध्यक्ष पौडेलले भने, ‘संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारले पनि बढाइ हाल्नुपर्नेमा प्रदेश सरकार आन्तरिक किचलोमा फस्दा व्यवसायीहरुलाई मर्कामा परेको र यात्रुहरुले पनि दुःख भोग्नु पर्ने समस्या सिर्जना भएको छ ।’

त्यस्तै, प्रहरीले पनि यात्रुको उजुरी बाहेक भाडाका विषयमा कुनै किसिमको चेकजाँच गरेको छैन । भाडामा सर्वसाधरण जनता ठगिएको व्यापक गुनासो आएपनि प्रहरी भने माथिबाट कुनै निर्देशन र परिपत्र नआएको भन्दै कारबाही प्रक्रिया अगाडी बढाउन अलमल गरिरहेको छ ।

प्रहरी प्रशासनले यहि विषय केन्द्रित अभियान अहिलेसम्म चलाएको छैन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले आफुहरुलाई भाडा बढेको र नबढेको भनेर कुनै पनि परिपत्र नआएकाले कारबाही प्रक्रिया अगाडी बढाउन समस्या भएको बताउँछन् । तर, यात्रुहरुको उजुरी आएमा तुरुन्तै कारबाही गर्ने उनको भनाई छ ।

उनले भने ‘अहिलेसम्म भाडा बढेको, नबढेको र बढाएर लिएको भए कारबाही गर भनेर कुनै निर्देशन र परिपत्र आएको छैन । हाम्रो हिसाबमा पुरानै भाडादर यथावत छ भन्ने बुझेका छौँ, यदि लिदै आएको भाडामा थप गरेर बढी भाडा लिएको उजुरी आयो भने तुरुन्तै कारबाहरी हुन्छ । कारबाही गर्न हामीलाई पनि सुचना आउनु पर्‍यो, प्रहरीको चेकजाँचमा यात्रुहरुले पनि बढि भाडा लियो भनेर भनिदिनुपर्‍यो ।’

मुग्लिन-दमौली, दमौली-पोखरा, पोखरा-खैरेनीटार-भिमाद लगायतका रुटहरुमा चल्ने प्रायः अधिकाँश बसका चालक तथा सहचालकहरुले बढि भाडा असुलेर यात्रु ठग्ने गरेका छन् । कोरोना भाइरस महामारीको बाहाना र अघिल्लो सरकारले जाँदाजादै अन्तरप्रदेश चल्ने सवारी साधनको २८ प्रतिशतले भाडा बढाएपछि यहि मौका पारी सिधासाधा र्सवसाधरण ठग्ने क्रम बढेको हो । यातायात व्यवस्था विभागले गत असार ३० गते सार्वजनिक गरेको सुचनामा राष्ट्रियस्तरका राजमार्गमा संचालन हुने अन्तरप्रदेश अर्थात दुइ वा दुइ भन्दा बढि रुट भएर चल्ने लामो दुरीका यात्रुवाहक सवारीको २८ प्रतिशतको दरले भाडा बढायो ।

त्यस्तै, पहाडी क्षेत्रमा संचालन हुने मालवाहक सवारीको २० प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २६ प्रतिशतले भाडा बढाएको सुचनामा प्रष्ट उल्लेख गरिएकोे छ । स्थानीयस्तरमा चल्ने सवारी साधनहरुले यहि हो मौका भनि खुलमखुल्ला भाडा उठाइरहेको चर्काे जनगुनासो आएको छ । तर, आधिकारीक उजुरी नपरेको भन्दै सरोकारवाला निकाय भने मौन छ । माथिबाट कारबाहीका लागि कुनै निर्देशन र परिपत्र नआएकाले कारबाहीमा तत्काल उत्रन समस्या भइरहेको ट्राफिक प्रहरी बताउँछ ।

काठमाडौं उपत्यका र अन्य ठुला शहरहरुमा प्रहरीले अभियान नै चलाएर बढि भाडा लिने सवारी साधनलाई धमाधम कारबाही गरिरहँदा तनहुँमा भने यात्रु ठगिएको भनी कुनै पनि उजुरी नपरेको भन्दै जिल्ला प्रहरी कार्यालयले अभियान चलाउन सकेको छैन । यात्रुहरु भने ठगिरहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker