तनहुँमा जनता आवास कार्यक्रम अन्तर्गत २८६ घर निर्माण
भञ्ज्याङ समाचारदाता/दमौली

पूर्वाधार विकास कार्यालय तनहुँले जनता आवास कार्यक्रम अन्तर्गत तनहुँमा २८६ घर निर्माण गरिएको छ । आर्थिक दुरावस्थाका कारण घर बनाउनसक्ने हैसियत नभएका व्यक्तिको घर निर्माण गरिएको हो । जिल्लाका १० वटै पालिकामा उक्त कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर धनमाया मिश्रले बताइन् ।
आर्थिक वर्ष २०७५/०७६ मा संघ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भएपछि उक्त कार्यालयले घर निर्माण थालेको उनले बताइन् । निर्माण गरिएका घरमध्ये दोस्रो किस्तामा चार, तेस्रो किस्तामा ५२ र अन्तिम किस्ता लैजान बाँकी १४२ घरपरिवार रहेका छन् । उक्त कार्यक्रमका लागि रु एक करोड ५७ लाख बजेट विनियोजन गरिएको थियो ।
यस्तै, पूर्वाधार विकास कार्यालयले सम्झौता भएका दुइवटै भवन निर्माण गरेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको भवन दुइ करोड ३० लाख ५१ हजार रुपैयाँको लागतमा निर्माण भएको हो ।
विसं २०७७ असोज १ गते सम्झौता गरिएकामा उक्त भवन विसं २०७८ फागुन ३० गते निर्माण गरिएको हो । त्यसैगरी भिमाद सामुदायिक भवन एक करोड ३३ लाख ६३ हजार रुपैयाँको लागतमा निर्माण गरिएको छ । भवनको ढाँचामा थप गर्नुपरेका कारण सम्झौताभन्दा बढी लागत वृद्धि हुन गएको इन्जिनीयर मिश्रले बताइन् ।
त्यस्तै, जिल्लामा निर्माणाधीन तीन वटा झोलुङ्गे पुलमध्ये दुइ पुल निर्माण गरिएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ मा ७७ लाख ७१ हजार रुपैयाँको लागतमा एउटा झोलुङ्गे पुल निर्माण गरिएको हो । जिल्लाको भानु नगरपालिका-३ खहरेदेखि नारायणचौर गोरखा जोड्ने सो पुल एक करोड २६ लाख ५० हजार रुपैयाँको लागतमा सम्पन्न गरिएको र यसबाट सयौं मानिस लाभान्वित भएको बताइएको छ ।
व्यास नगरपालिका-५ र १० जोड्ने मादीनदीमाथि निर्माण गरिएको झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माणका लागि विसं २०७६ पुस ६ गते सम्झौता भए पनि विद्युत्को हाइटेन्सन सार्ने विषयमा विवाद हुँदा पुल निर्माणमा ढिलाइ हुन गएको कार्यालय प्रमुख दिनेशकुमार घिमिरेले बताए । अहिले विद्युत्का खम्बा सार्नका लागि जग्गा दिने सहमति भएपछि निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको उनले बताए ।










