शुक्लागण्डकीमा चौतारा संरक्षण अभियान : वृद्धवृद्धाको बसिवियालोको थलो बन्दै चौतारा
राजकुमार आले/भञ्ज्याङ

तनहुँको शुक्लागण्डकी-३, पहरेटारका वृद्ध होमबहादुर कार्की घरको कामकाज गर्न सक्दैनन् । उनका प्रायः दिनहरु पहरेटारको चौतारामा बित्छन् । आफ्ना उमेर समुहका बुढापाकाहरुसंग भेट्ने र गफिने उनको दिनचर्या नै हो । उनले दिन काट्ने पुरानो वरपिपलको चौतारा पुरानो हुँदा र भत्किदै जाँदा उनलाई किनै चिन्ता लाग्थ्यो । बाटो छेउमा रहेका चौताराहरु विकासका नाममा मेसिन लगाएर भत्काउदा उनको मन भक्कानिन्थ्यो । एक दशक अघिसम्म प्रायः चौताराहरु देखिन्थ्यो । त्यसयता मासिदै गएका पाटीपौवा र चौतराहरु संरक्षण गरिन थालिएको छ । आर्थिक बर्ष२०७७/०७८ मा तनहुँको शुक्लागण्डकी नगरपालिकाले आफु संधै बस्ने चौताराको मर्मत गरिदिएपछि कार्की खुसी छन् ।
अहिले पनि आफु दिनभरी साथिहरुसंग बस्ने र बेलुकीपख घर जाने गरेको बताउने कार्की चौतारा जोगाउनु पर्ने बताउँछन् । अहिले चौतारामा माटोको घैँटोमा चिसो पानी राखिएको छ । उप्किएका ढुङ्गाहरु मिलाइएका छन् भने बस्न सहज हुने गरी कंक्रिटले पेटी बनाइएको छ । चौतारा व्यवस्थित बनाइएको छ । चौतारा मर्मत भएपछि बाटो हिड्ने बटुवालाई थकान मेट्न सहज भएको कार्की बताउँछन् ।
अर्का वृद्ध रुद्रमणी तिमिल्सिनाले काम गर्न नसक्ने अवस्था भएपछि चौतारो आफ्नो दिनकाट्ने साहारा बनेको बताए। उनले भने, ‘काम गर्न सकिदैन, कहाँ जाने – दिनभरि यहि चौतारोमा बस्यो, दिन काट्यो, चौतारा त हाम्रो साथी जस्तै पो भएको छ ।’ उनका अनुसार पहिले पहिले बुढापाकाहरुले वरपिपल सार्ने, चौतारा बनाउने, सफा गर्ने, चौतारीमा मान्छे बस्ने, भारी बिसाउने गर्थे। अहिले जम्मै पापले भरियो, त्यसैले गर्दा बरपिपल मासियो, नत्र बरपिपल फाड्न हुँदैन भन्ने हाम्रो मान्यता छ ।

चौतारो सबैको साझा थलो रहेकाले मास्न हुँदै नहुने स्थानीय जीवन नाथ गर्तौला बताउँछन् । ‘पहिले एक किलो मिटरमा करिब १० वटासम्म चौतारा हुन्थ्यो, अहिले किन मासियो भन्दा सडक बाटो खन्ने भन्दै चौतारा मासियो, चौतारो नजिक सडक पुर्याएपछि चौतारो ढाल्न पाईयो’ उनले भने, ‘यसले गर्दा अलिकति राहात -पैसा) पनि आयो, अर्को रोपौला भन्ने, तर रोप्नी कुरो छैन् । अक्सिजन पनि दिने र धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेको हुँदा चौताराको संरक्षण गर्नुपर्दछ ।’
स्थानीय तहको निर्वाचनपछि भने बुढापाकाहरुको माग र वडाले नै बजेट निर्माण गर्ने भएपछि चौतारा निर्माण तथा संरक्षणको काम हुन थालेको छ । शुक्लागण्डकी-१० ले ३ बर्षघिदेखि नै चौतारा संरक्षण कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । वडाध्यक्ष रामचन्द्र भण्डारीका अनुसार हालसम्म बडाले वडाभित्रका १५ वटा चौतारा मर्मत सम्भार गरेको छ । वडाध्यक्ष भण्डारीले चौतारा संरक्षण कार्यलाई वडाले अभियानकै रुपमा सञ्चालन गरेको बताए ।

‘ठाउँ-ठाउँमा विकास निर्माण कार्य गर्दा चौताराहरु मासिदै गए, वडावासीको माग पनि भयो, धार्मिक र वातावरणीय हिसाबले पनि चौतारा संरक्षण गर्नुपर्छ भनेर अभियानकै रुपमा संरक्षण गर्ने नीति लिइएको हो’ उनले भने, ‘हाम्रो अभियानले संरक्षणको अभावमा खण्डहर बन्दै गएका चौताराहरु खोजी खोजी जोगाउने काम गरिरहेका छौं । यसबर्षपनि चौतारो संरक्षण कार्यले निरन्तरता पाउने छ ।’
नगरपालिकाका वातावरण शाखा प्रमुख राजेन्द्र सोतीले प्रति चौतारा १ लाख रुपैयाँको दरले रकम विनियोजन गरिएको बताए। उनका अनुसार वडा नं ४, ६ र ९ बाहेक अन्य सबै वडामा सार्वजनिक चौतारा संरक्षण तथा निर्माण अभियान चलाइएको थियो। जस अर्न्तर्गत वडा नं १, २, ३, ५, ७, ८, १० ,११, र १२ मा गरी १८ वटा चौतारा निर्माण तथा मर्मत गरिएको छ । वातावरण हराभरा बनाउन र पुर्खाहरुको चिनारीलाई संरक्षण गर्नु यो कार्यक्रमको उद्देश्य भएको सोतीले बताए ।

धार्मिक तथा प्राकृतिक पर्यावरणको हिसाबले अत्यन्त महत्वपुर्ण मानिएका वरपिपलका चौताराहरु संरक्षण हुन थालेपनि प्रयोगविहिन बन्न थालेका छन् । सडकको पहुँचले गर्दा बाटो हिड्ने बटुवाहरु नहुनु र गोरेटो बाटोहरुमा पनि घाँस दाउरा तथा मेलापात गर्नेहरु गाउँघरमा समेत घट्दै जाँदा चौताराको महत्व कम हुदै गएको छ ।










