गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको २ महिनापछि मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेवसाइट मार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

विवरणअनुसार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा बनेको ११ सदस्यीय मन्त्री मण्डलका ९ जना मन्त्रीहरुले सम्पत्ति विवरण पेश गरेका हुन् । प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले भने सम्पत्ति विवरण बुझाएका छैनन् ।

मुख्यमन्त्री पोखरेलले सम्पत्ति विवरणमा २५ लाख रुपैयाँ ऋण देखाएका छन् । उनले पेश गरेको विवरणमा कृषि विकास बैंकबाट २०७६ मा ऋण लिएको उल्लेख छ । उनले आम्दानीका रुपमा तलबबाट आएको पाँच लाख नगद एभरेष्ट बैंकमा रहेको उल्लेख गरेका छन् ।

त्यस्तै पोखरेलसँग पाँच तोला सुन, काठमाडौं र तनहुँमा जग्गा रहेको विवरण देखाएका छन् । श्रीमती लता पोखरेलको नाममा गैँडाकोटमा २० लाख रुपैयाँ मूल्यको एउटा घर रहेको उल्लेख छ ।

यसैगरी भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले पोखरा महानगरपालिका–१६ मा ३८२.२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको घर स्वआर्जन र पैतृक सम्पत्तिको रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री खड्काले ९५ तोला सुन, विभिन्न वित्तीय संस्थामा एक करोड बढी नगद मौज्दात, ५६ लाखको सेयर र ८५ लाख ऋण दिएको सम्पत्ति विवरण पेश गरेका छन् ।

अर्थमन्त्री रामजी बरालले एनआइसी एसिया बैंकबाट एक करोड ऋण लिएको सम्पत्ति विवरणमा देखाएका छन् । उनले ६० हजार रुपैयाँको गाई, निफ्राको ६० कित्ता सेयर, बैंकमा तीन लाख नगद मौज्दात रहेको देखाएका छन् । यस्तै दुई छोरा र बुहारीको नाममा दुई मोटरसाइकल तथा एक स्कुटर रहेको विवरण पेश गरेका छन । त्यस्तै मन्त्री बराल र उनको श्रीमतीको नाममा पोखरामा जग्गा, चार तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन् ।

यसैगरी कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले ९० तोला सुन भएको विवरण पेश गरेका छन। त्यस्तै पोखरामा ६ ठाउँमा घर, ८ ठाउँमा जग्गा रहेको सम्पत्ती विवरणमा उल्लेख छ । उनले घरमा नगद ५५ हजार रुपैयाँ,५० तोला चाँदी, १५ तोला हीरा रहेको विवरणमा उल्लेख गरेका छन् । यस्तै बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद मौज्दात र परिवार समेतको सात लाख ५० हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

उनले दुईवटा गाडी, पाँच वित्तीय संस्थामा ऋण तथा होटेल, मल, रिसोर्ट लगायतमा लगानी रहेको उल्लेख गरेका छन् ।

त्यसैगरी शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले एक किलो १९ तोला सुन रहेको सम्पत्ति विवरण बुझाएका छन् । उनले बुझाएको विवरणमा उल्लेखित सम्पत्तिको मुख्य स्रोत पैतृक सम्पत्ति भएको उल्लेखछ । मन्त्री श्रेष्ठले १५ लाख नगद तथा सात किलो दुई तोला चाँदी र एक थान हीराको औँठी रहेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् ।

त्यस्तै उनको स्याङ्जाको भीरकोट र काठमाडौंको नागार्जुनमा पक्की घर, स्याङ्जा, काठमाडौं र कास्कीको छिनडाँडामा जग्गा रहेको विवरणमा उल्लेख छ ।

वनमन्त्री दीपक थापाको सम्पत्ति

वनमन्त्री दीपक थापाले स्याङ्जाको बिरुवा –२ मा ५० हजार रुपैयाँमा घर किनेका छन् । उनले सांसद भएपछि पोखरा –१४ मा ४० लाखको जग्गा खरिद गरेको विवरण पेश गरेका छन् । त्यसको स्रोतमा तलब भत्तादेखि छोराको व्यवसाय, विदेशमा रहेका छोराछोरीको रेमिट्यान्स भएको उल्लेख छ ।

मन्त्री थापासँग पैतृक सम्पत्तिको ३० तोला सुन र २० तोला चाँदी रहेको छ । उनले विभिन्न वित्तीय संस्थामा ६१ लाख ५० हजार ऋण भएको विवरणमा उल्लेख गरेका छन् ।

ऊर्जा तथा जलस्रोत मन्त्री हरिशरण आचार्यले कृषि विकास र प्रभु बैंकमा ४० लाख ऋण भएको विवरण पेश गरेका छन् । उनले बैंकबाट लिएको ५० लाख ऋण मध्ये १० लाख तिरेको र बाँकी ४० लाख ऋण भएको विवरणमा उल्लेख गरेका छन् । उनको गोरखाको पालुङटार–२ मा बुवा र श्रीमतीको नाममा घरजग्गा रहेको, आठ तोला सुन र पाँच तोला चाँदी रहेको विवरणमा उल्लेख छ । उनले आमुल फर्निचर उद्योग सञ्चालन गर्दै आएको समेत उल्लेख गरेका छन् ।

पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलले बागलुङ नगरपालिकामा ४८ लाख ५० हजारमा खरिद गरेको घर रहेको सम्पत्ति विवरण पेश गरेका छन् । उनले आफ्नो नाममा बागलुङको लेखानीमा ६ ठाउँमा जग्गा रहेको विवरण पेश गरेका छन् । उनले ८७ हजार कित्ता सेयर, दुई करोड ६७ लाख ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

त्यस्तै श्रीमती इन्द्रकली कँडेलको नाममा ७ ठाउँमा जग्गा रहेको छ । मन्त्री कँडेलको नाममा चितवनमा ७ ठाउँ, रुपन्देहीमा ९ र इन्द्रकली कँडेलको नाममा चितवनमा ठाउँमा ३ ठाउँमा जग्गा भएको उल्लेख छ । त्यस्तै २५ तोला सुन, एक केजी चाँदी, ६ लाख नगद रहेको विवरणमा उल्लेख छ । त्यसैगरी श्रीमती इन्द्रकली कँडेलको नाममा दुई लाख नगद रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु माया अधिकारी गुरुङले ८ लाख ६० हजार नगद मौज्दात रहेको विवरण पेश गरेकी छन् । उनले लमजुङको दूधपोखरीमा घर, चितवन र हेटौँडामा चार ठाउँमा जग्गा, ३ तोला सुन रहेको विवरण पेश गरेकी छन् ।

मन्त्रीद्वय दीपक मनाङे र चन्द्रबहादुर बुढाले अझै बुझाएनन्

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker