बन्दीपुरका कृषकलाई मौरी सहितका घार वितरण

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले कृषकहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले मौरीसहितका घार वितरण गरेको छ । गाउँपालिकाको कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिका अध्यक्ष सुरेन्द्रहादुर थापा र उपाध्यक्ष पञ्चमाया गुरुङको पहलमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममार्फत गाउँपालिकाका ६ वटै वडाका छनोट भएका कृषकलाई मौरीसहितका घार हस्तान्तरण गरिएको कृषि विकास शाखाले जनाएको छ । मौरीपालनलाई प्रोत्साहन गरी कृषकको आम्दानी बढाउनुका साथै मह उत्पादनमार्फत स्वरोजगार सिर्जना गर्ने, कृषि उत्पादनमा परागसेचनको प्रभावकारिता बढाई उत्पादनशीलता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले कृषि क्षेत्रमा व्यवसायिकता विस्तार गर्दै कृषकको आर्थिक अवस्था सुदृढ बनाउन आगामी दिनमा पनि यस्ता आयमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।










