बन्दिपुर र वन कार्यालयको आग्रह : चितुवाको आक्रमणबाट बच्न सचेत बनौ, घरगोठ उज्यालो बनाऔं
भञ्ज्याङ न्यूज
बन्दिपुर गाउँपालिका र डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबा बच्नका लागि आवश्यक सावधानि अपनाउन आग्रह गरेको छ । गत सोमबार साँझ तनहुँको बन्दिपुर गाउँपालिका ५ बाहुनभञ्ज्याङमा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको ज्यान गएपछि जिल्लामा पुनः चितुवाको आक्रमण बन्न सक्ने भन्दै सबैलाई सचेत र सावधानी रहन आग्रह गरिएको हो ।
बन्दिपुरमा बालिका आक्रमण गर्ने चितुवाले फेरि मानिसमाथि आक्रमण गर्न सक्ने भएकोले सचेत रहन आग्रह गर्दै डिभिजन वन अधिकृत कोमलराल काफ्लेले चितुवासंग जोगिन साँझ तथा रातको समयमा घर गोठ उज्यालो बनाई राख्न र घर वरपरको झाँडी हटाउन आग्रह गरेका छन् ।
एकपटक आक्रमण गरेको चिुतवाले फेरि मानिसलाई आक्रमण गर्न सक्ने सम्भावना हुने भएकाले त्यसका लागि र्सतर्क बन्नुपर्ने उनले बताए । चितुवाको आक्रमणबाट सुरक्षित रहनका लागि घर गोठ बलियो पारौं, झाडी सफा गरौ, बिहान साँझ एक्लै नहिडौं, बच्चाहरुलाई एक्लै घर बाहिर नपठाऔं, बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न कार्यालयले अनुरोध गरेको छ ।
यस्तै, मृग, वन कुखुरा लगायत वन्यजन्तु मानिसले शिकार गरिदिंदा वनमा आहाराको अभाव भै चिुतवाले मानिसलाई आक्रमण गरेको प्रमुख काफ्लेले बताए । वन्यजन्तुको चोरी शिकार गर्नेलाई पक्राउ गर्न समेत सबैसंग आग्रह गरेका छन् । तनहुँको भानु, आँवुखैरेनी, बन्दिपुर, शुक्लागण्डकी, व्यास लगायतका स्थानीय पालिक क्षेत्रमा चितुवा आतंक बढ्दै गएको छ ।
चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बन्दिपुर गाउँपालिका ५ बाहुनभञ्ज्याङकी बालिकाका परिवारलाई बुधबार डिभिजन वन कार्यालय र बन्दिपुर गाउँपालिकाले राहात रकम हस्तान्तरण गरेका छन् ।










