बारीबाटै गोलभेडा बिक्री हुँदा शुक्लागण्डकी–१० मलागिरीका कृषक दङ्ग

कृष्ण न्यौपाने

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मलागिरीका कृषक सुरेन्द्र वाग्ले बारीबाटै गोलभेडा बिक्री हुन थालेपछि उत्साहित बन्नुभएको छ ।

सर्वसाधारण गोलभेडा खरिदका लागि बारीमै पुग्न थालेपछि उहाँ उत्साहित बन्नुभएको हो । विचौलिया बिना टनेलबाटै प्रतिकिलो रु एक सयमा गोलभेडा बिक्री भइरहेको वाग्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिला प्रतिकिलो रु २५ मा बिक्री हुन गाह्रो भइरहेको थियो, दसैंका बेला बजारमा भाउ बढ्यो, अहिले टनेलबाटै खोसाखोस भइरहेको छ ।”

बजारमा मूल्य बढ्दा गाउँमै माग धेरै भएको वाग्लेको भनाइ छ । “बजारबाट पनि माग आएको छ । उत्पादन भएको सबै गाउँमै बिक्छ, माग अनुसार पु¥याउन सकेको छैन”, उहाँले भन्नुभयो । दसैंका बेला गोलभेडा राम्रो विक्री भएको वाग्लेले बताउनुभयो । “गाउँमा आएकाले पनि फर्किदा गोलभेडा किनेर लग्ने गरेको छ”, उहाँले भन्नुभयो, “बारीबाटै गोलभेडा बिक्री हुँदा सहज भएको छ ।” उहाँका अनुसार बारीमै आएर किनबेच हुँदा किसान र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ ।

टनेलबाट प्रतिकिलो रु ८० देखि रु एक सयसम्म बिक्री हुने गरेको चापस्वाँराका किसान इन्द्र आलेले बताउनुभयो । अहिले पाएको मूल्यले किसानलाई राहत पु¥याएको उहाँको भनाइ छ । “मिहिनेत अनुसारको मूल्य पाउँदा किसानलाई निरन्तरता दिन हौसला मिल्छ । लगानीको प्रतिफल पाएपछि लगनशील समेत बनाउँछ”, उहाँले भन्नुभयो, “यो समयमा परिश्रम अनुसारको फल पाइएको छ । विगतका वर्षमा गोलभेडा निकै सस्तोमा बेच्नु परेको थियो ।”

बारीबाट बिक्री नहुँदा व्यापारीलाई कम मूल्यमा दिँदा लगानी पनि उठ्न गाह्रो हुने कृषक बताउँछन् । बजारबाट तरकारी व्यापारीले ठूलो परिणाममा गोलभेडाको माग गरेको छ । तर टनेलबाटै खुद्रा मूल्यमा बिक्री भएपछि बजारमा नपठाएको आलेले बताउनुभयो । यही मूल्य कायम रहे यसपाली गोलभेडा खेती गरेका किसानले मनग्य आम्दानी गर्ने उहाँले बताउनुभयो ।

गोलभेडाको उत्पादन कम हँुदा बजारमा यसको मूल्य बढेको तरकारी व्यवसायी रामनन्द चौधरीले बताउनुभयो । उहाँका अनुसार यो सिजनमा तनहुँमा गोलभेडा भारतसँगै काठमाडौँ र धादिङबाट ल्याइन्छ । “महङ्गो भएपछि यतिबेला भारतको गोलभेडा ल्याइएको छैन । काठमाडौको मात्रै बजारमा आएको थियो । त्यसैले महङ्गो भयो । अब धादिङमा पनि उत्पादन सुरु भएको छ । बजारमा आउन थालिसक्यो, विस्तारै मूल्य घट्दै जान्छ,” उहाँले भन्नुभयो ।

अरु बेला भारतीय गोलभेडा सस्तो मूल्यमा बजारमा छ्यापछ्याप्ती हुँदा किसानले मिहिनेत अनुसारको मूल्य नपाएको गुनासो गर्दथे । तर, अहिले टनेलबाटै खोसाखोस हुन थालेपछि किसान दङ्ग छन् । गोलभेडा खेती गर्ने किसानलाई स्थानीय सरकारले अनुदान दिन थालेपछि गाउँ–गाउँमा टनेलबाट गोलभेडा खेती थालिएको छ ।

स्थानीय सरकारले महिला तथा युवा वर्गलाई उत्पादनसँग जोड्ने प्रभावकारी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिदैं उहाँले यस्ता उत्पादनमुखी कार्यक्रमको दीगोपनका लागि स्थानीय सरकार जिम्मेवार भएर लाग्नुको विकल्प छैन भन्नुभयो । “तीनवटा प्लाष्टिक टनेल हुने हो भने गोलभेडा, साग, बन्दा, काउली, सिमी, धनीया, काक्रोलगायत विभिन्न जातका मौसमी तथा बेमौसमी तरकारी खेती गरेर मासिक रु ३० देखि ५० हजारसम्म आम्दानी गर्न सकिन्छ”, किसान आलेले भन्नुभयो, “यसले पर्यापर्यटनको वृद्धिसँगै कृषिको माध्यमबाट स्थानीय स्तरमा रोजगारी सिर्जनामा समेत टेवा पु¥याउँछ ।”

कृषि क्षेत्रको दिगो विकासका लागि जलवायु तथा वातावरणमैत्री प्रविधि र अभ्यासहरूको प्रयोग एवम् स्थानीय स्रोतसाधनको उचित व्यवस्थानमार्पmत उत्पादन र गुणस्तर वृद्धि गर्ने लक्ष्यका साथ कृषिमा अनुदान कार्यक्रम सञ्चालन हुँदै आएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker