हाटबजार सञ्चालनका लागि प्रथम खेलकुद तथा सांस्कृतिक मेला हुने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१ हाइस्कुलटारस्थित नवयुवा क्लबले हाटबजार सञ्चालन गर्ने उद्देश्यले प्रथम खेलकूद तथा सांस्कृतिक मेला सञ्चालन गर्ने भएको छ । यही पुस १५, १६ र १७ गते गरी तीन दिन सञ्चालन हुने मेलामा खेलकूद र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष सनम तामाङले बताएका छन् ।
स्थानीयस्तरमा उत्पादित बस्तु ताजा र सुलभ मूल्यमा उपभोक्तालाई उपलव्ध गराउने उद्देश्यका साथ महिनाको एक दिन हाट बजार चलाउने योजना रहेको उनले बताए । ‘मेलाबाट आएको मुनाफाले वडाको सामाजिक कार्यमा खर्च गर्ने छौं’, अध्यक्ष तामाङले भने, ‘मेलाको लागि देशविदेशमा रहनुभएकाहरुले आर्थिक सहयोग गर्नुभएको छ । हालसम्म साढे सात लाख रुपैया“ संकलन भएको छ ।’
देश विदेशबाट सहयोग आउने क्रम पनि जारी रहेका आयोजकले जनाएको छ । आयोजकले मेला हेर्ना आउने दर्शकबाट कुनै पनि शुल्क नलिने जनाएको छ । यस्तै, व्यवसायीले पनि आफ्नो तरिकाले व्यवसाय गर्न पाउनेछन् । मेलाको पहिलो दिन प्रीति आले, वसन्त बिक, दोस्रो दिन रामजी खाँण र चिना थापा र तेस्रो दिन पशुपति शर्मा र काजल गुरुङको प्रस्तुति रहने जनाइएको छ ।










