मनाङमा निरन्तर हिमपात : जनजीवन प्रभावित (फोटोफिचर)
लमजुङ/१४ पुस


हिमाली जिल्ला मनाङमा निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ ।

मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ ।

शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ ।

तापक्रम माइनस १२ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ । चिसो अत्यधिक बढेको छ ।

शनिबारदेखि आइतबारसम्म हल्का हिमपात भए पनि मङलबार साझदेखी भने माथिल्लो मनाङसहित चामेमा ३ फिट बाक्लो हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए ।

मनाङको नासों गाउँपालिका- ९ दानक्युदेखि माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको हो । मनाङका डीएसपी सुवास खड्काका अनुसार हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

बाक्लो हिमपात भएकाले अत्यधिक चिसो बढेसगै प्रहरीलाई नियमित गस्तीका लागि वरपर हिँड्न समेत समस्या भएको छ ।

जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ-बिहान माइनस ६ देखि माइनस १३ डिग्री सेल्सियससम्म पुग्ने गरेको सशस्त्र प्रहरी बल नेपाल पर्बतिय उद्दार तालीम शिक्षालय मनाङका प्रमुख एसपी सुर्यप्रसाद आचार्यले बताए ।

अत्यधिक चिसोका कारण खोला खोल्सा र पिउनका लागि ल्याइएको पानी पाइपमा जमेको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलले बताए ।

उनले भने बाक्लो हिमपातका कारण हिड्डुल गर्न समेत समस्या भएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भू-भागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने हुनाले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।










