तनहुँसुर “इको ट्रेक”का लागि पूर्वाधार निर्माण

कृष्ण न्यौपाने/दमौली

तनहुँको व्यास नगरपालिका-११ स्थित तनहुँसुर इको ट्रेकमा सिँढी निर्माण गरिएको छ । पदयात्रा गर्दै तनहुँसुर पुग्ने पदयात्रीको सजिलोका लागि उक्त ट्रेकमा सिँढी निर्माण गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सिँढी निर्माणको काम थालिएको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिनुभयो ।

वडाका बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी दिने उद्देश्यसहित दश जनाले यो कामका लागि रोजगारी पाएका छन् । “सात महिला र तीन पुरुषले सिँढी निर्माणमा रोजगारी पाएका छन्”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सिँढी निर्माणका लागि यो वर्ष रु पाँच लाख बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट ३२० मिटर सिँढी निर्माण गरिनेछ । गत वर्ष रु ६ लाख बजेटमा तीन सय मिटर सिँढी निर्माण भइसकेको छ । जैविक विविधता संरक्षणसँगै पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित गत वर्षमात्रै तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको थियो । “सिँढी निर्माणसँगै पदयात्रा गर्नेलाई सहज रुपमा तनहुँसुरसम्म पुग्न सजिलो हुन्छ,” वडाध्यक्ष खड्काले भन्नुभयो ।

वर्तमान समयमा भौतिक विकासबाट पर्यावरणमा प्रतिकूल असर पर्दै गइरहेको अवस्थालाई मध्यनजर गरी पर्यटनविज्ञ सहितको टोलीले सो मार्गको सम्भाव्यता अध्ययन गरेको थियो । मूलपानीदेखि तनहुँसुरसम्म ६.५ किलोमिटरको उक्त ट्रेक समुन्द्र सतहबाट पाँच सय मिटरको उचाइबाट शुरु हुने र एक हजार दुइ सय ५० मिटरको उचाइमा समाप्त हुनेछ ।

पदयात्राका क्रममा ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरुको अवलोकन, तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप, गद्दी चौतारा, सिढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, भगवतीपानी मन्दिर, विष्णु र शिव मन्दिर, टुँडिखेल, सिलखान, जारकाटे ढुङ्गा, शहीद पार्क, ऐनापहरा, छाप लगाउने ढुङ्गा अवलोकन गर्न सकिन्छ ।

पृथ्वीराजमार्गमा पर्ने घाँसीकुवादेखि मूलपानीसम्म करिब चार किमि मोटरयात्रा, त्यसपछि चमेरेगुफा-भगवतीपानी मन्दिर-तनहुँसुर देवस्थल सामुदायिक घरबास हुँदै तनहुँसुर गढीसम्म पदयात्रा गर्न सकिनेछ । ट्रेक स्थापनाका लागि विगत केही वर्षदेखि नै तनहुँसुरवासीलाई वन संरक्षण, वृक्षरोपण, स्थानीय उत्पादनलाई प्राथमिकता दिन, अर्गानिक खाना र सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन लगायतका विषयमा प्रशिक्षण दिइँदै आएको थियो ।

धेरै लामो र उकालो नभई तेर्सो, साधारण उकालो र धेरै घाम र ओसिलो पनि नभएकाले यो पदयात्रा अति नै सजिलो रहेको पर्यटनविज्ञ हरिसिंह गुरुङले बताउनुभयो । “हरियाली वातावरण, ठाउँठाउँमा पानीको स्रोत, सांस्कृतिक गतिविधि अवलोकन, धार्मिक स्थलहरु, पुरातात्विक सम्पदा पनि समेटिएकाले यो बाटो उत्कृष्ट हुनेछ,” उहाँले भन्नुभयो ।

उक्त मार्गमा पर्ने चमेरो गुफा एवं गुप्तेश्वर महादेव, भगवतीपानी लगायतका धार्मिक सम्पदाहरुलाई प्रकृतिसँग जोड्ने वनस्पति, हावापानी वन्यजन्तु र चराचुरुङ्गी लगायतका विविधतालाई संरक्षण गर्दै स्थानीयको आयआर्जनमा टेवा पुर्‍याउनु यस इको ट्रेकको प्रमुख उद्देश्य रहेको बताइएको छ । पछिल्लो समय तनहुँसुर पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । ऐतिहासिक तनहुँसुर भ्रमणका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

पदयात्रा गरेर पुग्नेहरुलाई तनहुँसुरमा दुइ वटा घरबासको सुविधा छ । तनहुँसुरमा सर्वसाधारणको आगमन हुन थालेपछि यहाँका स्थानीयवासी घरबास सञ्चालनमा कस्सिएका छन् । तनहुँसुर सामुदायिक घरबास र तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरेर स्थानीय पाहुनाको स्वागतका लागि आतुर छन् ।

तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई खाना तथा आवासको सहज व्यवस्थापन गर्ने उद्देश्यले भोरथोक र चण्दनीथोकका बासिन्दा मिलेर तनहुँसुर सामुदायिक घरबास सञ्चालित छ । कूल ४४ घरधुरीमध्ये ८ घरधुरीमा घरबास सञ्चालन गरिएको अध्यक्ष केबी थापाले जानकारी दिनुभयो । यहाँ ३० जनासम्मलाई बासको व्यवस्था मिलाउन सकिनेछ । मगर, नेवार दलितको बसोबास रहेको यहाँ मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका कृषि उपज उत्पादन हुने गर्दछ ।

यस्तै पाल्पालीथोक, पत्यारथोक र गङ्गलीथोकका वासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरिएको छ । कूल ३० घरधुरी रहेको यस ठाउँका १४ घरधुरीमा घरबास सञ्चालन गरिएको छ । उक्त घरबासमा ४० जना बास बस्न सक्ने अध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो । मगर, नेवार र दलितको बसोबास रहेको यहाँका घरबासमा आउने पर्यटकलाई मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका परिकार खुवाइने घरबास सञ्चालक समितिका उपाध्यक्ष मदन आलेले जानकारी दिनुभयो ।

तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरवाट अप्रभंस भएर रहेको भन्ने भनाइ छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले दुइ सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

तनहुँसुर दरवारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker