आगामी आर्थिक वर्षका लागि आँबुखैरेनीको बजेट ६० करोड ५३ लाख

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष ०७९÷८० का लागि अनुमानित ६० करोड ५३ लाख ३३ हजार ३३३ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले शुक्रबार ११औं गाउँ सभामा उक्त बजेट प्रस्ताव गरेकी हुन् ।
प्रस्तावित बजेटमध्ये आर्थिक विकासतर्फ ८ करोड ९० लाख, सामाजिक विकासतर्फ १९ करोड १९ लाख, पूर्वाधारतर्फ १८ करोड ३६ लाख, वन वातावरणतर्फ एक करोड ३६ लाख, सुशासनतर्फ २ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, आयतर्फ संघीय सरकार सशर्त अनुदानबाट १६ करोड १३ लाख, वित्तीय समानीकरणबाट १० करोड ५३ लाख, विशेष अनुदानबाट एक करोड ७० लाख, राजश्व बाडँफाँटबाट ८ करोड, प्रदेश सरकार अनुदानबाट एक करोड १६ लाख, सशर्त अनुदानबाट ४० लाख रुपैयाँ अनुमान गरिएको छ ।