रेडक्रसद्वारा एम्बुलेन्स खरिद गर्ने
भञ्ज्याङ समाचारदाता/घिरिङ

तनहुँको घिरिङ गाउँपालिकास्थित रेडक्रस सोसाइटी भगवतीपुर उपशाखाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । ग्रामीण भेगका सर्वसाधारणलाई सेवा दिने उद्देश्यसहित उपशाखाले एम्बुलेन्स सञ्चालन गर्न लागेको हो ।
उपशाखाले एम्बुलेन्स खरिदका लागिस्थापना गरेको कोषमा रु ४० लाख संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म रु एक लाख २१ हजार ३१६ संकलन भएको सभापति मीनबहादुर कार्कीले बताए । उपशाखाका पदाधिकारीबाट उक्त रकम संकलन भएको उनले बताए ।
‘यस भेगमा एम्बुलेन्स नहुँदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन्, बिरामी भएका बखत स्वास्थ्य संस्थासम्म जान निजी सवारी साधनमा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता छ’, उनले बताए । एम्बुलेन्स खरिदका लागि गाउँपालिकासँग पनि आर्थिक सहयोग माग गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष रनबहादुर रानालाई भेटी रु १० लाख उपलब्ध गराउन आग्रह गरिएको सभापति कार्कीले बताए । उपशाखाले कोषाध्यक्ष हेमबहादुर थापाको संयोजकत्वमा रकम संकलनका लागि समिति गठन गरेको छ । ‘सेवाको क्षेत्र वृद्धि गरी आजीवन सदस्य थप गर्न र रकम संकलन अभियानलाई पनि तीव्रता दिएका छौँ’, उनले बताए ।
रेडक्रसका विभिन्न उपशाखाले एम्बुलेन्स सञ्चालन गर्न थालेका छन् । यसअघि व्यास नगरपालिका-१० दुम्सीकोट उपशाखाले पनि जनस्तरबाट रकम संकलन गरी एम्बुलेन्स सञ्चालनमा ल्याइसकेको छ ।
विसं २०७७ भदौ १९ गतेदेखि थालिएको अभियानमार्फत रु २९ लाख १४ हजार २१९ संकलन भएकामा रु १३ लाखको लागतमा एम्बुलेन्स खरिद गरिएको दुम्सी उपशाखाका सभापति रामदत्त पौडेलले बताए । “बिरामी परेको अवस्थामा एम्बुलेन्स नपाइने, महङ्गो शुल्क तिरेर गाडी रिजर्भ गरेर अस्पतालसम्म जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएका हौँ,” उनले भने, “यो अभियानले सबै वडावासीलाई सहज भएको छ ।”










