तनहुँको ऋषिङ भैंसीकिलीका पहिरो पीडितलाई तनहुँ समाज हङकङद्वारा आर्थिक सहयोग

- भञ्ज्याङ समाचारदाता (ऋषिङ)
अविरल वर्षासंगै आएको पहिरोले घरपरिवार गुमाएका तनहुँको ऋषिङ गाँउपालिकाका पहिरो पीडितलाई आर्थिक सहयोग गरिएको छ । गत असार २८ गते गएको पहिरोमा परि ज्यान गुमाउनेको परिवारलाई तनहुँ समाज हङकङले आर्थिक सहयोग गरेको हो ।
अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर ऋषिङ-८ भैंसीकिलीमा अन बहादुर सुनारीको एकै परिवारका ५ जनाको ज्यान गएको थियो । सोही घटनामा आफ्ना २ छोरा, २ बुहारी एक नातिनी र घरबास समेत गुमाएका सुनारीको परिवारलाई समाजको तर्फाट २ लाख ६४ हजार १५० रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भिमराज गुरुङ र निवर्तमान अध्यक्ष जंग बहादुर थापाले पीडित परिवारकै घरमा पुगी बुधवार २ लाख ४४ हजार १५० रुपैयाँ हस्तान्तरण गरेका हुन् भने २० हजार समाजको तर्फाट घटना लगत्तै प्रदान गरिएको थियो ।
ऋषिङ पल्टयाङ स्थायी घर भई हाल हङकङमा बसोबास गर्दै आएका लालबहादुर थापाको संयोजकत्वमा विभिन्न सिलसिलमा हङकङ पुगेका नेपालीहरुबाट संकलित उक्त रकम समाजका पूर्व अध्यक्ष गुरुङ, निवर्तमान अध्यक्ष थापा र ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्दकृष्ण श्रेष्ठले संयुक्त रुपमा अन बहादुरलाई हन्तारण गरेका थिए।
घटनाका पीडितलाई सहयोग गर्न तनहुँ समाज हङकङमा अनुरोध पत्र प्राप्त भएपछि सहयोग संकलन अभियान सञ्चालन गरी तनहुँ साथै अन्य जिल्लाका समेत गरी ५६ जना नेपालीहरुको सहयोगबाट सो रकम संकलन भएको रकम संकलन अभियानका संयोजक लालबहादुर थापाले जानकारी दिए ।
रकम हस्तान्तरण गर्दै समाजका पूर्व अध्यक्ष गुरुङले प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई सहयोग गर्न पाउदा खुशी लागेको बताए । त्यस्तै निवर्तमान अध्यक्ष जंगबहादुर थापाले तनहुँमा विगतदेखि नै विभिन्न दुःखपीडा पर्दा समाजले साथ दिइरहेको चर्चा गर्दै सहयोग निरन्तरता रहने बताए ।
“हामीलाई जानकारी भएसम्म आफ्नो ठाँउलाई दुख पर्दा हामी हाम्रो छाक कटाएर पनि सहयोग गर्न तयार छौँ” थापाले भने । साथै प्राप्त सहयोग सदुपयोग गर्न पनि उनले आग्रह गरे ।
सोही अवसरमा गाँउपालिका प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठले पहिरो पीडितका लागि पालिकाले जग्गा प्रदान गरी र विभिन्न संघसंस्थाको सहयोगले घर निर्माण गर्न सकिएको बताए। प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिको परिपूर्ति गर्न सक्ने अवस्था नरहेपनि उहाँको सुरक्षित स्थान्तरणको लागि पालिकाले सहयोग गरेको बताए ।
पीडित परिवारलाई सहयोग जुट्ने क्रममा सामाजिक उत्तरदायित्व बहन गर्दै तनहुँ समाज हङकङले दिएको साथ प्रशंसनिय रहेको श्रेष्ठले बताए ।










