सम्पादकीय : कोदो खेतीको पुनर्जागरण

नेपाली समाजमा एक समय कोदो दैनिक जीवनको अभिन्न हिस्सा थियो । गाउँघरका अधिकांश परिवारको बिहान–बेलुकाको भोजन कोदोको ढिँडो, रोटी वा अन्य परिकार हुन्थ्यो । यसले नेपाली पहाडी जीवनशैली, कृषि संस्कृति र जीविकोपार्जनसँग गहिरो सम्बन्ध बनाएको थियो । तर समयसँगै उपभोग संस्कृतिमा आएको परिवर्तन, चामल र प्रशोधित खाद्यान्नप्रतिको बढ्दो आकर्षण तथा रैथाने बालीप्रतिको उपेक्षाले कोदो विस्तारै भान्साबाट विस्थापित हुन थाल्यो । विडम्बना, कहिल्यै गरिबको खाना भनेर हेपिएको यही कोदो आज स्वास्थ्यका दृष्टिले सबैभन्दा गुणकारी अन्नका रूपमा पुनः स्थापित हुँदैछ ।

पछिल्ला वर्षहरूमा मानिसको खानपान र स्वास्थ्यप्रतिको चेतना बढ्दै गएको छ । मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मोटोपन तथा पाचनसम्बन्धी समस्या बढेपछि स्वस्थ जीवनशैली अपनाउने अभियान तीव्र बनेको छ । यही कारण पोषणयुक्त र प्राकृतिक खाद्यान्नप्रति उपभोक्ताको आकर्षण बढेको छ । कोदो त्यसैको सबैभन्दा उत्कृष्ट उदाहरण हो । ग्लूटेनरहित, कम ग्लाइसेमिक सूचकाङ्क भएको, फाइबर, आइरन, क्याल्सियम, फस्फोरस, प्रोटिन तथा अन्य खनिज तत्वले भरिपूर्ण कोदो स्वास्थ्यका लागि अत्यन्त उपयोगी अन्न हो । यसले शरीरलाई आवश्यक ऊर्जा दिनुका साथै पाचन प्रणालीलाई सुदृढ बनाउन र दीर्घकालीन रोगको जोखिम घटाउन पनि मद्दत गर्छ ।

कोदोको अर्को महत्त्वपूर्ण पक्ष यसको उत्पादन प्रणाली हो । नेपालको पहाडी तथा उच्च पहाडी क्षेत्रमा सिँचाइको सुविधा नपुगेका, वर्षाको भरमा खेती हुने जमिनमा पनि कोदो सहज रूपमा उत्पादन गर्न सकिन्छ । जलवायु परिवर्तनका कारण खेती प्रणाली चुनौतीपूर्ण बन्दै गइरहेका बेला कम पानीमा उत्पादन हुने र प्रतिकूल मौसम सहन सक्ने कोदो भविष्यको खाद्य सुरक्षाका लागि महत्त्वपूर्ण बालीका रूपमा देखिएको छ । यस्तो अवस्थामा कोदोको संरक्षण र विस्तार केवल कृषि उत्पादनको विषय मात्र होइन, राष्ट्रिय खाद्य सुरक्षासँग पनि जोडिएको विषय हो ।

नेपालले वर्षेनी ठूलो परिमाणमा चामल, गहुँ र अन्य खाद्यान्न आयात गरिरहेको छ। यसले एकातिर विदेशी मुद्रा बाहिरिएको छ भने अर्कोतिर स्वदेशी उत्पादन ओझेलमा परेको छ । आयातित खाद्यान्नमा निर्भरता बढ्दै जाँदा रैथाने बालीको खेती गर्ने जमिन बाँझो बन्न थालेको छ । ग्रामीण क्षेत्रका युवाहरू वैदेशिक रोजगारीमा जान थालेपछि परम्परागत खेतीप्रति आकर्षण पनि घटेको छ। परिणामस्वरूप कोदो, फापर, कागुनो, झोक्रा र अन्य रैथाने बाली क्रमशः लोप हुने जोखिममा पुगेका छन् ।

तर पछिल्ला केही वर्षमा परिस्थितिमा सकारात्मक परिवर्तन देखिन थालेको छ । गाउँघरमा सञ्चालन भएका सामुदायिक होमस्टे, पर्यटन व्यवसाय तथा शहरी रेष्टुराँहरूले परम्परागत नेपाली परिकारलाई प्राथमिकता दिन थालेका छन् । कोदोको ढिँडो, रोटी, खीर, सेलरोटी लगायतका परिकार विदेशी तथा स्वदेशी पर्यटकको रोजाइमा पर्न थालेका छन् । यसले किसानमा कोदो खेतीप्रति नयाँ उत्साह जगाएको छ । पहिले सामाजिक प्रतिष्ठासँग जोडेर हेपिएको कोदो अहिले स्वास्थ्य र स्वादका कारण सम्मानित बन्न थालेको छ । यो परिवर्तन सकारात्मक मात्र होइन, रैथाने बाली संरक्षणका लागि आशालाग्दो संकेत पनि हो ।

यद्यपि माग बढ्दै गएको अवस्थामा उत्पादन वृद्धि भने अपेक्षित रूपमा हुन सकेको छैन । गुणस्तरीय बीउको अभाव, आधुनिक प्रविधिको सीमित प्रयोग, उत्पादन लागत, बजारको अनिश्चितता तथा प्रशोधन उद्योगको कमी अहिलेका प्रमुख चुनौती हुन् । किसानले उत्पादन गरेको कोदो उचित मूल्यमा बिक्री हुने सुनिश्चितता नहुँदा धेरैले अझै पनि व्यावसायिक खेती गर्न हिच्किचाइरहेका छन् । त्यसैले उत्पादनदेखि बजारीकरणसम्मको सम्पूर्ण शृङ्खलालाई व्यवस्थित बनाउनु आवश्यक छ । यसका लागि स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ । कोदो उत्पादन हुने क्षेत्रमा उन्नत बीउ, आवश्यक कृषि सामग्री, प्रविधि र उपकरणमा अनुदान उपलब्ध गराउनुपर्छ। स्थानीय तहले सहकारीमार्फत खरिद केन्द्र स्थापना गरी किसानको उत्पादनको सुनिश्चित बजार तयार गर्नुपर्छ। कोदोबाट पिठो, बिस्कुट, चाउचाउ, कुकीज, पेय पदार्थ तथा अन्य मूल्य अभिवृद्धि भएका उत्पादन तयार गर्ने लघु तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्न सके गाउँमै रोजगारी सिर्जना हुनेछ। यसले स्थानीय अर्थतन्त्रलाई समेत मजबुत बनाउनेछ ।

विद्यालयको दिवा खाजा, अस्पताल, होमस्टे तथा सरकारी कार्यक्रममार्फत पनि कोदोका परिकारलाई प्राथमिकता दिन सकिन्छ । यसले एकातिर पोषण सुधारमा योगदान पु¥याउँछ भने अर्कोतिर किसानले उत्पादन गरेको अन्नको स्थायी बजार पनि सुनिश्चित हुन्छ । सञ्चारमाध्यम र शैक्षिक संस्थाले कोदोको स्वास्थ्य लाभबारे जनचेतना फैलाउन निरन्तर भूमिका खेल्नुपर्छ । कोदो केवल एउटा अन्न होइन, यो नेपाली मौलिकता, संस्कृति, स्वास्थ्य र आत्मनिर्भरताको प्रतीक हो ।

आज विश्व प्राकृतिक र पोषणयुक्त खानाको खोजीमा लागिरहेका बेला आफ्नै खेतबारीमा उत्पादन हुने यस्तो अमूल्य बालीलाई संरक्षण गर्नु हाम्रो साझा दायित्व हो । त्यसका लागि सरकारले स्पष्ट नीति, स्थानीय तहले प्रभावकारी कार्यक्रम र उपभोक्ताले रैथाने उत्पादनप्रतिको विश्वास बढाउन आवश्यक छ । हिजो गरिबको खाना भनेर उपेक्षित बनाइएको कोदो आज समृद्ध भविष्यको आधार बन्न सक्ने अवस्थामा पुगेको छ । त्यसैले कोदोको पुनर्जागरणलाई केवल कृषि अभियानका रूपमा होइन, स्वस्थ समाज, आत्मनिर्भर अर्थतन्त्र र मौलिक नेपाली पहिचान जोगाउने राष्ट्रिय अभियानका रूपमा अघि बढाउनु आजको आवश्यकता हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker