भिमादको ६७ करोड ७१ लाखको बजेटसहित वार्षिक नगर विकास योजना सार्वजनिक
सुशासन र समृद्धिलाई केन्द्रमा राख्दै कार्यान्वयनमा नगरप्रमुख सुवेदीको जोड

भिमाद : तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेटसहितको वार्षिक नगर विकास योजना पुस्तिका शुक्रबार सार्वजनिक गरेको छ । २२औँ नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेटलाई औपचारिक समारोहबीच नगर प्रमुख दधिराज सुवेदीले विमोचन गरेका थिए ।
पुस्तिका सार्वजनिक कार्यक्रममा संविधानसभा सदस्य टुकराज सिग्देल, नगर उपप्रमुख शारदा खनाल, नगरसभाका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, विद्यालयका प्रधानाध्यापक, तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।
नगरपालिकाले सार्वजनिक गरेको बजेटअनुसार आगामी आर्थिक वर्षका लागि कुल रु. ६७ करोड ७१ लाख विनियोजन गरिएको छ । त्यसमध्ये चालु खर्चतर्फ रु. ४७ करोड ७२ लाख तथा पुँजीगततर्फ रु. १९ करोड ९८ लाख अर्थात् करिब ३० प्रतिशत बजेट विनियोजन गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख सुवेदीले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम स्थानीय तहको योजना निर्माण प्रक्रियाअनुसार व्यापक परामर्श र सहभागितामूलक ढंगले तयार गरिएको बताए । नगरपालिकाले संविधानले प्रत्याभूत गरेका समृद्ध, समावेशी, आत्मनिर्भर र न्यायमूलक समाज निर्माणका लक्ष्यलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तर्जुमा गरेको उनको भनाइ थियो ।
उनले नगरपालिकाले सुशासन, आर्थिक विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, वातावरण संरक्षण तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम ल्याएको उल्लेख गरे । साथै, संघीय र प्रदेश सरकारका नीति तथा कार्यक्रमसँग समन्वय गर्दै स्थानीय आवश्यकता र नागरिकका अपेक्षालाई सम्बोधन गर्ने गरी योजना तयार गरिएको बताए ।
नगर प्रमुख सुवेदीले नगरवासीलाई गुणस्तरीय सेवा प्रवाह, पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, उद्यमशीलता प्रवर्द्धन, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण, सूचना प्रविधिको विस्तार, पर्यटन विकास तथा सामाजिक न्यायलाई आगामी वर्षको विकासको मुख्य आधार बनाइएको बताए ।
नगरको समग्र विकासमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम तथा सम्पूर्ण नगरवासीको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै स्वीकृत नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षको सक्रिय सहयोग आवश्यक पर्ने उनले बताए ।
नगरपालिकाका अनुसार सार्वजनिक गरिएको वार्षिक नगर विकास योजना पुस्तिकामा आगामी आर्थिक वर्षका विकास प्राथमिकता, बजेट विनियोजन, क्षेत्रगत नीति, कार्यक्रम तथा कार्यान्वयनका योजनाहरू समावेश गरिएको छ । पुस्तिकाले नगरपालिकाको विकास दिशालाई स्पष्ट पार्नुका साथै विकास योजनाको प्रभावकारी कार्यान्वयन, पारदर्शिता र जवाफदेहितामा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले नगरसभाबाट स्वीकृत नीति तथा कार्यक्रमलाई व्यवहारमा सफल रूपमा कार्यान्वयन गर्न राजनीतिक नेतृत्व, कर्मचारी संयन्त्र, सरोकारवाला निकाय तथा नागरिकबीच समन्वय र सहकार्य अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए ।
भिमाद नगरपालिकाले सार्वजनिक गरेको वार्षिक नगर विकास योजना पुस्तिका नगरको समग्र विकासका प्राथमिकता, बजेट तथा कार्यक्रमबारे जानकारी दिने आधिकारिक दस्तावेजका रूपमा रहने विश्वास व्यक्त गरिएको छ । आगामी आर्थिक वर्षमा तय गरिएका योजनाहरू समयमै कार्यान्वयन हुन सके नगरको पूर्वाधार, सेवा प्रवाह, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा आर्थिक विकासका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।










