‘भिमाद शैक्षिक दर्पण’ लोकार्पण, ज्येष्ठ निवृत्त शिक्षक सम्मानित, शिक्षा क्षेत्रका व्यक्तित्वहरूको योगदानको कदर

भिमाद : गुरु सम्मान दिवस–२०८३ को अवसरमा नेपाल निवृत्त शिक्षक समाज, नगर कार्यसमिति भिमादले ‘भिमाद शैक्षिक दर्पण’ पुस्तक लोकार्पण तथा ज्येष्ठ निवृत्त शिक्षक सम्मान गरेको छ ।
गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आलेले पुस्तकको लोकार्पण गर्दै शिक्षामा वास्तविक आवश्यकता पहिचान गरेर लगानी गर्नुपर्ने आवश्यकता औँल्याए । उनले आवश्यकता भन्दा बाहिरका शीर्षकमा बजेट खर्च हुने प्रवृत्तिका कारण विद्यालयहरू प्रभावित भइरहेको उल्लेख गर्दै शिक्षालाई रोजगारीको माध्यम मात्र नभई जीवनोपयोगी सीपसँग जोड्नुपर्ने धारणा राखे । कक्षा १२ पछि बढ्दो वैदेशिक अध्ययनको लहरप्रति चिन्ता व्यक्त गर्दै उनले समयानुकूल शैक्षिक नीति आवश्यक रहेको बताए ।
कार्यक्रममा भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले गुणस्तरीय शिक्षाका लागि सकारात्मक बहस, विचार आदानप्रदान तथा शिक्षकहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताए। उनले निवृत्त शिक्षकहरूलाई आफ्नो अनुभव नयाँ पुस्तासम्म पु¥याउँदै शैक्षिक गतिविधिमा निरन्तर सक्रिय रहन आग्रह गरे। गुरु पूर्णिमाको अवसरमा आयोजना गरिएको सम्मान कार्यक्रमले शिक्षक पेशाप्रतिको सम्मान अझ बढाएको उनको भनाइ थियो ।
उपप्रमुख शारदा खनालले ‘भिमाद शैक्षिक दर्पण’ प्रकाशनलाई भिमादको शैक्षिक इतिहास दस्तावेजीकरण गर्ने ऐतिहासिक कार्यको संज्ञा दिँदै यसले भावी पुस्तालाई स्थानीय शिक्षा विकासको इतिहास बुझ्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । स्थानीय सरकारबाट यस्ता रचनात्मक कार्यमा निरन्तर सहयोग रहने प्रतिबद्धता समेत उनले जनाइन् ।
कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाजकी वरिष्ठ केन्द्रीय महिला उपाध्यक्ष माया राना, केन्द्रीय कोषाध्यक्ष खिमाकान्त पराजुली, गण्डकी प्रदेश संयोजक अङ्गराज घिमिरे, तनहुँ अध्यक्ष काशीनाथ गौली, जनज्योति क्याम्पस भिमादका क्याम्पस प्रमुख केशवराज काफ्ले तथा प्रेस स्वतन्त्र सेनानी विश्वबन्धु भण्डारीलगायतले शिक्षा क्षेत्रको विकासमा निवृत्त शिक्षकहरूको योगदानको चर्चा गरेका थिए ।
भिमाद नगरपालिकाका नौवटै वडाका वडाध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षा शाखाका सचिव सन्दीप पौडेल, प्रशासकीय अधिकृत शोभाखर पोखरेल, शिक्षा शाखाका कर्मचारी, नेपाल प्रहरी, निवृत्त शिक्षक तथा पूर्वप्रधानाध्यापकहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा ज्येष्ठ निवृत्त शिक्षकहरूलाई सम्मानसमेत गरिएको थियो ।
नेपाल निवृत्त शिक्षक समाज, नगर कार्यसमिति भिमादका अध्यक्ष चन्द्रप्रकाश सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले ‘भिमाद शैक्षिक दर्पण’ प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका थिए ।










