पराशर मार्गका ठेकेदारलाई सात दिने अल्टिमेटम

कार्यापालिकाद्वारा भवन मापदण्ड संशोधनदेखि निर्माणकर्मी दर्ता लगायतका महत्त्वपूर्ण निर्णय

दमौली : तनहुँको व्यास नगरपालिकाको नगर कार्यपालिकाको २४३औं नियमित बैठकले निर्माणाधीन पराशर मार्गको काममा भएको ढिलाइप्रति गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित निर्माण व्यवसायीलाई सात दिनभित्र कार्यप्रगति विवरण र निर्माण सम्पन्न गर्ने लिखित प्रतिबद्धता पेश गर्न निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले व्यास–७, ९, १० र ११ मा निर्माणाधीन पराशर मार्गको कार्यप्रगतिको समीक्षा गर्दै निर्माण कार्यमा भएको ढिलाइप्रति असन्तुष्टि जनाएको हो । सार्वजनिक खरिद (पन्ध्रौं संशोधन) नियमावली, २०८३ बमोजिम सम्बन्धित निर्माण व्यवसायीलाई सात दिनभित्र नगरपालिकामा सम्पर्क गरी हालसम्मको कार्यप्रगति प्रतिवेदन तथा बाँकी निर्माण कार्य सम्पन्न गर्ने लिखित प्रतिबद्धता (कमिटमेन्ट) पेश गर्न निर्देशन दिने निर्णय गरिएको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले विकास निर्माण, सार्वजनिक खरिद, कृषि, भवन निर्माण तथा प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित सात वटा महत्त्वपूर्ण निर्णय गरेको नगरपालिकाले जनाएको छ । बैठकले वडा नं. ११ स्थित विद्या पोल्ट्री एण्ड कृषि फर्म प्रालिको मागबमोजिम कृषि प्रयोजनका लागि खरिद–बिक्री हुने जग्गाको रजिस्ट्रेशनमा प्रचलित कानुनबमोजिम लाग्ने राजस्वमा नियमानुसार छुट प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/०८४ को वार्षिक समीक्षा कार्यक्रम आगामी साउन २९ गते नगरसभा कक्षमा आयोजना गर्ने तथा आवश्यक व्यवस्थापन मिलाउन कार्यालयलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

कार्यपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक खरिद नियमावलीअनुसार कामदारको ज्याला, निर्माण सामग्री ढुवानी तथा मेसिन–उपकरणको भाडादर स्वीकृत गरेको छ । साथै, नगरपालिका क्षेत्रभित्र निर्माण कार्य गर्ने निर्माणकर्मीहरूको दर्ता तथा सूचीकृत सम्बन्धी कार्यविधि, २०८३ पारित गर्ने निर्णय गरिएको छ।

यसैबीच, बैठकले व्यास नगरपालिका लोककल्याणकारी विज्ञापन वितरण सम्बन्धी कार्यविधि, २०८० तथा व्यास नगरपालिका भवन निर्माण मापदण्ड, २०८२ संशोधन गर्ने निर्णय पनि गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार कार्यपालिकाले गरेका यी निर्णयहरू विकास आयोजनाको प्रभावकारी कार्यान्वयन, सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित बनाउने, निर्माण क्षेत्रलाई नियमन गर्ने तथा नगरको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker