सम्पादकीय : व्यास जयन्ती र व्यासभूमि

श्रावण पूर्णिमा हिन्दु धर्मावलम्बीका लागि विशेष महत्वको दिन हो । यही दिनलाई गुरु पूर्णिमा, महर्षि वेदव्यास अवतरण दिवस र ज्ञान परम्पराको उत्सवका रूपमा आज मनाइदै छ । गुरु–शिष्य परम्पराको सम्मान गर्ने यो पर्वले मानव सभ्यतालाई ज्ञान, दर्शन र संस्कृतिको अमूल्य सम्पदा प्रदान गर्ने महर्षि वेदव्यासलाई स्मरण गर्ने अवसर पनि दिन्छ । विडम्बना के छ भने संसारभर सम्मान गरिने महर्षि वेदव्यासको जन्मभूमि मानिने तनहुँको दमौली भने अझै पनि अपेक्षित रूपमा चिनिन सकेको छैन । महाभारत, चार वेद र अठार पुराणका रचयिताको भूमिलाई आज पनि ‘बत्तीमुनिको अँध्यारो’ भन्नुपर्ने अवस्था आफैंमा दुःखद् हो । वेदव्यास कुनै एक धार्मिक व्यक्तित्व मात्र होइनन्, उनी ज्ञान, दर्शन, साहित्य र सभ्यताको प्रतीक हुन् । हिन्दु धर्मग्रन्थहरूको व्यवस्थित सम्पादन र वर्गीकरण गरेर मानव समाजलाई ज्ञानको अमूल्य सम्पदा प्रदान गर्ने महान् ऋषिका रूपमा उनको योगदान अनुपम छ । त्यसैले गुरु पूर्णिमालाई ‘व्यास पूर्णिमा’ पनि भनिन्छ । विश्वभरका हिन्दुहरू वेदव्यासप्रति श्रद्धा प्रकट गरिरहेका बेला उनको जन्मभूमि भनेर दाबी गरिएको दमौलीको अवस्था भने अझै पनि सामान्य धार्मिक स्थलभन्दा माथि उठ्न सकेको छैन ।

दमौलीको व्यासगुफा, पराशर गुफा, मादी र सेती नदीको संगम, शिवपञ्चायन मन्दिर, छाब्दी क्षेत्र, मच्छेकुण्ड, मानुङकोटलगायतका धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाले यो क्षेत्रलाई नेपालकै उत्कृष्ट धार्मिक–सांस्कृतिक पर्यटन गन्तव्य बनाउन सक्ने आधार दिएका छन् । पृथ्वीराजमार्गमै पर्ने भएकाले यहाँ पुग्न पनि सहज छ । काठमाडौँ–पोखरा आवतजावत गर्ने लाखौं यात्रु वर्षेनी यही मार्ग हुँदै गुज्रिन्छन् । तर तीमध्ये अधिकांशलाई यहाँ केही समय रोकिने, घुम्ने वा धार्मिक दर्शन गर्ने वातावरण बनाउन सकिएको छैन। यो अवसरको उपयोग हुन नसक्नु हाम्रो योजनाको कमजोरी हो । व्यासगुफामा बसेर वेदव्यासले महाभारत, चार वेद र अठार पुराणको रचना गरेको धार्मिक विश्वास छ । नजिकै पराशर गुफा छ, जहाँ उनका पिता महर्षि पराशरले तपस्या गरेको मानिन्छ । छाब्दी क्षेत्रमा सत्यवतीको जन्मसँग जोडिएको मच्छेकुण्डको धार्मिक महत्व पनि कम छैन । यी सबै स्थलहरू एउटै धार्मिक परम्परामा जोडिएका छन् । यस्ता दुर्लभ सम्पदालाई एउटै धार्मिक पर्यटन परिपथका रूपमा विकास गर्न सकिए नेपाल मात्र होइन, विश्वभरका हिन्दु धर्मावलम्बीका लागि आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना प्रबल छ ।

तर सम्भावनाले मात्र विकास हुँदैन । आवश्यक पूर्वाधार, योजनाबद्ध प्रचारप्रसार, अनुसन्धान र अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ आवश्यक हुन्छ । विगतमा व्यासभूमिलाई विश्वसामु चिनाउने उद्देश्यले १०८ फिट अग्लो वेदव्यासको प्रतिमा निर्माण गर्ने योजना अघि सारियो । स्तम्भ निर्माणको काम सुरु भए पनि त्यसपछिको प्रक्रिया सुस्त बनेको छ । यस्ता महत्वाकांक्षी योजना घोषणामा सीमित हुने हो भने त्यसले जनतामा निराशा मात्र बढाउँछ । राष्ट्रिय गौरवका यस्ता धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार मात्र होइन, संघीय सरकारको पनि उत्तिकै दायित्व हुन्छ । पछिल्ला वर्षहरूमा मानुङकोटले सामाजिक सञ्जालमार्फत व्यापक चर्चा पायो । सूर्योदय, कुहिरोको समुद्र र हिमश्रृंखलाको दृश्यले हजारौं पर्यटकलाई आकर्षित ग¥यो । यसले एउटा तथ्य स्पष्ट गरेको छ– उचित प्रचार र न्यूनतम पूर्वाधार भए पर्यटक आफैं पुग्छन् । यही अनुभवलाई व्यास–पराशर क्षेत्रसँग जोड्न सकिन्छ । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई एकीकृत गरेर पर्यटन प्याकेज तयार गर्न सकियो भने दमौली धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्र बन्न धेरै समय लाग्दैन ।

यसका लागि सडक, पदमार्ग, सूचना केन्द्र, पार्किङ, सरसफाइ, विश्रामस्थल, डिजिटल सूचना प्रणाली, अनुसन्धान केन्द्र र धार्मिक कार्यक्रमहरूको नियमित आयोजना आवश्यक छ । गुरु पूर्णिमा, व्यास जयन्ती र अन्य धार्मिक अवसरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमका रूपमा विकास गर्न सकिन्छ । विद्यालय र विश्वविद्यालयका अनुसन्धानकर्तालाई व्याससँग सम्बन्धित अध्ययनमा प्रोत्साहन गर्नुपर्छ । स्थानीय समुदायलाई पनि पर्यटनबाट प्रत्यक्ष लाभ हुने वातावरण बनाउनु आवश्यक छ । जब स्थानीय नागरिकको स्वामित्व बढ्छ, सम्पदाको संरक्षण पनि दिगो बन्छ । धार्मिक पर्यटन केवल आस्थाको विषय होइन, यो आर्थिक विकासको पनि आधार हो । भारतका वाराणसी, अयोध्या, उज्जैन वा नेपालकै मुक्तिनाथ, देवघाटधाम, जनकपुर र पशुपतिनाथले धार्मिक पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई बलियो बनाएका उदाहरण हाम्रा सामु छन्। व्यासभूमिसँग पनि त्यस्तै सम्भावना छ । आवश्यक कुरा इच्छाशक्ति, दीर्घकालीन योजना र सबै तहको सहकार्य मात्र हो ।

महर्षि वेदव्यास सम्पूर्ण मानव सभ्यताका साझा सम्पदा हुन् । उनका नाममा विश्वभर श्रद्धा अर्पण भइरहेका बेला उनको जन्मभूमि भनेर चिनिने दमौली अझै ओझेलमा रहनु हाम्रो कमजोरी हो । गुरु पूर्णिमा र व्यास जयन्तीलाई केवल औपचारिक कार्यक्रमको सीमामा नराखी व्यासभूमिको अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने अभियानका रूपमा रूपान्तरण गर्न सक्नुपर्छ । स्थानीय सरकार, प्रदेश, संघ, धार्मिक संस्था, निजी क्षेत्र र नागरिक समाजले साझा संकल्पका साथ अघि बढ्ने हो भने आज ‘बत्तीमुनिको अँध्यारो’ बनेको व्यासभूमि भोलि विश्व धार्मिक पर्यटनको उज्यालो गन्तव्य बन्न सक्छ । यही गुरु पूर्णिमाको सन्देश र वेदव्यासप्रति सच्चा सम्मान पनि हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker