तनहुँ समाज हङकङद्वारा मुटु र मृगौला रोग पीडितलाई आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ समाज हङकङले मृटु र मृगौला रोग पीडितलाई आर्थिक सहयोग गरेको छ । शनिवार दमौलीमा दुबै पीडितका परिवारलाई समाजले ३ लाख ९० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो । तनहुँको व्यास-१४ हर्कपुरकी १६ महिने बालिका सविना थापाको उपचारको लागि १ लाख ९५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
ती बालिकालाई जन्मिदैमा मुटुको समस्या रहेको छ साथै उनको अप्राकृतिक रुपमा मलद्वार र यौनाङसँगै जोडिएकाले उक्त समस्याको शल्यक्रिया गर्नका लागि पनि सहयोग गरिएको तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष भिमराज गुरुङले जानकारी दिए ।
उनको हाल गंगालाल ह्रदय रोग केन्द्र काठमाण्डौमा उपचार भइरहेको उनकी आमा तोरन थापाले जानकारी दिइन् । छोरीलाई एकै साथ दुइवटा समस्या देखिएको र घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको याचना गरेको पीडित बालिकाकी आमाले बताइन् ।
यस्तै, समाजले शनिबारै दुबै मृगौला फेल भएकी सोही वडाको ठिन घर भएकी १९ वर्षीया खुस्बु राना (थापा)को उपचारार्थ पनि १ लाख ९५ हजार रुपैयाँ नगद रकम हस्तान्तरण गरेको छ । हङकङमा विभिन्न सिलसिलामा गएका ४७ जना तनहुङ्गेबाट संकलित उक्त रकम दुबै जना बिरामीका परिवारलाई आधा/आधा हस्तान्तरण गरिएको हो । उक्त सहयोग रकम समाजका निवर्तमान अध्यक्ष गुरुङ र समाजका सल्लाहकार पुष्कर लुङ्गेलीले संयुक्त रुपमा पीडितका परिवारलाई हस्तान्तरण गरेका छन् ।
सहयोग रकम समाजका कोषाध्यक्ष कुशबहादुर थापा र आजीवन सदस्य विक्रम थापाको संयुक्त संयोजकत्वमा संकलन गरिएको संस्थाका सचिव सुवित गुरुङले जानकारी दिए । वडा कार्यालयको सिफारिस सहित पीडित परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको भन्ने पत्र समाजलाई प्राप्त भएपछि सोही अनुसार रकम संकलन अभियान सुरु गरिएको उनले बताए ।
रकम हस्तान्तरण गर्दै पूर्व अध्यक्ष गुरुङले गम्भिर रोग लागेका आर्थिक अवस्था कमजोर भएका परिवारलाई समाजले विभिन्न समयमा सहयोग गर्दै आएको बताए । ‘तनहुँ समाज हङकङमा आवद्ध साथीहरुको सामाजिक कामप्रतिको समर्पण देखेर म आफुलाई पनि सामाजिक काममा थप लगाव बढेको छ’, उनले भने । साथै प्राप्त रकम सही सदुपयोग गर्न समेत उनले पीडितहरुलाई आग्रह गरे ।
सोही अवसरमा समाजका सल्लाहकार पुष्कर लुङ्गेलीले रोगको प्रकृति र पीडित परिवारको अवस्था अनुसार सहयोग गर्ने गरेको बताए । ‘हामीलाई पीडित परिवारको निवेदन प्राप्त भएपछि स्थिती हेरेर प्राय सबैलाई सहयोग गरेकै छौं’ उनले भने।
तनहुँमा बिगतदेखि नै समाजिक सेवा गर्दै आएको समाजले नेपाली दुःख पीडामा परेको खबर आउना साथ हङकङमा विभिन्न सिलसिलामा पुगेका नेपालीहरुसँग समन्वय गरी आफ्नो कमाइबाटै सहयोग रकम पठाउदै आएको छ ।










