घरदैलोसंगै मतदाताको समस्या बुझदै जोशी र एमालेका उम्मेदवार
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-९ मा नेकपा एमाले र जोशी समुहले संयुक्त रुपमा ‘सास्ती हैन, सुविधाका लागि, स्वार्थी हैन इमानदारिताका लागि’ भन्दै घरदैलो गरेका छन् । व्यास नगरपालिकाको मेयरका उम्मेदवार दिपकराज जोशी र उपमेयरका उम्मेदवार बसुन्धरा घर्ती लगायत वडाका उम्मेदवार विभिन्न ठाउँमा पुगेर जनतासँग भेटघाट गरिरहेका छन् ।
मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, नगर र वडाले दिने सेवासुविधा सहज र जनमुखी कसरी बनाउन सकिन्छ भनी उनीहरुले सुझावसमेत संकलन गरेका छन् । घरदैलोमा मत माग्नुका साथ उम्मेदवारले नगरमा निर्वाचित भएपछि प्राथमिकतामा राख्नुपर्ने काम के-के हुन् भनी मतदातासँग प्रत्यक्ष सुझाव संकलन समेत गरेका छन् । आफ्नौ घरदैलोमा आइपुगेका उम्मेदवारलाई स्थानीयले जितको शुभकामना दिएका थिए ।
मेयर उम्मेदवार जोशीले घरदैलोमा पुग्दा मतदाताबाट पाएको स्वागत, सत्कार, आत्मीयता र माया नै जितको आधार रहेको बताए । उनले स्थानीय तहले ग्रामीण भेगकाका जनतालाई सास्ती दिएको बताउँदै आफूहरु जनताको सेवक बन्न चाहेको बताए । उम्मेदवारहरुले बुधबार उक्त वडाको कुमालटारी, गजौडे, सिस्नेरी, बिर्ता लम्के लगायत क्षेत्रमा घरदैलो गरेको थियो ।
यस्तै, नेकपा एमाले र नेपाली कांग्रेसको जोशी समुहका मेयर र उपमेयरका उम्मेदवारहरुले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउने प्रतिबद्धता पनि जनाउँदै आएका छन् । चुनावी अभियान लिएर गाउँ गाउँ पुगेका उम्मेदवारहरुले सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याईने र त्यसका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकताका साथ लागु गरिने बताएका छन् ।
मेयरका उम्मेदबार दिपकराज जोशी र उपमेयरका उम्मेदबार बसुन्धरा घर्तीले ज्येष्ठ नागरिक र अपाङ्गगता भएका नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गर्राईने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै बालबालिकाहरुलाई प्रदान गरिने खोप कार्यक्रम सरल र सहज रुपमा प्रदान गर्ने तथा मृगौला पीडित बिरामीहरुको डायालाइसिस उपचारलाई सहज बनाउने प्रतिबद्धता जनाएका छन्। सबै नगरवासीहरुको विश्वास जित्ने गरि आधुनिक तवरको स्रोत साधन सम्पन्न एउटा छुटै नगर अस्पताल सञ्चालन गर्ने र दमौली अस्पताललाई ५० शैयामा विस्तार गर्न कुनै कसर बाँकी नराख्ने उनीहरुले बताएका छन् ।
दीर्घकालिन रोग भएका बिरामीहरुलाई कम्तीमा खर्चको ५० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने गरि स्वास्थ्य सुरक्षाको व्यवस्थापन गर्ने तथा तीन/तीन महिनाको अन्तरमा स्वास्थ्य शिविर संचालन गरिने उनीहरुको प्रतिबद्धता छ । साथै प्रत्येक ६ महिनामा महिलाको पाठेघरको निशुल्क परिक्षण शिविर आयोजना गर्ने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।










